महाधिवेशनका लागि प्रतिनिधि छनौट सकेसम्म सर्वसम्मत गर्न प्रधानमन्त्री देउवाको आग्रह

मोरङ – कांग्रेसको जारी १४ औं महाधिवेशनमा सर्वसम्मत पदाधिकारी चयनका लागि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेका छन्।

सुनसरीस्थित देवानगञ्ज गाउँपालिकाको नवनिर्मित भवन उद्घाटनका क्रममा आइतबार सभापति देउवाले महाधिवेशनअन्तर्गत भइरहेको अधिवेशनमा विभिन्न पदमा सर्वसम्मत चयनका लागि नेता–कार्यकर्तालाई आग्रह गरेका हुन्।

उनले जारी अधिवेशनको आन्तरिक निर्वाचनमा कडा स्पर्धा भइरहँदा नेता तथा कार्यकर्ताबीच असमझदारी हुने बताए। सभापति देउवाले आपसी स्पर्धाले आगामी निर्वाचनमा समेत घाटा हुने प्रस्ट्याए।

उनले भने, ‘अधिवेशनमा कडा प्रतिस्पर्धा हुँदा त्यसको असर आगामी निर्वाचनमा हुन सक्छ। त्यसतर्फ ध्यान दिन आवश्यक छ।’

जारी अधिवेशनमा सक्दो सर्वसम्मत गराउनेतर्फ सबैलाई आग्रह गरेका सभापति देउवाले भने, ‘अधिवेशनमा सहमति हुन नसके स्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्छ। निर्वाचनमा जित हार भए पनि जित्ने हार्नेको बीच दुस्मनी लिनु हँुदैन। यसलाई सहज रूपमा स्पोर्टसम्यान स्पिरिटका रूपमा लिनु आवश्यक छ। जसले पार्टीलाई एक बनाउनसमेत भूमिका खेल्छ।’

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो क्षेत्रमा रहेका समस्या समाधान गर्न सरकार र आफू प्रयासरत रहेको बताए। सो क्षेत्रको शिक्षा, स्वास्थ्य सिँचाइ, कृषि, विकास निर्माणलगायतमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए।

वर्तमान सरकारसमक्ष पूर्ण बजेट नभएको भन्दै प्रधानमन्त्री देउवाले भने, ‘बीपी कोइरालाको समयमा सुरुङ निर्माण भए पनि सुनसरी खोला सिँचाइ योजना सुरु हुन सकेको छैन। अबको सरकारले आउँदो पूर्ण बजेटबाट सिँचाइ बनाउनेतर्फ जोड दिनेछ।’

कार्यक्रममा १ नम्बर प्रदेशका प्रमुख परशुराम खापुुङ, पूूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुुर कार्की, कांग्रेस एक नम्बर प्रदेश संसदीय दलका नेता राजीव कोइरालालगायत सहभागी थिए। कार्यक्रम गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो ।

मंसिर ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्