नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको बैठक आउँदो बुधबार हुने

काठमाडौँ – नेपाल–युरोपेली सङ्घ संयृुक्त आयोगको तेह्रौँ बैठक यही मङ्सिर ८ गते बुधबार काठमाडौँमा हुने भएको छ ।

बैठकमा भाग लिने तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सङ्घको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनी शनिबार काठमाडौँ आइपुगेका छन् ।

बैठकमा आपसी हितका क्षेत्रीय र बहुपक्षीय विषयका साथै नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धका सबै पक्षमा विचार विमर्श हुने परराष्ट्र मन्त्रालयका एकजना अधिकारीले बताए ।

बैठकमा द्विपक्षीय विकास सहायताका समग्र पक्षमा छलफल हुनेछ । युरोपेली सङ्घले नेपाललाई व्यापार तथा लगानी, वाणिज्य, ऊर्जा, विज्ञान तथा प्रविधि, कृषि, मानव संसाधन विकास, पर्यावरण संरक्षण, भूकम्पपछिको पुनर्निर्माण, ग्रामीण विकास, पोषण, शिक्षा, सुशासनलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्ने छन् । नेपाली विमान सेवालाई युरोपेली मुलुकको आकाशमा उड्न माथि लगाइएको प्रतिबन्ध चाँडोभन्दा चाँडो हटाउन नेपाली पक्षले बैठकमा उच्च प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ ।

नेपाल सरकारले नागरिक उड्डयन क्षेत्रको सुरक्षाका निम्ति नयाँ नागरिक उड्डयन विधेयक संसद्मा प्रस्तुत गरेको सन्दर्भमा हवाई सुरक्षाप्रतिको नेपालको प्रतिबद्धतालाई दृष्टिगत गरी युरोपेली सङ्घले उडान प्रतिबन्ध हटाउने अपेक्षा गरिएको छ ।

मंसिर ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्