नेपाली कांग्रेस १४औं महाधिवेशन

मोरङ प्रदेशसभा क्षेत्रीय अधिवेशनमा शेखर कोइराला पक्ष हावी

मोरङ – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङमा भएको प्रदेशसभा क्षेत्रीय निर्वाचनमा डा शेखर कोइराला पक्षधर हावी भएका छन्।

मोरङका ६ निर्वाचन क्षेत्रअन्तर्गतका १२ प्रदेशको मत परिणाममा कोइराला पक्षले ७ वटा निर्वाचन क्षेत्रमा जीत हात पारेको छ। पार्टी सभापति शेरबहादुर देउवा पक्षका ३ जनाले जीत हासिल गर्दा २ प्रदेशमा महेश आचार्य पक्षधरले बाजी मारेको छ।

मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूका अनुसार क्षेत्र नं १ (क) र (ख) मा नरबहादुर मोक्तान र राजकुमार लामा विजयी भएका छन्। सभापति लिम्बूको निर्वाचन क्षेत्रसमेत रहेको क्षेत्र नं १ (क) मा मोक्तान १३० मत ल्याएर विजयी हुँदा १ (ख) मा लामा सर्वसम्मत भएका हुन्।

क्षेत्र नं २ (क) र (ख) मा क्रमशः कन्हैलालाल राजवंशी र देवेन्द्र बस्नेत विजयी भए। डा.मीनेन्द्र रिजालको निर्वाचन क्षेत्र रहेको यहाँ कोइराला पक्षबाट राजवंशी र देउवा पक्षबाट बस्नेत विजयी भएका हुन्। क्षेत्र नं ३ (क) र (ख) मा क्रमशः गंगा याक्खा र जगतलाल चौधरी विजयी भए।

प्रतिनिधिसभा निर्वाचनमा डा. सुनिल कोइराला पराजित भएको यस क्षेत्रका प्रदेशसभा निर्वाचन क्षेत्रमा विजयी दुवै जनालाई नेता कोइरालाको समर्थन छ। याक्खासँग किरण न्यौपाने र चौधरीसँग केदार अधिकारी पराजित भएका थिए।

त्यसैगरी क्षेत्र नं ४ (क) र (ख) मा एकाराम माझी र सुवोध निरौला विजयी भए। प्रतिनिधिसभा निर्वाचनमा महेश आचार्य पराजित भएको यस क्षेत्रका प्रदेश निर्वाचन क्षेत्रमा विजयी माझी गुरुराज घिमिरे निकट हुन्। निरौलालाई भने आचार्यको समर्थन रहेको छ। यस क्षेत्रमा देउवा पक्षका विनायक पन्तले पराजित भए।

देउवा पक्षबाट क्षेत्र नं ५ मा सर्वसम्मत भएको छ। क्षेत्र नं ५ (क) मा अचानु खाँ र (ख) मा जितेन्द्र साह सर्वसम्मत भएका हुन्। यस क्षेत्रमा कोइराला पक्षका उम्मेदवार पराजित भए। डा. कोइरालाको निर्वाचन क्षेत्र नं ६ का (क) र (ख) मा कोइराला पक्षकै दीपक भगत र मधुबाबु तिवारी विजयी भए। विजयी तिवारी विराटनगर महानगरपालिका ७ का वडाध्यक्षसमेत हुन्।

मोरङको राजनीतिमा डा. शेखर कोइराला, महेश आचार्य र मीनेन्द्र रिजाल संयुक्त रहेका छन्। महानगरको निर्वाचनमा समेत तीनैजना एकै समूह भएर अघि बढेका थिए। कांग्रेस महाधिवेशनपूर्व केही दिनअघि तीन जनाबीच छलफल भएको कांग्रेसका एक नेताले बताएका छन्।

मंसिर ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्