एमाले प्रतिनिधि चयन, दुईपटक निर्वाचन तालिका सारेसँगै सुनसरीको क्षेत्र नम्बर १ मा सर्वसम्मत

मोरङ – एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि सुनसरी क्षेत्र नम्बर १ मा सर्वसम्मत प्रतिनिधि चयन भएको छ।

शनिबार सुनसरी क्षेत्र नम्बर १ मा खुलामा ६ र महिलामा ३ गरी कुल ९ जना प्रतिनिधि चयन भएको जिल्ला निर्वाचन सहयोग समितिका संयोजक शिवराज चौहानले जानकारी दिए।

विवादका कारण मतदान प्रक्रिया नै रोकिएको अवस्थामा लामो रस्साकस्सीको साथमा देखिएका दुई समूहलाई मिलाएर अघि बढाइएको हो। सहमतिका क्रममा धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु सुवेदी र उनका श्रीमान् मुरारी सुवेदीले ओली पक्षबाट सहमतिका लागि पछि हटेका थिए।

प्रतिनिधि छनोटका क्रममा ओली पक्षबाट खुलातर्फ विजय राई, मीन सुब्बा, योग्यराज खड्का राम आंग्बुहांग छनोट भएका छन्। त्यसैगरी, महिलातर्फ विणा खनाल र लहरुमाया जिमी रहेका छन्।

त्यसैगरी, असन्तुष्ट पक्षबाट जयकुमार राई, रमेश बस्नेत र महिलामा रुफिना गुरुङ राई रहेकी छन्। त्यसैगरी, दलिततर्फ लालबहादुर सेञ्चुरी, घनश्याम मंग्राती, पार्वताकुमारी बराइली र धनबहादुर विश्वकर्मा छनोट भएका छन्।

यसअघि दुई पक्षबीच विवाद बढ्दै गर्दा निर्वाचनका लागि तोकिएको कात्तिक ३० र मंसिर ३ गतेको तालिकासमेत हेरफेर भएको थियो। कात्तिक २९ गते विवाद बढेसँगै जिल्ला निर्वाचन सहयोग समितिले मंसिर ३ गतेका लागि निर्वाचनको मिति तय गरेको थियो।

मंसिर ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्