मोरङमा कांग्रेस प्रदेश निर्वाचन क्षेत्रीय अधिवेशन सुरु

मोरङ – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङमा प्रदेशसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया सुरु भएको छ। मोरङमा ६ वटा संघीय निर्वाचन क्षेत्रमा क र ख गरी कुल १२ वटा प्रदेश निर्वाचन क्षेत्र रहेका छन्।

जिल्ला निर्वाचन अधिकृत केदार कार्कीका अनुसार प्रदेश निर्वाचन क्षेत्रका लागि तोकिएको १२ स्थानमा मनोनयन दर्ता कार्य सुरु भएको छ। सबै क्षेत्रमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो १ः३० बजे गर्ने कार्यतालिका रहेको उनले जानकारी दिए।

अधिकृत कार्कीले मनोनयन फिर्ताका लागि २ बजेसम्मको समय तोकिएको बताए। मोरङका ६ निर्वाचन क्षेत्रमा करिब ३ हजार ६ सय मतदाता रहेको उनले बताए।

यसपटकको अधिवेशनले स्थानीय तहमा उत्साह थपेको विराटनगर महानगरपालिकाका मेयर एवं संघीय महाधिवेशन प्रतिनिधि भीम पराजुलीले बताए। अन्य दलको अधिवेशन गुपचुप र सुनसान रुपमा भए पनि कांग्रेसको अधिवेशनमा निर्वाचनको झल्को आइरहेको उनले बताए। मेयर पराजुलीले क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन्।

प्रदेश, केन्द्र र जिल्ला तहको अधिवेशनले पार्टीभित्र सकारात्मक प्रभाव पर्ने नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष अजयकुमार राईले बताए। श्रमिक मजदुरको हक–अधिकार सुनिश्चित गर्न आफूले उम्मेदवारी दिएको उनले बताए। उनले मोरङ क्षेत्र नम्बर ४ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन्।

पार्टीभित्र सबै क्षेत्रले स्थान पाउनुपर्नेमा जोड दिँदै राईले अधिवेशनमा जीत–हारभन्दा पनि पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन मद्दत मिल्ने बताए। उनले कांग्रेसले ट्रेड युनियनकर्मीलाई प्राथमिकतामा नराखेको गुनासो गरे।

त्यसैगरी पयर्टन तथा होटल व्यवसायी भविषकुमार श्रेष्ठले अधिवेशनले उम्मेदवार र कार्यकर्ता सबै प्रचारप्रसारमा हिँड्दा तीन तहको निर्वाचनझैं भएको प्रतिक्रिया दिए। पार्टीभित्रको गुट उपगुट अन्त्य हुनुपर्नेमा जोड दिँदै उनले राजनीतिमा उत्साहको वातावरणले सर्वसाधारणमा समेत सकारात्मक प्रभाव पर्ने बताए। बताए। उनले मोरङ क्षेत्र नम्बर ६ को खबाट उम्मेदवारी दिने तयारी गरेका छन्।

मोरङमा मंसिर १० गते हुने जिल्ला अधिवेशनमा दुई समूहबाट उम्मेदवारी दिने तयारी भएको छ। संस्थापनइतर पक्षबाट वर्तमान जिल्ला सभापति डिकबहादुर लिम्बू, उपसभापतिमा नागेश कोइराला र भक्तिनाथ माझी, सचिवमा ललित श्रेष्ठ, रविन राई र सहसचिवमा भुवनेश्वर मण्डल रहेका छन्। सहसचिवका लागि सीता कार्की र सन्तोष साह देखिएका छन्।

पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट सभापतिमा दिलीप गच्छदार, उपसभापतिमा गोकुल थापा, सुवोध सिंह, सचिवमा दिलीप पोखरेल, सहसचिवमा सञ्जय मण्डल, अशोक रिजालको नाम देखिएको छ। गच्छदार पूर्व श्रम राज्यमन्त्री एवं जिल्लाको उपसभापति भइसकेका छन्। त्यसैगरी जिल्लाका पूर्वसचिव यदुकुमार विष्टले पनि सभापतिमा दाबी गरेका छन्।

मंसिर ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्