कांग्रेस प्रदेश सभा क्षेत्रीय निर्वाचनः सुनसरी क्षेत्र नम्बर १ मा ‘पौडेल कोइराला’ प्यानल विजयी

मोरङ – कांग्रेसको १४ महाधिवेशनअन्तर्गत सुनसरीको प्रदेशसभा क्षेत्रीय निर्वाचनमा क्षेत्र नम्बर १ मा संस्थापन इतरले जित हात पारेको छ।

सुनसरी क्षेत्र नम्बर १ को ‘क’ तर्फ अनिल श्रेष्ठ र ‘ख’ तर्फ मुरारी भट्टराईको प्यानल नै निर्वाचित भएको हो। धरान ८ मा भएको मत गणनाका क्रममा क तर्फ विजयी भएका अनिलले २ सय ७४ मत पाएका थिए।

उनका निकटम प्रतिस्पर्धी मदन ढकालले ९४ मत पाएका थिए। त्यसैगरी, श्रेष्ठको प्यानलमा उपसभापतिमा झुमादेवी राई, प्रदीप शाक्य विजयी भए। सचिवमा युवराज शंकर र राजेन्द्र राई, सहसचिवमा रमिता श्रेष्ठ हरिप्रसाद ओझा विजयी भएका छन्।

अर्कोतर्फ, क्षेत्र नम्बर १ को ख तर्फ सभापतिमा मुरारी भट्टराईले संस्थापन पक्षका अजयकुमार राईलाई पराजित गरेका थिए। भट्टराईलाई डा. शेखर कोइरालाको समर्थन थियो। १ सय ३१ मत पाएर विजयी भएका भट्टराईले प्रतिस्पर्धी राईलाई १ सय ८ मतमा सीमित बनाएका थिए।

त्यसैगरी, उपसभापतिमा चन्द्रबहादुर मगर, डिल्लीशेर राई, सचिवमा राजेन्द्र खड्का र विजय घिमिरे, सहसचिवमा रोहित काफ्ले र मञ्जु राई विजयी भएका छन्।

 

मंसिर ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्