कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण (नोभेम्बर १४ देखि २०)

संक्रमण घट्यो भन्दैमा होशियारी नअपाउनु झन् घातक

कोरोना प्यान्डेमिक घुमीफिरी विश्वका विभिन्न देशहरुमा पटक पटक आउने गर्दछ भन्ने कुरा छर्लंग भइसकेको छ र यसको अन्त्य कहिले र कसरी हुन्छ भन्ने कुराको टुंगो अहिले पनि लगाउन सक्ने अवस्था छैन।

सर्बमहाप्रकोप या प्यान्डेमिक शताब्दीमा एकचोटि आउँछ भन्ने कुरा हामीले सुनेको हो र यसभन्दा पहिलाको प्यान्डेमिक, स्प्यानिस फ्लुको बारेमा पनि हामीले सुनेको र पढेको मात्रै हो। उक्त प्यान्डेमिक भोगेकाहरु हाल सायदै कोही जीवित होलान्। तसर्थ प्यान्डेमिकको बारेमा हामी आफैले भोगेर यसको बारेमा जान्नुपर्ने र सिक्नुपर्ने कुरा अझै धेरै बाँकी रहेछ भन्ने पछिल्लो समय  स्पष्ट हुँदै आएको छ।

हर्ड इम्युनिटी आएपछि प्यान्डेमिकको अन्त्य हुन्छ अथवा जनसंख्याको ठूलो हिस्साले भ्याक्सिन लगाइसकेपछि यसको अन्त्य हुन्छ भन्ने हामीले जानेको हो। हालसम्म विश्वमा करिब साढे पचीस करोड मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् भने एकाउन्न लाखभन्दा धेरैले यसैका कारण आफ्नो ज्यान गुमाइसकेका छन्। त्यस अर्थमा हालसम्म विश्वको जनसंख्याको करिब ३.२%लाई मात्र यो संक्रमण भएको छ र ०.०६%को मात्रै यसबाट मृत्यु भएको छ।

प्यान्डेमिकको सामान्य सिद्धान्त अनुसार दुई तिहाई जनसंख्यामा संक्रमण फैलिएपछि हर्ड इम्युनिटी अर्थात् सामुदायिक इम्युनिटीको विकास हुन्छ। त्यस अर्थमा सरसर्ती हेर्दा विश्वमा भर्खरै ३.२% जनतामा संक्रमण फैलिएको अवस्थामा हर्ड इम्युनिटीको विकास कहिले होला कल्पना गर्न गाह्रो छ। त्यसैले अहिलेको आधुनिक र बैज्ञानिक युगमा कोरोना बिरुद्धको भ्याक्सिन नै हर्ड इम्युनिटीको विकल्प हो।

यसै  कुराको आधारमा पछिल्लो समय विश्वभरि नै कोरोना भ्याक्सिनले ब्यापकता पाउँदै गएको छ। बिकसित देशहरुमा यसले झन्डै दुई तिहाइ जनतालाई समेटिसकेको छ। विश्वको आधाभन्दा धेरै जनताले कम्तिमा भ्याक्सिनको एक डोज पाइसकेका छन्। चित्र नं. १ ले आवर ओर्ल्ड इन डाटा (Our World in Data) का अनुसार, विभिन्न महादेशमा कोरोना भ्याक्सिनको पूर्ण खोप लगाएको जनसंख्या प्रतिशत देखाएको छ जसअनुसार अफ्रिका र एसिया बाहेक बाँकी सबै महादेशमा झन्डै दुई तिहाइ जनताले पूर्ण खोप लगाइसकेका छन्।

युरोपमा पनि भ्याक्सिनको प्रयोग प्रशस्त भएको पाइन्छ। यति हुँदाहुँदै पनि हाल युरोपमा कोरोना प्यान्डेमिकको अर्को लहर सुरु भएको छ। युरोपमा पछिल्लो अवस्थामा नया लहर चलिरहेको चर्चा यस शृंखलाका गएका अंकहरुमा पनि उल्लेख  भइसकेका छन्। तर त्यति चर्चाले मात्रै पुग्ने अवस्था देखिंदैन किनभने युरोपमा हाल चलिरहेको लहर दैनिक नया संक्रमणको हिसाबले हालसम्मकै सबैभन्दा ठूलो लहर हो। हाल युरोपमा दैनिक नयाँ संक्रमण ३५०००० देखि ३७०००० सम्म देखा परिरहेको छ जुन विश्वभरिको दैनिक नयाँ संक्रमणको करिब ६४% हो। यसभन्दा अघिको दोस्रो ठूलो लहरको बेला, गत वर्ष नोभेम्बर महिनामा दैनिक करिब ३००००० संक्रमण देखा पर्ने गरेको थियो। चित्र न. २ले पछिल्लो अवस्थामा विभिन्न महादेशहरुमा दैनिक नया कोरोना संक्रमणको अनुपात देखाएको छ।

त्यस्तै युरोपमा पछिल्लो समयमा कोरोना मृत्यु पनि निकै बढेको छ। हाल त्यहाँ दैनिक मृत्यु करिब ४०००-४८०० सम्म भेटिएको छ जुन विश्वभरिको दैनिक नयाँ मृत्युको  करिब ६६% हो। तर दैनिक मृत्यु पहिलाको  दाँजोमा भने केही कम देखिन्छ। यसै वर्षको जनवरीतिर युरोपमा  दैनिक मृत्यु ७०००भन्दा धेरै देखिएको थियो। चित्र नं. ३ले पछिल्लो अवस्थामा  विभिन्न महादेशहरुमा दैनिक नया कोरोना मृत्युको अनुपात देखाएको छ।

युरोपको वर्तमान प्यान्डेमिक लहर यसै वर्षको जुन महिना देखि सुरु भएको थियो जति बेला दैनिक करिब ५०००० नया संक्रमण देखापर्ने गरेको थियो र त्यति बेला त्यहाँको जनजीवन सामान्य थियो। तर त्यति बेला दैनिक संक्रमण क्रमसः घट्दै जानुको सट्टा फेरि बढ्दै गई जुलाईसम्म पुग्दा दैनिक करिब १५००००-१९०००० संक्रमण देखिन थाल्यो। तत्पश्चात करिब दुई महिना सेप्टेम्बरसम्म दैनिक संक्रममा केही स्थीरता आई दैनिक संक्रमण त्यतिकै संख्यामा कायम रह्यो। सेप्टेम्बरको अन्त्यतिर दैनिक संक्रमण केही हल्का घटेको संकेत देखिए पनि अचानक बेलायत, रसिया र टर्कीमा आएको लहरले युरोपमा नया लहरको थालनी गर्‍यो। त्यति मात्रै नभई त्यति नै बेला पूर्वी युरोप जस्तै स्लोभेनिया, सर्बिया, क्रोएसिया, युक्रेन आदि देशहरुमा पनि नयाँ लहर सुरु भई युरोपको लहर झन् चुलिंदै गयो। हाल युरोपमा पूर्वबाट पश्चिमतिर संक्रमण फैलिई जर्मनी, पोल्याण्ड, नेदरल्यान्ड्स, फ्रान्स, इटाली आदि देशहरुमा फैलिने क्रम जारी रहेको छ।

हाल युरोपमा यति धेरै संक्रमण फैलिई प्यान्डेमिकको नया लहर आए पनि एउटा सानो सुखद कुरा पनि छ । त्यहाको औसत समग्र मृत्यु दर भने पहिलाकोभन्दा निकै कम छ। युरोपको गत वर्षको नोभेम्बर डिसेम्बरतिरको लहर, जुन हालसम्मको दोस्रो ठूलो लहर थियो, त्यति बेलाको औसत मृत्युदर करिब २.३५% थियो भने हालको मृत्युदर करिब १.१५% जति रहेको छ। अहिलेको कोरोना सम्बन्धी आधुनिक प्रबिधिको बिकासको नतिजा हो यो। तर समग्र मृत्यु दरमा कमी आएता पनि कोरोना संक्रमण र प्यान्डेमिकको कारण ठूलो स्रोत र साधनको क्षति हुने र मानव शरीरले कष्ट बेहोर्नु पर्ने कारणले यसलाई बेवास्ता गर्न सकिँदैन।

केही समयअघि मात्रै प्यान्डेमिकले ग्रस्त बनाएको दक्षिण एसिया र दक्षिण अमेरिका भने हाल निकै शान्त देखिन्छ र त्यहाँ जनजीवन निकै सहज र सामान्य भएको छ। प्यान्डेमिकको नियति नै यही हो कि यसले एकै समयमा भूगोलमा कतै तोड्छ त कतै छोड्छ। यो सबै क्षेत्रमा एकै पटक आएर एकै पटक अन्त्य हुँदो रहेनछ।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता सन् २०२१ नोभेम्बर १४ देखि २० (बि.सं २०७८  कत्तिक २८ देखि मंसिर ४) जम्मा ७ दिनको विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उधृत गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका हुन् जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, ओर्ल्ड़ोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC) आदि। यस लेखको उद्देश्य कोरोना सम्बन्धी तथ्यांकलाई सही रुपमा पस्की विश्व र नेपालको  प्यान्डेमिकको सही चित्रलाई पाठकवर्ग समक्ष पुर्‍याउनु हो।

गतहप्ता पनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि  उतारचढाव हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौं।

दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने  नयाँ संक्रमितहरुको संख्या हो। सन् २०२१ नोभेम्बर १४ देखि २० (बि.सं २०७८  कात्तिक २८ देखि मंसिर ४)  जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण, नयाँ संक्रमण र मृत्युको संख्या चित्र नं. ४  मा प्रस्तुत गरिएको छ। यस लेखमा पिसिआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ताको सात दिन, मंसिर ४ गते शनिबारसम्म, देशभरि जम्मा २११२   जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ८१८७८७ पुगेको छ। साप्ताहिक नयाँ संक्रमण संख्या दुई हप्ताअघि २२५८ थियो। त्यस्तै, साप्ताहिक मृत्यु गतहप्ता २४  रह्यो जुन दुई हप्ताअघि ३२ थियो। गतहप्ता जम्मा ५३५५६ पिसिआर परीक्षण गरियो जुन दुई हप्ताअघि ४९०५९ थियो।

गतहप्ता काठमाडौँ उपत्यकाको औसत साप्ताहिक संक्रमण अनुपात समग्र नेपालको तुलनामा औसतमा ४४.६१ जति देखिएको छ जुन दुई हप्ताअघि ५१.४४% थियो।

दैनिक संक्रमण (पोजिटिभिटी) दर (Positivity Rate)

प्यानडेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएका मध्ये कति जनामा संक्रमण  पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र नं. ५ ले  नेपालको गतहप्ताको दैनिक कोरोना संक्रमण दर देखाएको छ जुन बढ्दै गएको प्रबृत्ति देखिन्छ। गतहप्ता पोजिटिभिटी दर न्यूनतम ३.०३% देखि अधिकतम ५.२१% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ४.१% रह्यो जुन दुई हप्ताअघि ६.२% थियो। नेपालमा पछिल्लो समय औसत साप्ताहिक संक्रमण दर कम हुँदै जाने प्रबृत्ति निरन्तर देखिएको छ जुन सुखद हो।

संक्षेपमा, गतहप्ता नेपालमा नयाँ कोरोना संक्रमण, मृत्यु र संक्रमण दर सबै घट्दै जाने क्रम जारी छ जुन गत हप्ता पनि जारी रह्यो। गतहप्ता PCR परीक्षण पनि प्रसस्त गरियो जुन दुई हप्ताअघिभन्दा बढी थियो। प्रसस्त PCR को बाबजुद साप्ताहिक संक्रमण संख्यामा खासै धेरै वृद्धि नहुनु राम्रो संकेत हो। त्यस्तै सिंगो देशको तुलनामा काठमाडौँ उपत्यकाको औसत साप्ताहिक संक्रमण अनुपात केही घटेको छ जुन काठमाडौँबासीको लागि सुखद कुरा हो।

गतहप्ता दक्षिण एसियामा समग्ररुपमा दैनिक संक्रमण र मृत्युमा कमी आउँदै गएको प्रबृत्ति देखिएको छ।

तर प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल युरोपमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्दछ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ति साबित हुन सक्दछ।

कोरोनाकालमा आफू बच्ने उपाय मात्रै गरे पनि त्यसले अरुलाई पनि बचाउन सकिन्छ। प्यान्डेमिकको यस्तो नाजुक र अनिश्चित अवस्थामा अनुशासित जीवनशैली नै एक मात्र यस्तो हतियार हो जसले विश्वलाई कोरोनामुक्त बनाउन सक्दछ। तसर्थ तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसाथ गर्नु पर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दुरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनाबश्यक भिडभाड नगर्ने आदि साबधानीका कुराहरु कडाइका साथ अपनाउनु पर्ने देखिन्छ। पछिल्लो समय अन्य देशहरुमा संक्रमण फेरि बढ्ने प्रबृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिदैन।

यस लेख नेपालमा साप्ताहिकरुपमा प्यान्डेमिक हेर्ने ऐनाको  रुपमा प्रस्तुत  गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकको बारेमा तथ्यांकले जे देखाउंछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाई हो। जे भए पनि प्यान्डेमिक बिरुद्धको हाम्रो लडाईं जारी छ, होशियारीपूर्बक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

मंसिर ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्