अमेजनमा १५ वर्षयताकै उच्च जंगल फडानी

ब्राजिलको अमेजन जंगलमा वनफडानी पछिल्लो १५ वर्ष यताकै उच्च पुगेको तथ्यांकले देखाएको छ।

ब्राजिलको अन्तरिक्ष अनुसन्धान एजेन्सी (इनपे) को प्रतिवेदनअनुसार पछिल्लो एक वर्षमा वनफडानी २२ प्रतिशतले बढेको छ।

हालै सम्पन्न भएको कोप–२६ मा सन् २०३० सम्ममा वनफडानी अन्त्य गर्ने र वन क्षेत्र पुनःस्थापित गर्ने सम्झौतामा हस्ताक्षर गर्ने देशहरुमध्ये ब्राजिल पनि एक हो। तर विश्वकै ठूलो रेनफरेस्ट अमेजनमा फडानी निरन्तर जारी छ।

अमेजनमा ३० लाख प्रजातिका वनस्पति तथा जनावर पाइन्छन् भने १० लाखभन्दा बढी आदिवासी समुदायको बसोबास क्षेत्र पनि हो।

यस्तै कार्बन संश्लेषण गरेर राख्ने ठूलो क्षेत्र पनि हो। जसले तापमान वृद्धि रोक्न सहयोग गर्छ।

पछिल्लो तथ्यांकअनुसार सन् २०२०–२०२१ मा अमेजनको १३ हजार २३५ वर्ग किलोमिटर वन क्षेत्र फडानी भएको छ। यो सन् २००६ यताकै उच्च हो।

राष्ट्रपति जायर बोल्सोनारो सत्तामा आएपछि कृषि, पशुपालन तथा खानीका लागि वन क्षेत्रको फडानी तीव्र बनेको छ।

मंसिर ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्