मोरङमा प्रदेश सभा क्षेत्रीय निर्वाचनको परिणाम आउने क्रम सुरु, क्षेत्र ६ को ‘ख’ मा कोइरालापक्षधरको जित

मोरङ – कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मोरङमा प्रदेश सभा क्षेत्रीय निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ।

मोरङको ६ वटा निर्वाचन क्षेत्रको ८ केन्द्रको मत परिणाममा शनिबार राति क्षेत्र नम्बर ६ को ‘ख’ र क्षेत्र नम्बर १ को ‘क’ मा क्रमशः मधुबाबु तिवारी र नरबहादुर मोक्तान विजयी भएका छन्।

विराटनगर महानगरपालिकाअन्तर्गत क्षेत्र नम्बर ६ को ख मा तिवारी विजयी भएका हुन्। सो क्षेत्रमा सभापतिमा विकास पराजुलीलाई तिवारीले पराजित गरेका हुन्। महानगरपालिका ७ को वडाध्यक्षसमेत रहेका तिवारीले जितपछि प्रतिक्रिया दिँदै सबै नेताको साथसहयोगबाट जित हात पारेको बताए।

डा. शेखर कोइराला पक्षधर रहँदै जित हासिल गरेको जनाउँदै तिवारीले भने, ‘डा. साब हाम्रो नेता हो। उहाँको आशीर्वाद छ। साथै, सबै अन्य नेताहरूको समेत राम्रो साथ पाएको छु। डा. साबको पूर्ण समर्थन पाएको छु।’

मोरङ कांग्रेसमा डा.कोइराला र पार्टी सभापति शेरबहादुर देउवापक्षधरबीच स्पर्धा रहेको नेता कार्यकर्ता बताउँछन्। एक नेताका अनुसार कोइराला पक्षबाट जित हात पारेका तिवारीलाई निर्वाचनका क्रममा प्रदेश सभासदस्य केदार कार्कीको समर्थन थियो।

सो क्षेत्रमा उपसभापतिमा किरण नेपाल र लोकबहादुर कार्की, सचिवमा माधवराज राजभण्डारी र कैकशा कौशर गुड्डी, सहसचिवमा अञ्जु दाहाल र मञ्जील गौतम निर्वाचित भएका छन्।

त्यसैगरी, क्षेत्र नम्बर १ को क मा नरबहादुर मोक्तान विजयी भएका छन्। मोक्तानले अर्जुन तुम्रोक र वीरबल थापालाई पराजित गरेका थिए। विजयी मोक्तानलाई क्षेत्रीय सभापति खड्ग फागोको समर्थन थियो। सो क्षेत्रमा उपसभापतिमा प्रकाश निरौला र लोलिम पोमु, सचिवमा कोमलप्रसाद ढकाल र नारदमणि नेपाल, सहसचिवमा नारायण धिमाल र नेत्रप्रसाद आपागाई विजयी भएका छन्।

मोरङको १२ वटा क्षेत्रमध्ये ४ वटामा सभापतिसहित सबै पदाधिकारी र प्रतिनिधि सर्वसम्मत भएका छन्। मोरङको क्षेत्र नम्बर ५ को ‘क’ र ‘ख’, क्षेत्र नम्बर १ को ‘ख’ र क्षेत्र नम्बर २ को ‘क’ मा सभापति र पदाधिकारी नै सर्वसम्मत भएका हुन्।

प्रदेश सभा क्षेत्रीय अधिवेशनले आफूमध्येबाट कम्तीमा ३ महिलासहित १० जना प्रत्यक्ष र महिला, दलित, आदिवासी, जनजाति, खसआर्य, मधेसी, थारू, मुश्लिम, पिछडिएको क्षेत्रबाट ६ जना, प्रदेश सभा क्षेत्रको जनसंख्याअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा गरी कुल १६ जना प्रतिनिधि निर्वाचित गर्नेछ।

 

मंसिर ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्