कहाँ छन् काष्ठमण्डपका गोरखनाथ र चार गणेशका प्राचीन मूर्ति? किन बनाइयो नयाँ मूर्ति?

पुरानो गोरखनाथको मूर्ति, हाल यो मूर्ति हनुमानढोकामा छ । तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौँ– पुनर्निर्माण गरी उद्घाटनको तयारीमा रहेको काष्ठमण्डपमा रहेका गोरखनाथसहितका पाँच पुराना मूर्ति नयाँ मूर्तिहरुले प्रतिस्थापन गर्ने तयारी भएको छ।

काठमाडौँ महानगरपालिका–२० मा रहेको काष्ठमण्डपलाई मरुसत्तलका रुपमा पनि चिन्ने गरिएको छ। सत्तलको मध्यभागको चार कुनामा चार गणेश र एउटा कुनामा गोरखनाथको मूर्ति थियो।

२०७२ सालको वैशाखमा आएको भूकम्पले क्षति पुर्‍याएपछि त्यहाँका गोरखनाथसहित गणेशका चार मूर्ति संरक्षणका लागि भन्दै हनुमानढोका दरबार संग्रहालयको संरक्षणमा राखिएको थियो।

‘मरुसत्तलका गोरखनाथ तथा चार गणेशका मूर्ति हाम्रो संरक्षणमा छन्’, हनुमानढोका दरबार संग्रहालयका प्रमुख सन्दीप खनालले भने, ‘सबै मूर्ति हाम्रो स्टोरमा राखिएका छन्। महानगरको सक्रियतामा उपभोक्ता समिति गठन गरी काष्ठमण्डपको पुनर्निर्माण गरिएको छ। त्यसक्रममा उहाँहरुले टुटफुट भएको मूर्ति पूजा गर्न नमिल्ने धार्मिक तथा शास्त्रीय मान्यता रहेको भन्दै पुरानो मूर्तिकै नाप तथा शैलीमा नयाँ मूर्ति बनाउनुभएको छ।’

पुनर्निर्मित काष्ठमण्डप । तस्बिर : बर्षा शाह/देश सञ्चार

नित्यपूजा गर्ने मूर्ति टुटफुट भएको अवस्थामा सो मूर्ति पूजा नगर्ने मान्यता रहिआएको छ। भूकम्पका बेला मरुसत्तलमा रहेको गोरखनाथको मूर्तिको अनुहारमा क्षति पुगेको थियो। ‘गणेशका चार मूर्तिमा पनि विभिन्न भाग टुटफुट भएको छ’, अहिले मूर्तिहरुको संरक्षण जिम्मेवारी पाएको हनुमानढोका दरबार संग्रहालयका प्रमुख खनालले भने।

खनालका अनुसार काष्ठमण्डपका गोरखनाथ र गणेशका चार मूर्ति प्राचीन पुरातात्विक महत्वका हुन्। उनले भने, ‘यी मूर्तिहरु मध्यकालीन समयका मानिन्छन्। पुरातात्विक हिसाबले निकै महत्वपूर्ण हुन्। तर उहाँहरुले टुटफुट भएको हुनाले पूजा गर्न नमिल्ने भनेर नयाँ बनाउनुभयो। त्यसो भन्दैमा यी मूर्तिको महत्व घट्ने होइन। सुरक्षित छ र संग्रहालयको पुनर्निर्माण सकिएको अवस्थामा सर्वसाधारणका लागि प्रदर्शनमा राख्न सकिन्छ।’

काठमाडौँमा गोरखनाथ निकै कम छन्। उपत्यकामा रहेका गोरखनाथका तीनमध्ये एक हो काष्ठमण्डपको मूर्ति। गोरखनाथको पाउ अर्थात पादुकालाई प्रतीक मानेर पूजा गर्ने चलन रहेको छ।

प्राचीन मूर्तिको ठाउँमा नयाँ मूर्ति किन बनायो, के भन्छ समिति?

गणेशको प्राचीन मूर्ति, हाल हनुमानढोकामा छ । तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौँ महानगरपालिकाले गठन गरेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य टुटफुट भएको मूर्ति पूजा गर्न नहुने मान्यता रहेकाले नै नयाँ मूर्ति बनाएको दाबी गर्छन्।

‘पुरानो गोरखनाथको मूर्ति तथा गणेशका चारवटा मूर्ति हनुमानढोकामा हेरचाह अड्डामा छ’, अध्यक्ष शाक्यले भने, ‘हामीले यहाँ काष्ठमण्डप (मरुसत्तल) मा नयाँ मूर्ति बनाएका छौँ। ती मूर्तिहरु पुरानै शैली र नापका छन्।’

पुरानो मूर्ति खण्डित भएको र त्यस्तो मूर्ति पूजा गर्नुहुँदैन भन्ने मान्यता रहेकाले नित्यपूजाका लागि नयाँ मूर्ति बनाएको शाक्यको भनाइ छ।

‘पुनर्निर्माण गरिएको काष्ठमण्डपमा नयाँ मूर्ति हुन्छन्। पुराना मूर्ति के गर्ने वा कहाँ दिने भन्नेबारे अहिले निर्णय भएको छैन’, उनले भने। शाक्यका अनुसार पुराना मूर्तिको पुरातात्विक महत्वअनुसार सम्भवतः संग्रहालयलाई दिने निर्णय हुन सक्नेछ।

तर वडा नम्बर २० का अध्यक्ष राजेन्द्र मानन्धरले आफूहरुलाई नयाँ मूर्तिबारे जानकारी नरहेको बताउँछन्। उनले भने, ‘पुनर्निर्मित काष्ठमण्डपमा पुराना मूर्तिको सट्टा नयाँ मूर्ति राख्नेबारे मलाई जानकारी छैन। महानगरअन्तर्गतको पुनर्निर्माण समितिले एकलौटी काम गरेपछि हामीले चासो दिएका छैनौँ। समितिले वडासँग समन्वय गरेको छैन। हाम्रो प्राथमिकता मन्दिर बनोस् भन्ने हो । मूर्तिबारे जानकारी भए।’

भग्न (खण्डित वा टुटफुट) भएका मूर्तिका सम्बन्धमा के छ शास्त्रीय मान्यता?

संस्कृतिविद् डा गोविन्द टण्डनका अनुसार नियमित नित्यपूजा गर्ने मूर्ति भग्न भएको अवस्थामा नयाँ बनाउने प्रचलन छ।

‘हाम्रो परम्परामा पूजा गरिरहेको मूर्ति भग्न भयो अर्थात हात, नाक, खुट्टा, मुख केही टुटफुट भयो भने त्यस्तो मूर्ति पूजा गरिँदैन’, डा टण्डनले भने, ‘तर प्राचीन मूर्ति भग्न भए जोगाएर राख्ने गरिन्छ।’

नित्यपूजा गर्ने मूर्ति प्रतिस्थापित गर्नु परेमा सोही आकार तथा धातु वा पत्थर जेको छ, त्यसकै नयाँ मूर्ति बनाउने र प्रतिस्थापन गर्नुपूर्व क्षमापूजा गर्ने शास्त्रीय व्यवस्था रहेको उनले बताए। डा टण्डनले भने, ‘तर प्राचीन मूर्तिलाई जोगाउनै पर्छ। प्राचीन सम्पदा ऐनले प्राचीन मूर्तिहरु जोगाएर राख्ने र हटाउन पाइँदैन भन्छ।’

तस्बिर : बर्षा शाह/देश सञ्चार

प्राचीन मूर्तिहरुलाई उनीहरुको पुरातात्विक महत्व हेरेर भग्न भएको अवस्थामा पनि पूजा गर्न मिल्ने व्यवस्था भने छ। टण्डनका अनुसार गणेशको मूर्ति मंगलबारका दिन पूजा गर्दा मूल मूर्तिको बाहिर धातुको कवच मूर्ति बनाएर पूजा गर्ने चलन छ।

‘काष्ठमण्डपका गोरखनाथको मूर्तिका सन्दर्भमा पनि पुरानो मूर्ति नै राख्ने तर पूजाका लागि कवचमा धातुको मूर्ति बनाउने विकल्प हुन सक्थ्यो। तर त्यो समिति र पुरातत्व विभागले गर्ने निर्णय हो। मूर्तिको संरक्षण तथा शास्त्रीय मान्यता दुवैको रक्षा हुनुपर्छ’, संस्कृतिविद् डा टण्डनले भने।

गोरखनाथको नयाँ मूर्ति, अवलोकन गर्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली । फाइल तस्बिर (साभारः सामाजिक सञ्जाल)

भूकम्पले भत्किएको काष्ठमण्डपको पुनर्निर्माण प्रयास स्थानीय बासिन्दाको सक्रियतामा गठित समितिले गरेको थियो। तर स्थानीय चुनाव भई जनप्रतिनिधि आएपछि महानगरपालिकाले सक्रियता लिएर आफ्नो मातहतमा समिति बनाएर २०७५ कात्तिक २२ मा पुनर्निर्माण सुरु भएको हो।

समितिका अध्यक्ष शाक्यका अनुसार तीन वर्षमा पूरा गर्ने भनिएअनुसार नै गएको कात्तिकमा पुनर्निर्माणको काम पूरा भएको र अब उद्घाटनको तयारी गरिएको छ।

अहिलेसम्म महानगरबाट साढे ११ करोड रकम प्राप्त भएको र त्यसभित्रै रहेर काम गरिएको उनको भनाइ छ। यसअघि पुरातत्व विभागले २०७२–७३ मा काष्ठमण्डप पुनर्निमाणका लागि १९ करोड ८८ लाख लाग्ने अनुमान गरिएको थियो। काष्ठमण्डप पुनर्निर्माणमा अहिलेसम्म ९ हजार घनमिटरभन्दा बढी काठ प्रयोग भएको छ।

तस्बिर : बर्षा शाह/देश सञ्चार
मंसिर ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्