कांग्रेसको क्षेत्रीय अधिवेशनः मोरङका ४ वटा क्षेत्रमा सर्वसम्मत

मोरङ – कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मोरङ जिल्लाको प्रदेश सभा क्षेत्रीय अधिवेशनमा ४ वटा क्षेत्रमा सर्वसम्मत भएको छ।

पार्टीको जिल्ला सचिव मोदराज घिमिरेका अनुसार मोरङ क्षेत्र नम्बर १ को क सभापति राजकुमार लामा र मोरङ क्षेत्र नम्बर २ क मा कनहैया लाल राजवंशीसहित प्रदेश प्रतिनिधि सर्वसम्मत भएका छन्।

त्यसैगरी, मोरङ क्षेत्र नम्बर ५ को क र ख मा समेत पदाधिकारीसहित प्रदेश प्रतिनिधि सर्वसम्मत भएका छन्। क्षेत्र नम्बर ५ को क मा जितु साह र ख मा अचानु खाँसहित पदाधिकारी सर्वसम्मत भएका हुन्।

सचिव घिमिरेका अनुसार शनिबार जिल्लाको ६ निर्वाचनको १२ केन्द्रकै मतदान प्रक्रिया पूरा भई गणना सुरु भएको छ। उनले सबै क्षेत्रको नतिजा राति अबेरसम्म आइसक्ने बताए।

प्रदेश सभा क्षेत्रीय निर्वाचनमा प्रत्येक निर्वाचन क्षेत्रबाट ७ जना पदाधिकारी र १६ जना प्रदेश सभा प्रतिनिधि चयन हुनेछन्। मोरङको ६ वटै निर्वाचनमा गरी कुल ३ हजार ५ सय ५१ प्रतिनिधि छन्।

जसअन्तर्गत क्षेत्र नम्बर १ मा कुल ६ सय ५९ मत छ। जसमा क तर्फ २ सय ८३ र ख मा ३ सय ७६ प्रतिनिधि छन्। त्यसैगरी, क्षेत्र नम्बर २ को क मा २ सय ९८ र ख मा ३ सय ८४ गरी कुल ६ सय ८२ प्रतिनिधि छन्। क्षेत्र नम्बर ३ मा २ सय ९८ जना क र २ सय ६० ख तर्फ गरी कुल ५ सय ८२ प्रतिनिधि रहेको जिल्ला निर्वाचन समितिले जनाएको छ।

त्यसैगरी, क्षेत्र नम्बर ४ मा क तर्फ ३ सय ५२ र ख तर्फ ३ सय ३८ गरी कुल ६ सय ९० प्रतिनिधि छन्। समितिका अनुसार मोरङमा सर्वाधिक प्रतिनिधि यसै क्षेत्रका छन्। क्षेत्र नम्बर ५ को क मा २ सय ४६ र ख मा १ सय ९७ गरी कुल प्रतिनिधि ४ सय ४३ रहेको समितिले जनाएको छ।

मंसिर ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्