योगगुरु रामदेवलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि ब्राण्ड एम्बास्डर बन्न प्रस्ताव

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय योगगुरु रामदेव बाबालाई नेपालको पर्यटन प्रवर्द्धनका लागि ब्राण्ड एम्बास्डर बन्न प्रस्ताव गरेको छ ।

आइतबार मन्त्रालयले आयोजना गरेको भगवान श्रीपशुपतिनाथ दर्शन सहितको योग शिविर कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले योगगुरु रामदेवलाई नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार तथा प्रवर्द्धन गर्नका लागि ब्राण्ड एम्बास्डर बन्न प्रस्ताव गरेका हुन् ।

मन्त्री आलेले बाबा रामदेवलाई ब्राण्ड एम्बेस्डर बन्न प्रस्तावसहितको प्रमाणपत्र दिए । नेपाल वुद्ध र सगरमाथाको देश भनेर विश्वभरि चिनाउन योग गुरुको रामदेवको भूमिका महत्वपूर्ण हुने मन्त्री आलेले बताए । योग गुरु रामदेवको माध्यमले भारतबाट नेपालमा धेरै भन्दा धेरै पर्यटक आउनेमा उहाँले विश्वास व्यक्त गरे ।

कोभिड–१९ को संक्रमण नेपालमा निकै कम भएको र धेरैले खोप लगाइसकेको उल्लेख गर्दै मन्त्री आलेले नेपालको पर्यटनको प्रचार प्रसार गरिदिन योगगुरु रामदेवलाई आग्रह गरे । योगगुरु रामदेवले नेपालको संस्कृतिलाई संसारभर लिएर जाने बताए ।

मंसिर ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्