डडेलधुराका कांग्रेस कार्यकर्ताको गुनासो

माओवादीले जसरी सभापति देउवाले हामीलाई धपाए (भिडियोसहित)

काठमाडौँ – शुक्रबार कांग्रेसले देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन गरिरहेको छ।

अधिकांश प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन सफल बनाउन लागिरहँदा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका कांग्रेसका कार्यकर्ता भने पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिइरहेका छन्।

प्रदेश निर्वाचन क्षेत्रकै सभापतिहरु पार्टी कार्यालयमा धर्ना बसिरहँदा जिल्लामा सीमित कार्यकर्ताको उपस्थितिमा अविधेशन भएको छ।

डडेलधुरा प्रदेश निर्वाच क्षेत्र ‘क’ सभापति मानबहादुर बुढा र ‘ख’का सभापति करुणकर भट्ट दुवै जना विधान मिचिएको विरोधमा सानेपामा धर्ना बसिरहेका छन्।

सभापति देउवाको निर्देशनमा गत भदौ २५ गते क्रियाशिल सदस्यको उपस्थित विनै अधिवेशन गराएपछि डडेलधुरा कांग्रेस विवादमा रुमलिएको छ। महाधिवेशन सुरु हुन २० दिन मात्रै बाँकी रहँदा सभापतिकै गृहजिल्ला वडा अधिवेशनको विवादमा फसेको छ।

क्रियाशील सदस्यभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेर वडा अविधेशन गराएको दाबी गर्दै जिल्ला पार्टी सभापति कर्ण मल्लको नेतृत्वका त्यसविरुद्ध आन्दोलन भइरहेको छ।

मल्ल पक्षले क्रियाशील सदस्यको उपस्थितिबिनै भएको अविधेशनलाई रद्द गरेर पुनः वडा अधिवेशन हुनुपर्ने मागसहित निरन्तर दबाब दिइरहेका छन्। पछिल्लो तीन दिनदेखि उनले पार्टी कार्यालयमा धर्ना दिँदै आएका छन्।

सभापतिको निर्देशनमा भएको विधान विपरीतको अधिवेशन रद्द नभएसम्म आफूहरु आन्दोलन गरिरहने दृढता मल्ल व्यक्त गर्छन्।

‘अवैध रुपमा गरिएको अधिवेन नसच्चिएसम्म हाम्रो आन्दोलन जारी रहन्छ। मंसिर २४ गतेसम्म पनि निकास दिनुभएन भने देशभरबाट आएका महाविधेशन प्रतिनिधिहरुलाई हाम्रा पीडाका बारेमा बताउँछौ,’ देश सञ्चारसँग कुराकानी गर्दै उनले भने, ‘त्यहाँ हामी सोध्ने छौँ, यस्तो अवस्थामा शेरबहादुर देउवालाई फेरि सभापति बनाउन उपयुक्त छ कि छैन? जसले ७६ जिल्लामा एक ढंगले अविधेशन गराउनुभयो, डडेलधुरामा अर्को ढंगले?’

उनले १६ जना क्षेत्रीय प्रतिनिधि चयन हुनुपर्ने वडामा ६ जना मात्रै क्रियाशील सदस्य राखेरसमेत अधिवेशन गराइएको गुनासो गरे।

मल्ल एक पक्षीय रुपमा भएको अधिवेशनप्रति आक्रोश पोख्दै भन्छन्, ‘यस्तो चुनाव राजा ज्ञानेन्द्र र कमल थापाले पनि गराएका थिएनन्। डडेलधुरामा भएको अधिवेशनलाई कुन लोकतन्त्रवादीले ठीक भन्छ? कुन कांग्रेस कार्यकर्ताले स्वीकार गर्छ? कुकृत्यलाई मान्न सकिँदैन।’

प्रदेश निर्वाचन क्षेत्र ‘क’का सभापति बुढा २०६४ सालमा माओवादीबाट लखेटिएका कांग्रेस कार्यकर्ता अहिले पार्टी सभापतिबाटै लखेटिनु परेको बताउँछन्।

पार्टीका आधिकारिक व्यक्तिहरुसँग छलफल नै नगरी गरिएको अधिवेशनलाई कुनै पनि हालतमा स्वीकार गर्न नकिने उनी बताउँछन्।

बुढाले भने, ‘जिल्लामा भएको कुनै पनि अधिवेशन वैधानिक छैन। म ‘क’ को सभपाति हुँ तर मलाई थाहा छैन। २०६४ सालमा माओवादीले कांग्रेस धपाउ अभियान चलाउँदा हामी गोदाम बजारबाट लखेटिएका थियौँ, अहिले सभापटिबाटै त्यस्तै व्यवहार बेहोर्नुपरेको छ।’

त्यस्तै जिल्ला उपसभापति एवं प्रदेश ‘ख’का सभापति करुणाकर भट्ट पनि पञ्चायत कालमा जसरी भएको अधिवेशन मान्न नसकिने बताउँछन्। ‘हामी पुनः वैधानिक वडा अविधेशनको पक्षमा छौँ। खेलाडीलाई मैदानमा प्रवेश नै गर्न नदिई जितियो भनिएको छ, त्यसलाई कुनै पनि हालतमा स्वीकार गर्दैनौँ,’ भट्ट भन्छन्।

जिल्लाको सन्दर्भमा क्रियाशील सदस्यता वितरणदेखि नै केन्द्रबाट हस्तक्षेप भएको नेताहरु बताउँछन्। कांग्रेसका पुराना कार्यकर्ताको नाम मनलागी रुपमा काटिएको १३औँ महाधिवेशनका प्रतिनिधि हरि भट्टले जानकारी दिए।

मंसिर ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्