कार्तिक पूर्णिमा मान्न जानकी मन्दिरमा भक्तजनको भीड (तस्बिरहरु)

जनकपुरधाम – जनकपुरधामको जानकी मन्दिरमा हजारौँको संख्यामा श्रद्धालु भक्तजनको भीड लागेको छ। कार्तिक पूर्णिमाको अवसरमा प्रत्येक वर्षझैं यस वर्षसमेत श्रद्धालु भक्तजनको भीड लागेको हो। कार्तिक स्नान गरेर श्रद्धालु भक्तजन जानकी मन्दिरमा पूजापाठको लागि पुग्ने गरेका छन्।

जनकपुरधामको गंगासागरलगायतका सरोवर तथा कमला नदीमा स्नान गरेका श्रद्धालु भक्तजन मन्दिरमा पुग्ने क्रम बढेको छ। जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले कार्तिक पूर्णिमाको अवसरमा हजारौँ भक्तजन भेला भएको बताए।

उनले भने, ‘आज कार्तिक पूर्णिमामा मात्र हजारौँको संख्यामा श्रद्धालुहरुको भीड लागेको छ। विवाहपञ्चमीमा कस्तो भीड हुन्छ भनेर यसले पनि हेराउँछ।’

जानकी मन्दिरमा मंसिर १७ गतेदेखि विवाहपञ्चमी महोत्सव सुरु हुँदैछ। कोरोना भाइरसको कारण दुई वर्षदेखि महोत्सव प्रभावित हुँदै आएकाले यस वर्ष अत्यधिक श्रद्धालु सहभागी हुने अनुमान गरिएको छ।

मंसिर ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्