प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु, मोरङ क्षेत्र नम्बर ६ ख मा ३ जना निर्विरोध

मोरङ – कांग्रेस १४औं महाधिवेशनअन्तर्गत मोरङ जिल्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशन प्रक्रिया सुरु भएको छ।

जिल्ला निर्वाचन सहायक अधिकृत गणेश भुजेलका अनुसार मोरङका ६ क्षेत्रअन्तर्गत १२ स्थानको मनोनयन प्रक्रियाबारे विवरण आउने क्रम जारी छ।

यद्यपि, विराटनगर महानगरपालिका क्षेत्रमा पर्ने मोरङ क्षेत्र नम्बर ६ का ख मा ३ जनाको निर्विरोधसहित ५४ जनाको उम्मेदवारी परेको उनले जानकारी दिए। भुजेलले सो निर्वाचन क्षेत्रमा आदिवासी जनजातितर्फ पन्नालाल राजवंशी, मधेसीतर्फ १८ वर्षीया रक्षा यादव र दलिततर्फ मीरा पासवान निर्विरोध भएको बताए। त्यसैगरी, मोरङ क्षेत्र नम्बर ४ को क मा हालसम्म ७० जनाले उम्मेदवारी दर्ता गराएका छन्। यसबीच उम्मेदवारी फिर्ता लिएकाहरूको विवरण संकलन भइरहेको उनले बताए।

मोरङको ६ वटा निर्वाचन क्षेत्रको क र ख गरी कुल १२ वटा निर्वाचन क्षेत्र छन्। प्रदेश निर्वाचन क्षेत्रका लागि तोकिएको १२ स्थानमा मनोनयन दर्ता सुरु भएको थियो।

मोरङको ६ वटै निर्वाचनमा गरी कुल ३ हजार ५ सय ५१ प्रतिनिधि छन्। जसअन्तर्गत क्षेत्र नम्बर १ मा कुल ६ सय ५९ मत छ। जसमा क तर्फ २ सय ८३ र ख मा ३ सय ७६ प्रतिनिधि छन्। त्यसैगरी, क्षेत्र नम्बर २ को क मा २ सय ९८ र ख मा ३ सय ८४ गरी कुल ६ सय ८२ प्रतिनिधि छन्। क्षेत्र नम्बर ३ मा २ सय ९८ जना क र २ सय ६० ख तर्फ गरी कुल ५ सय ८२ प्रतिनिधि रहेको जिल्ला निर्वाचन समितिले जनाएको छ। त्यसैगरी, क्षेत्र नम्बर ४ मा क तर्फ ३ सय ५२ र ख तर्फ ३ सय ३८ गरी कुल ६ सय ९० प्रतिनिधि छन्। समितिका अनुसार मोरङमा सर्वाधिक प्रतिनिधि यसै क्षेत्रका छन्। क्षेत्र नम्बर ५ को क मा २ सय ४६ र ख मा १ सय ९७ गरी कुल प्रतिनिधि ४ सय ४३ रहेको समितिले जनाएको छ। जुन अन्य क्षेत्रभन्दा कम हो।

समितिका अनुसार मोरङको क्षेत्र नम्बर ६ मा कुल ५ सय ५८ प्रतिनिधि छन्। सो क्षेत्रको क तर्फ ३ सय ४ र ख तर्फ २ सय ५४ जना रहेको निर्वाचन समितिले जनाएको छ।

प्रदेश सभा क्षेत्रीय अधिवेशनले आफूमध्येबाट कम्तीमा ३ महिलासहित १० जना प्रत्यक्ष र महिला, दलित, आदिवासी, जनजाति, खसआर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्रबाट ६ जना, प्रदेश सभा क्षेत्रको जनसंख्याअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा गरी कुल १६ जना प्रतिनिधि निर्वाचित गर्नेछ।

मंसिर ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्