थसीका बासिन्दाले नख्खु खोलामा बगाएका आदिनाथ कसरी पुगे चोभार?

चोभारको आदिनाथ मन्दिर। तस्बिरः आरपी न्यौपाने/देश सञ्चार।

काठमाडौँ– कार्तिक मेलाको अन्तिम दिन (शुक्रबार) काठमाडौँ उपत्यकास्थित चोभारको आदिनाथ मन्दिर (आनन्दादी लोकेश्वर) गुलजार बनेको छ। भित्र पस्न खोज्नेहरुबीच तीब्र प्रतिस्पर्धा छ, ढोकामा। पूजा सामग्री चढाउनेहरु तँछाडमछाड गरिरहेका छन्, मन्दिरको मूल ढोका अघिल्तिर।

मन्दिर परिसरको पेटीमा लस्करै बसिरहेका छन्, निर्जला व्रत बसेका महिला। मानिसहरु लाइन लागेर एक–एक गरी उनीहरुलाई दक्षिणा चढाउँदै अघि बढिरहेका छन्।

भक्तजनले बालेका अनगिन्ती दियो र बातीको बासना र धुँवाले ढाकिएको छ, मन्दिर परिसर। र एक कुनाबाट गुञ्जिरहेको छ कृष्ण भजनः

कोई कहे गोविन्द, कोई गोपाल

मैं त कहूँ सावरिया, बासुरीवाला

गोविन्द… गोपाल…

यो भजनसँगै मिसिन्छन्, घण्टको टिङ…टिङ… र मानिसका आवाजहरु, जसले बेग्लै दुनियाँमा प्रवेश गरेको भान हुन्छ।

हरेक वर्ष कोजाग्रत पूर्णिमादेखि कार्तिक शुक्लपूर्णिमासम्म एक महिना हो- कार्तिक मेलाको अवधि।

यसको साँस्कृतिक पक्ष के हो? किन लाग्छ यो मेला? मैले यो प्रश्न लुम्बिनी बौद्ध विश्वविद्यालयको संग्रहालय विज्ञान कार्यक्रमका संयोजक तथा बौद्ध संस्कृतिका अध्येता संस्कृतिविद् कर्णबहादुर महर्जनलाई सोधेँ।

उनले यसलाई कार्तिक सेवाको रुपमा विश्लेषण गरे। ‘खासगरी नेवार समुदायमा हरेक महिना कुनै न कुनै देवताको सेवा गर्ने भन्ने हुन्छ। अहिले कार्तिकको एक महिना कार्तिक सेवा भनेर चोभार देव (आदिनाथ) को सेवा गरिन्छ। अन्तिमको पाँच दिन व्रत बस्ने चलन छ,’ महर्जनले भने।

निर्जला व्रत


मेलाको अन्तिम पाँच दिन (एकादशीदेखि पूर्णिमासम्म) निर्जला व्रत बस्ने प्रचलन छ, जुन मेलाको प्रमुख आकर्षण हो। यो अवधिमा मन्दिरमा अन्य दिनको भन्दा भक्तजनहरु धेरै आउने बताउँछन्, कच्छपाल सुवर्णगिरि महाविहार संरक्षण समितिका अध्यक्ष इन्द्रबहादुर शाक्य।

एकादशीबाट सुरु भएको निर्जला व्रत शनिबार सकिएको छ। ‘मेला त पूर्णिमा (शुक्रबार) सम्म हो। निर्जला व्रत पाँच दिन बस्ने भएकोले पूर्णिमाको भोलिपल्ट सकिन्छ,’ यसअघि आदिनाथ मन्दिरका पुजारीसमेत रहिसकेका शाक्यले भने।

व्रत बस्नेहरु अधिकांश विवाहित महिला हुने भए पनि विवाहित/अविवाहित, महिला/पुरुष जसले पनि व्रत लिन मिल्ने शाक्यले जानकारी दिए।

यो व्रत किन बसिन्छ त? शाक्य थप प्रस्ट्याउँछन्, ‘आन्नदादी लोकेश्वरलाई सुख, शान्ति, समृद्धि तथा आन्नदायी जीवनका लागि पुज्ने गरिन्छ। त्यसैका लागि हो व्रत बस्ने पनि।’

धोबीघाटकी उर्मिला थापा (४१)ले आफ्नो परिवारमा सुख शान्ति होस् भनेर आफू निर्जला व्रत बसेको बताइन्। ‘आफ्नो शरीरलाई, घर परिवारलाई, देशलाई राम्रो होस् भनेर। आफ्नो मनलाई शान्ति, घरमा शान्ति र देशमा शान्ति होस् भनेर व्रत बसेकी हुँ,’ थापाले भनिन्।

निर्जला व्रत बसेका महिलाहरु।

व्रतको अवधिमा पाँच दिन अलग–अलग तीर्थमा गएर नुहाइसकेपछि गुरुले दिएको तीन घुट्की पानीको भरमा व्रत बसेको उनले बताइन्।

निर्जला व्रतको रोचक पक्ष के छ भने, व्रत बसेकी महिलाको व्रत उठाउन (व्रत तोडाउन) श्रीमान् नै जानु पर्ने चलन छ। विधि पुर्‍याएर पूजा गरिसकेपछि व्रत बसेका महिलाले श्रीमान्‌लाई फूल दिन्छन्। त्यसपछि विधिवत् रुपमा व्रत सकिएको मानिन्छ। यदि श्रीमान् व्रत उठाउन नगए उनीहरु (श्रीमान्–श्रीमती)बीच पारपाचुके (सम्बन्धविच्छेद) भएको सरह नै मानिने शाक्यले जानकारी दिए।

श्रीमान्‌ले व्रत उठाउन प्रचलन रहे पनि आफ्ना श्रीमान् बाहिर रहेको र माइतीमा जुठो परेको हुँदा छोरी व्रत उठाउन आएको थापाले बताइन्।

थापाले जस्तै सानागाउँकी रेखा महर्जन (४२)ले पनि परिवारको सुखका लागि आफू व्रत बसेको बताइन्। उनले भनिन्, ‘आफ्नो इच्छा पूरा होस् भनेर एकादशीदेखि व्रत बसेको। आज व्रत सकिने दिन हो।’

व्रत उठाउन श्रीमान् नै आउनुपर्छ भन्ने छ नि? जवाफमा उनले भनिन्, ‘हो नि। श्रीमान् लिन नआए अर्कै अर्थ लाग्छ।’

तर, पछिल्लो समय निर्जला व्रत ‘सम्बन्धविच्छेदका लागि बसिन्छ’ भनेर अपव्याख्या भएको बताउँछन्, संस्कृतिविद् महर्जन।

‘त्यो व्रतको बारेमा धेरै अपव्याख्या भएको छ। पछिल्लो समय धेरैले व्रत बस्ने भनेको डिभोर्सको लागि हो भन्ने हिसाबले गलत व्याख्या गरेको देखिन्छ। तर व्रतको असली मनसाय त्यो होइन,’ महर्जन भन्छन्।

सबैजसो व्रत सुख, शान्ति र समृद्धिको लागि बसिने उनको तर्क छ। उनी निर्जला व्रतको थप व्याख्या गर्छन्, ‘बौद्ध धर्ममा निर्जला व्रतलाई उपोशद व्रत भनिन्छ। त्यो भनेको लोकेश्वरको व्रत हो। लोकेश्वरको व्रत के को लागि बसिन्छ भनेदेखि सुख, शान्ति, समृद्धि, निरोगी बन्न र सन्तानको सुखको लागि। सबै व्रतहरु प्रायजसोः यसकै लागि बस्ने हो।’

महर्जन यो व्रतसँग सम्बन्धित एउटा कथा सुनाउँछन्–

‘परापूर्वकालमा एक जना पिंगला नामकी महारानी थिइन्। उनी लामो समयदेखि श्रीमान्‌सँग छुटेकी हुन्छिन्। कामको शिलशिलामा बाहिर गएका श्रीमान् वर्षौँसम्म फर्किएनन्। उनले श्रीमान्‌को नाममा कैयौँ धर्मकर्म गरिन्, पूजापाठ गरिन्। राजा अझै फर्केर आएनन्।

एकदिन उनले कतै सुनिछन्– उपोशद व्रत (निर्जला व्रत) बसेपछि मनले चिताएको पूरा हुन्छ। त्यसपछि उनी श्रीमान्‌का नाममा व्रत बसिन्। श्रीमान् फर्केर आउन् भनेर। नभन्दै व्रतको अन्तिम दिन (फूल चढाउने दिन) श्रीमान् टुप्लुक्क आइपुगे। त्यसरी छुट्टिएकाहरुले पछि यो व्रत बस्न थाले।’

व्रतको मर्म कथामा भनिएजस्तै भएपनि अहिले गलत व्याख्या गरिएको महर्जनको गुनासो छ। अझ, श्रीमान् नगए अरु नै पुरुष गएर (महिलाको सहमति भए) व्रत उठाइ विवाहसमेत गर्न सक्ने भन्दै दुष्प्रचारसमेत भएको उनको भनाइ छ।

‘नेवार समुदायमा कुनै पनि व्रत बसिसकेपछि फूल दिनुपर्छ। पहिलो चाहीँ आफ्नो श्रीमान्‌लाई (विवाहित महिलाले) दिने चलन छ। विवाह नगरेकोले आफ्नो बुवालाई र श्रीमान् गुमाएको भए आफ्नो छोरालाई दिनुपर्छ। बाहिरको मान्छेलाई फूल दिने भन्ने हुँदैन,’ महर्जन थप प्रष्ट्याउँछन्।

निर्जला व्रतको बेला श्रीमान् नगएका पनि प्रशस्त उदाहरण रहेको उनले जानकारी दिए। त्यस्तो अवस्थामा माइतीले व्रत उठाउँछन्।

यस्तो अवस्थामा पनि श्रीमान् लिन गएन भने महिलाले आश मार्ने र सम्बन्धविच्छेद सरह मानिने भए पनि कानुनी रुपमै सम्बन्धविच्छेद हुने भन्ने तर्क गलत रहेको संस्कृतिविद् महर्जनको व्याख्या छ।

महर्जन भन्छन्, ‘जस्तोसुकै मन निमिलेको भएपनि श्रीमतीको अलिकति माया छ भने श्रीमान् पुग्छ। श्रीमान् आउँछ भन्ने आशले व्रत बसेको हुन्छ। यदी श्रीमान् आएन भने महिलाले आश मार्छ। तर कानुनी रुपमै डिभोर्स मानिने भन्ने चाहीँ होइन।’

लुम्बिनी बौद्ध विश्वविद्यालयको संग्रहालय विज्ञान कार्यक्रमका संयोजक तथा बौद्ध संस्कृतिका अध्येता संस्कृतिविद् कर्णबहादुर महर्जन।

पछिल्लो समय श्रीमान्‌सँगको मनमुटावका कारण पनि केही महिलाहरु व्रत बस्न थालेको महर्जन बताउँछन्। उनी भन्छन्, ‘अहिले केही महिला मनमुटावको कारणले पनि व्रत बस्न थाले। अब हेरौँ, चोभारमा उठाउन आयो भने ठीकै छ। आएन भने आश मारौँला भन्ने खालको पनि देखियो।’

यदी श्रीमान् र माइती पक्षबाट पनि कोही नआएको अवस्थामा मन्दिरले नै व्रत उठाइदिने मन्दिर संरक्षण समितिका अध्यक्ष शाक्य बताउँछन्। ‘यदी व्रत उठाउन कोही आएन भने हामीले नै उठाइदिन्छौँ। त्यस्ता केसहरु पनि छन्,’ शाक्यले भने।

आदिनाथको स्थापनासम्बन्धी किम्वदन्ती


महर्जनका अनुसार आदिनाथ पहिले ललितपुरको थसीका देवता हुन्। थसीमा अनिकाल/महामारी फैलिएपछि त्यहाँका स्थानीयले ‘अलच्छिन देवता’ भनेर खोलामा बगाएको र बग्दै–बग्दै नख्खु दोभानमा पुगेर अड्किएको अवस्थामा गोठालाले भेटेपछि चोभारको मन्दिरमा लगेर राखिएको किम्वदन्ती महर्जन सुनाउँछन्–

केही दिनदेखि गाईले दुध नदिएपछि चोभारका एकजना गोठाला अचम्मित भए। चोभारको डाँडाबाट ओरालो झरेर तल खोलासम्म जान्छ। दिनभरी चरेर साँझ उकालो उक्लिन्छ। घाँसपानी खाएकै छ। गाई थाक्नेबेला पनि भइसकेको छैन, तर जब उनी गाई दुहुन बस्थे, थुनबाट दुध आउँदैनथ्यो।

उनी गाईको चियो गर्न थाले। चियो गर्दै जाँदा एक दिन देखे– बागमती र नख्खु खोलाको दोभानमा उभिएको गाईको थुनबाट आफै दुध बगिरहेको थियो।

उनले त्यहाँ खोस्रिएर हेर्दा एउटा मूर्ति देखियो। मूर्तिले मलाई त्यो माथिको डाँडामा लगेर राख भनेर आँखाले इसारा गर्‍यो। गोठालाले गाउँ पुगेर खबर गर्‍यो , ‘खोलामा भगवान भेटिए। माथि डाँडामा बस्ने इच्छा व्यक्त गरेका छन्।’

अचम्म त के थियो भने, चोभारबाट बाजागाजासहित देवता लिन जाँदा मूर्ति त्यहाँ थिएन। त्यसपछि गोठालाले लठ्ठीले मूर्ति देखिएको स्थान देखाएको र नख्खु खोलामा माथिबाट दाफस्वाँ (चमेलीको फूल) बगाएर कलशमा राखी आदिनाथको रुप मानेर मन्दिरमा लगेर राखिएको किम्वदन्ती महर्जन सुनाउँछन्।

पछि गोठालाले भने बमोजिम आदिनाथको मूर्ति तयार पारिएको उनको भनाइ छ।

कच्छपाल सुवर्णगिरि महाविहार संरक्षण समितिका अध्यक्ष शाक्य भने त्यतिबेला टुटेफुटेको अवस्थामा मूर्ति नै भेटिएको र पछि मर्मतसम्भार गरिएको दावी गर्छन्। हाल मन्दिरमा रहेको मूर्ति नख्खु दोभान भेटिएकै मूर्ति रहेको उनको जिकिर छ।

कच्छपाल सुवर्णगिरि महाविहार संरक्षण समितिका अध्यक्ष इन्द्रबहादुर शाक्य।

अहिले पनि हरेक वर्ष चैत्र अष्टमीको दिन नख्खु दोभानमा ‘देउता छोप्ने जात्रा’ लाग्ने गरेको महर्जनले बताए। आदिनाथ मन्दिरबाट कलश मन्तरेर बाजागाजासहित लगिन्छ।

नख्खु दोभानमा एक जना ग्वालाले बासको लामो लठ्ठीले देखाउँछन्, देवता यहीँनिर थियो भनेर। माथिबाट एउटा फूल बगाइन्छ। गोठालाले देखाएको ठाउँनिर पुगेपछि त्यो फूल माथिबाट लगिएको कलशमा राखिन्छ।

त्यसपछि धुमधामका बाजागाजासहित त्यो फूल मन्दिरसम्म लगिन्छ। यस जात्रालाई देउता छोप्ने जात्रा भनिन्छ। नख्खु दोभानमा देवता भेटिएको अवसरमा हरेक वर्ष चैत्र अष्टमीका दिन नख्खु दोभानमा देउता छोप्ने जात्रा लाग्ने गरेको बताउँछन्, शाक्य।

चोभारको आदिनाथ मन्दिर र मन्दिरभित्र रहेको मूर्ति।

तपाईले हेर्नुभयो भने देख्नुहुन्छ, आदिनाथका आँखा माथितिर फर्किएका छन्। नख्खु दोभानमा गोठालाले भेट्दा आदिनाथले म माथिको डाँडामा बस्न चाहन्छु भनेर आँखाले इसारा गरेको हुँदा आँखा मास्तिर फर्किएको किंम्बदन्ती छ।

मानिसहरुको रक्षा गर्ने देवता आखिर किन रिसाए त? थसीमा उनलाई त्यस्तो के भयो, जसका कारण महामारी फैलाइदिए? शाक्य अर्को किम्बन्ती सुनाउँछन्–

अहिले आदिनाथको मूर्ति रहेको मन्दिरमा कुनैसमय बसुन्धरादेवीको मूर्ति थियो। चोभारबाट बसुन्धरादेवीको रथ तानेर काठमाडौँ पुर्‍याइन्थ्यो। काठमाडौँको लगनमा बसन्धरादेवीको रथ र सेतो मच्छिन्द्रनाथको रथ जुधाएपछि जात्रा सुरु हुन्थ्यो। त्यसपछि जात्रा गर्दै रथ फेरि चोभार फर्काउने चलन थियो।

एक पटक रथ फर्काउने क्रममा बल्खु पुगेपछि ठूलो पानी पर्‍यो। आँधिबेहरी चल्यो। बाटो हिलाम्य भयो। रथका पांग्रा गाडिए। रथ तानेर चोभार लैजान नसकिने भयो।

मूर्तिसहितको रथ अलपत्र छाड्ने कुरा पनि भएन। अब के गर्ने त?

बसुन्धरादेवीको सुरक्षाका लागि राति पुजारी रथ कुरेर बस्ने र भोलिपल्ट पुनः रथयात्रालाई निरन्तरता दिने सल्लाह भयो।

तर त्यही रात तिब्बतीहरुको एक समूहले रथमाथि आक्रमण गर्‍यो।। बसुन्धरादेवी अपहरणमा परिन्।

मूर्ति लुटिएपछि चोभारको मन्दिर मात्रै खाली भएन। वर्षौँदेखि चलिआएको रथयात्राको परम्परा बिथोलियो। स्थानीय दुःखी भए।

उता तिब्बतमा बसुन्धरादेवीलाई कडा पहराका साथ कैदी बनाइएको थियो। उनी चोभार फर्किन चाहन्थिन्। तर फर्किने कुनै उपाय थिएन।

यस्तैमा एकदिन उनको आत्मा युवतीको रुप धारण गरेर काठमाडौँ फर्कियो। तिब्बतदेखिको लामो यात्रा तय गरेर बल्खुसम्म पुगेकी उनले चोभार जाने बाटो पहिल्याउन सकिनन्। बाटो नपाएर भौतारिन थालिन्।

उनलाई व्याकुल अवस्थामा एकजना तान्त्रिकले फेला पारेर ललितपुरको थसी लगेर गए। नयाँ देवता भेटिएको खुसीयालीमा धुमधामसाथ मन्दिर स्थापना गरेर स्थानीयले उनलाई मन्दिरमा विराजमान गराए। उनी चोभारकी बसुन्धरादेवी हुन् भन्ने न त तान्त्रिकलाई थाहा थियो, न त स्थानीयलाई। अनि उनको नयाँ नामाकरण भयो– आनन्दादी लोकेश्वर।

स्थानीयको खुसी लामो समयसम्म टिकेन। आफ्नै ठाउँ (चोभार)मा फर्किन नपाएपछि आनन्दादी लोकेश्वर असन्तुष्ट थिए। त्यही करण उनले थसीमा महामारी फैलाइदिए। बालीनाली असिना पानीले नष्ट हुन थाल्यो। थसीमा अनिकाल पर्‍यो।

महामारी फैलाएको भन्दै थसीबासी आन्नदादी लोकेश्वरसँग रिसाए। अन्ततः अलच्छिन देवता भन्दै थसीका बासिन्दाले एकदिन नख्खु खोलामा बगाइदिए।

बग्दै–बग्दै बागमती र नख्खुको दोभानमा अड्किएको अवस्थामा ग्वालाले उनलाई फेला पारेपछि त्यही खाली मन्दिरमा लगेर राखियो, जहाँ पहिले बसन्धरादेवीको मूर्ति थियो।

आदिनाथ मन्दिरसँग जोडिएको यस्ता कैयौँ किम्वदन्ती छन्।

के यी किम्वदन्तीहरु सत्य होलान् त? मैले यो प्रश्न बौद्ध संस्कृतिका अध्येता कर्णबहादुर महर्जनलाई सोधेँ।

‘किम्वदन्तीलाई किम्वदन्तीकै रुपमा बुझ्नु पर्छ। यसमा सत्य र असत्य भन्ने हुँदैन,’ महर्जन मेरो जिज्ञासाको जवाफ फर्काउँछन्, ‘हाम्रा परम्परा, रीतिरीवाज, चार्डपर्वसँग किम्वदन्ती जोडिएका हुन्छन्। मानिसहरुको आस्था जोडिएको हुन्छ। विश्वास गर्ने वैज्ञानिक आधार नभए पनि मानिसहरुले त मान्दै आएका हुन्छन् नि त। जसले भगवानमाथि विश्वास गर्छन्, उनीहरु किम्वदन्तीलाई सत्य नै मान्छन्।’

किम्वदन्तीलाई विश्वास गर्न सकिने आधार नभए पनि नकार्न भने नसकिने उनको तर्क छ। महर्जनका अनुसार किम्वदन्तीहरु पुस्तान्तरण हुँदैजाँदा थपिँदै जान्छन् र लोकलाइज (स्थानीयकरण) हुँदै जान्छन्।

उसोभए किम्वदन्तीहरु के कथा मात्रै हुन् त? मेरो कौतुहल अझै सकिएको छैन।

उनी एक पलका लागि रोकिन्छन्। ‘कथा मात्रै पनि होइनन्। कतिपय किम्वदन्तीहरु अहिलेको तथ्यसँग मेल खाएको पनि देखिन्छ,’ उनी भन्छन्, ‘त्यसरी हेर्दा किम्वदन्तीलाई इतिहासको एउटा आधारको रुपमा लिन सकिन्छ। इतिहास नै मान्न भने सकिँदैन।’

तथ्य फेला नपरेसम्म किम्वदन्तीलाई किम्वदन्तीकै रुपमा लिनुपर्ने र इतिहासलाई इतिहासकै रुपमा लिनुपर्ने उनी तर्क गर्छन्। किम्वदन्तीलाई बेवास्ता गर्न भने नहुने उनको भनाइ छ।

पच्छ्याउन कठिन छ, किम्वदन्तीहरु एउटासँग अर्को र अर्कोसँग फेरि अर्को आपसमा जेलिएका छन्। मैले आदिनाथसँग जोडिएको इतिहास जान्न चाहेँ।

आदिनाथ मन्दिरको इतिहासभित्र पस्नुअघि उनी चोभारसँग जोडिएका केही तथ्य केलाउँछन्।

कच्छपाल महाबिहार (आदीनाथ मन्दिर परिसर) भित्र प्रवेश गरिसकेपछि तपाईं पूर्वी ढोकाबाट बाहिर निस्कनुस्। बाहिर निस्किनवित्तिकै ढोकाको नजिकै एउटा सानो चैत्य देखिन्छ। त्यहाँबाट सिधा अगाडि हेर्नुस्, एउटा सेतो रंगको अर्को चैत्य देखिनेछ, त्यसतर्फ अघि बढ्नुस्।

मन्दिर अगाडिको चैत्य। संस्कृतिविद् कर्ण महर्जनका अनुसार  यो चैत्य लिच्छविकालिन हो।

अब एकछिन रोकिएर सेतो रंगको चैत्यको चार कुना नियाल्नुस्। तपाईले देख्नुहुनेछ– चार कुनामा चार वटा स–साना चैत्य छन्। तिनीहरुको डिजाइन भने एउटै छैन।

ढोकाअघिको त्यो एउटा चैत्य र यी चार कुनामा रहेका चार वटा गरी पाँच वटा चैत्यबाटै चोभारको इतिहास सुरु हुने महर्जन बताउँछन्। ती चैत्य एउटै समयका भने होइनन्। पाँचौदेखि आठौँ शाताब्दीको बीचमा बनेका हुन्।

यो ठूलो चैत्यको चार कुनामा रहेका चार वटा स–सना चैत्य पाँचौँदेखि आठौँ शताब्दिको बीचका हुन्।

किम्वदन्तीबाट बाहिर निस्केर तथ्य, प्रमाण र इतिहासलाई मात्रै आधार मान्ने हो भने पनि यस क्षेत्रमा लिच्छविकालमा बस्ती बसिसकेको पुष्टि हुने उनको तर्क छ।

उनी भन्छन्, ‘त्यो चैत्यलाई आधार मान्दा लिच्छविकालको छैठौँ–सातौ शताब्दीतिर त्यहाँ मजाले बुद्धिष्टहरुको सेटलमेन्ट भइसकेको देखिन्छ। चैत्यहरु सेटलमेन्ट भएकै ठाउँमा मात्रै बढी देखिन्छ। अरु प्रमाण भने केही छैन।’

चोभारलाई कच्छपाल गिरिका नामले चिनिन्थ्यो। टाढाबाट हेर्दा कछुवाको शरीरजस्तो आकारको भएकोले कच्छपाल गिरि नाम राखिएको बताइन्छ। सोही नामबाट कच्छपाल महाबिहार नामकरण भएको देखिन्छ।

चोभारको नाम च्वबाहः हो। ‘च्व’को अर्थ अग्लो ठाउँ र ‘बाहः’को अर्थ बस्ती। अग्लो स्थानको बस्ती भएको हुँदा त्यहाँको बस्तीलाई च्वबाहः भनिन्थ्यो। कालान्तरमा अपभ्रंश हुँदै चोभार नामकरण भएको महर्जन बताउँछन्।

कच्छपाल महाबिहार।

महर्जनका अनुसार आदिनाथ मन्दिर कति पुरानो हो भन्ने प्रमाण हालसम्म फेला परेको छैन। पाटनका राजा सिद्धिनरसिंह मल्लले मन्दिर जिर्णोद्वार गरेको अभिलेखसम्म पाइएको छ।

उनले भने, ‘अहिलेसम्म पाइएको अभिलेख हेर्ने हो भने सिद्धिनरसिंह मल्लले यो जिर्णोद्वार गरेको देखिन्छ। आफै आफ्नो छोरासँग यहाँ आएको कुरासम्म अभिलेखमा पाइन्छ। यहाँ सिद्धिनरसिंहको पालाको अभिलेख मात्रै छ। त्यसअघिको अभिलेख छैन।’

भार्व नाम गरेका पाटनका एक जना ठूला सिद्ध गुरु थिए। जसलाई महाकरुणा भार्व पनि भनिन्छ। उनले तिब्बतबाट आएका धेरै बौद्ध गुरुहरुलाई चोभारमा शिक्षा दिएको किम्वदन्ती छ। महर्जनका अनुसार यो मन्दिर उनैले बनाएको भन्ने कुरा पनि कतैकतै उल्लेख भएको पाइएको छ।

महर्जन भन्छन्, ‘मेरो अध्ययनले के देखाएको छ भने पाटनका एक जना भार्व भन्ने ठूला सिद्ध गुरु थिए। उनैले यो मन्दिर बनाएको भन्ने पनि कतैकतै उल्लेख छ। उनले यहाँ तिब्बतबाट आएका थुप्रै गुरुलाई शिक्षा दिएको कथा छ। यसबाट के थाहा हुन्छ भने १० औँ शताब्दीसम्म यो मन्दिर बनिसकेको सिद्ध हुन्छ। ठ्याक्कै डेटको कुरा छैन।’

महर्जनका अनुसार वंशावलीलाई आधार मान्ने हो भने पनि पाटनको रातो मच्छिन्द्रनाथको जात्रा प्रारम्भ हुनुअघिदेखि नै चोभारबाट काठमाडौँसम्म रथ लगेर जात्रा गर्ने प्रचलन रहेको देखिन्छ।

प्रमाण नै नभेटिएको भएपनि बिहारको नाम ‘इन्द्रदेव संस्कारी कच्छपाल महाबिहार’ राखिएको हुँदा उक्त बिहार करिब एघारौँ शताब्दितिर पूर्वमध्यकालमा राजा इन्द्रदेवको पालामा स्थापना भएको हुनसक्ने उनी अनुमान गर्छन्। महर्जन भन्छन्, ‘पहिलेदेखि नै कुनै संरचना बनाउँदा राजामहाराजको नाममा राख्ने गरिन्थ्यो। इन्द्रदेवले संस्कारित गरेको हुँदा उनकै नामबाट यसको नाम राखिएको हुनसक्छ।’

मन्दिरदेखि करिब पाँचसय मिटर दक्षिणमा एउटा लिच्छविकालिन अभिलेख पाइएको छ। त्यसबाट पनि यो क्षेत्र लिच्छविकालिन नै हो भन्नेमा शंका नरहेको उनको भनाइ छ।

महर्जन भन्छन्, ‘सामाजिक, साँस्कृतिक परम्परालाई पनि एउटा प्रमाणको रुपमा लिन सकिन्छ। लिखित नभेटिएपछि परम्परा पनि एक प्रमाण हुन्छ। परम्परा त अहिले पनि कायमै छ नि त।’

भित्तामा किन ठोकिन्छ भाँडा?


तपाईं पहिलो पटक आदिनाथ मन्दिर पुग्नुभएको भए एउटा फरक दृश्य देख्नुहुनेछ। बिहारको चारैतर्फ भित्तामा काँटीले भाँडाकुँडा ठोकिएका छन्।

यसरी भाँडाकुँडा ठोकिनुको रहस्य के हो? मैले कच्छपाल सुवर्णगिरी महाबिहार सुधार समितिका अध्यक्ष शाक्यसँग यसको जवाफ खोजेँ।

भक्तजनले स्वेच्छाले ती भाँडा चढाएको उनले बताए।

शाक्यले भने, ‘केही व्यक्तिले आफ्नो परिवारमा सुख, शान्ति रहोस्। मनले चिताएको पुगोस्। शरीरमा कुनै प्रकारको रोग नलागोस् भनेर चढाउँछन्। केहीले आफ्ना दिवंगत आफन्तको सम्झनामा। र कतिपयले मन्दिरमा भाँडाकुँडा चढाउनु पर्दो रहेछ भनेर यत्तिकै पनि चढाउने गर्छन्। भित्तामा काँटीले ठोकिएका तिनै भाँडा हुन्।’

साथै महिलाको निधन भएपछि उनको दाइजोमा आएका भाँडा पनि चढाउने प्रचलन रहेको बताइन्छ।

आदिनाथको पूजाआराधनाले छालासम्बन्धी रोग निको हुने विश्वास पनि गरिन्छ। त्यसका लागि पनि मानिसहरुले भाँडाकुँडा चढाउने उनले सुनाए।

आदिनाथ बौद्ध देवता हुन् कि हिन्दु?


आदिनाथलाई हिन्दु र बौद्ध दुबै समुदायले मानेको देखिन्छ। यसरी हेर्दा दुबै समुदायका देवता हुन् आदिनाथ। तर यसमा आदिनाथ बौद्ध, नाथ या वैष्णव, शैविक कुन सम्प्रदायका हुन् भन्ने विषयमा आ–आफ्नै विश्लेषण रहेको संस्कृतिविद् महर्जन बताउँछन्।

एकथरी मानिसले आदिनाथलाई लोकेश्वर (आनन्दादी लोकेश्वर) को रुपमा मान्छन्। लोकेश्वर भनेको बौद्धहरुका देवता हुन्। चोभारका आनन्दादी लोकेश्वर, नालाका सृष्टिकान्त लोकेश्वर, यलका पदमपाणि लोकेश्वर र जनबहाःका आर्यावलोकितेश्वर गरी काठमाडौँ उपत्यकामा चार लोकेश्वर छन्। बौद्धमार्गीहरुले यी चार लोकेश्वरलाई महत्वका साथ मान्ने महर्जनको भनाइ छ।

आदिनाथलाई कतिपयले नाथ (मच्छिन्द्रनाथकै एक क्याटगोरी)को रुपमा लिन्छन्। तर कुन कल्ट हो भन्नेबारे यसलाई कसरी सम्बोधन गरिन्छ, त्यसमा भर पर्ने महर्जनको मत छ।

‘एकथरी मान्छे आदिनाथलाई लोकेश्वरको रुपमा मान्छ। लोकेश्वर भनेको बुद्धिष्ट देवताको रुप हो। अर्कोथरीले चाहीँ यो नाथ (मन्छिन्द्रनाथ)कै एउटा क्याटोगरीको रुपमा मान्छ। आदिनाथ भन्ने हो भने शैविक नाम भो। बुद्धिष्टहरुले आनन्दादी लोकेश्वर भन्छन्। तपाईंले कसरी बोलाउने हो, त्यसमा भर पर्छ,’ उनी भन्छन्।

तर आफ्नो अध्ययनबाट यो क्षेत्रमा लिच्छविकालदेखि नै बौद्धहरुको प्रभाव रहेको हुँदा आदिनाथ लोकेश्वर बौद्ध देवता नै भएको पुष्टि हुने महर्जनको मान्यता छ। यस क्षेत्रमा हिन्दुहरुको प्रभाव धेरैपछि मात्रै भएको उनको भनाइ छ।

मन्दिरका तोरणहरुको अध्ययनबाट पनि यो बुद्ध धर्मकै मन्दिर भएको पुष्टि हुने उनी बताउँछन्।

‘देवता कुन कल्टको हो भन्ने तोरणबाट पनि थाहा पाउन सकिन्छ। बौद्ध देवता हो भने मन्दिरभित्र जुन देवता हुन्छ, तोरणमा पनि त्यहीँ देवता हुन्छ। चोभारको तोरणमा बुद्धहरु देखिन्छ। बुद्ध देखिनु भनेको बुद्ध फेमिलीको देवता भन्ने नै हो,’ महर्जन आफ्नो तर्क अघि सार्छन्।

उनी थप्छन्, ‘मेरो निष्कर्ष के हो भने यो क्षेत्र बौद्ध हेरिटेज हो। हिन्दु प्रभाव भनेको धेरै पछिमात्रै आएको छ। जति पनि हिन्दु मन्दिरहरु आएको भन्ने छ, त्यो धेरैपछि मात्रै हो।’

उनका अनुसार ११ औँ/१२औँ शताब्दीतिर चोभार बौद्ध तपस्वीहरुको केन्द्र थियो। बौद्ध गुरु पद्मसम्भवले पनि आठौँ शताब्दीतिर चोभारमा केही समय ध्यान गरेको प्रमाण भेटिएको महर्जन बताउँछन्।

यी तथ्यको विश्लेषण गर्दा आदिनाथ बौद्धहरुका देवता भएको महर्जनको दाबी छ।

तस्बिरहरुः आरपी न्यौपाने/देश  सञ्चार। 

मंसिर ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्