काठमाडौँ विश्वकै आठौँ प्रदूषित सहर, यी हुन् नेपालका ‘रेड जोन’ सहर

फाइल तस्बिर

काठमाडौँ – नेपालको राजधानी काठमाडाँं विश्वकै प्रदूषित सहरको आठौँ नम्बरमा उक्लिएको छ। वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा छ। त्यहाँ वायु गुणस्तर सूचकांक पिएम ९२.५ (पार्टिकुलेट म्याटर) को मात्रा प्रतिघन्टा ४०७ माइक्रोग्राम प्रतिघनमिटर छ। जुन घातक हो।

नेपालमा पनि यो सूचकांक पाँच सयसम्म नाघ्ने गरेको छ। यद्यपि शनिबार बिहान काठमाडौंमा पिएम ९२.५ को मात्रा प्रतिघन्टा १७६ सम्म पुगेको आइक्युएरको तथ्यांकमा उल्लेख छ। यो सूचकांक १५१ नाघेमा अस्वस्थकर मानिन्छ। वातावरण स्वास्थ्यविज्ञ यादवराज जोशीले काठमाडौँमा दुई दिनयता बदली हुँदा वायु प्रदूषण बढ्दै गएको बताए।

दोस्रोमा दक्षिण कोरियाको इनचोन, तेस्रोमा भारतको राजधानी नयाँदिल्ली, कीर्गिस्तानको विस्केक, पाँचौँमा भारतको कोलाकाता सहर, छैटौँमा क्रोसियाको जागरेब, सातौँमा बंगलादेशको ढाका र आठौँमा नेपालको काठमाडौँ रहेको छ।

नेपालका यी सहर रेडजोनमा

नेपालमा वातावरण विभागले पनि वायु प्रदूषणको गुणस्तर मापन गर्छ। विभागले काठमाडौँसहित मुलुकका विभिन्न सहरमा राखेको वायु गुणस्तर मापन केन्द्रको तथ्यांकअनुसार प्रदूषण बढ्दै गएको छ।

शनिबार बिहानको तथ्यांकअनुसार काठमाडौँसहित पाँच सहरको वायु प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको छ।

पिएम २.५ को मात्रा प्रतिघन्टा हेर्दा पोखरामा १८४, विराटनगरमा १७६, काठमाडौँको रत्नपार्कमा १५१, कीर्तिपुरमा १५६, सिमरामा १५४ पुगेको छ।

धनकुटा, धनगढी, महेन्द्रनगरमा पनि प्रदूषण बढिरहेको छ। ती सहरको वायु गुणस्तरको मात्रा राष्ट्रिय मापदण्डभन्दा बढी रहे पनि रेड जोनमा परिसकेका छैनन्। – न्युज कारखाना

मंसिर ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्