‘राजनीतिक निर्वाचन तथा अधिवेशनमा पत्रकार सहभागी हुनु सकारात्मक’

मोरङ – नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले पत्रकारको राजनीतिक निर्वाचनदेखि अधिवेशनमा सहभागितालाई लिएर सकारात्मक हुन आग्रह गरेका छन्।

नेपाल पत्रकार महासंघले जारी अधिवेशनका क्रममा पत्रकारको संलग्नताको विषयलाई विज्ञप्ति जारी गरेसँगै महासचिव शिवाकोटीले आइतबार विराटनगरमा पत्रकारसँगको छलफलमा महासंघको विज्ञप्ति प्रोपोगान्डा मात्र भएको बताएका छन्।

राजनीतिक दलसँग निकटता राख्दै आएको पत्रकारिता इतिहास नबिर्सन सुझाव दिँदै महासविच शिवाकोटीले अधिवेशनमा सहभागी भएको भरमा जागिरबाट निकाल्ने धम्की दिएका संस्थालाई कारबाही गर्न चुनौती दिए।

‘विभिन्न दलको जारी अधिवेशनसँग जोडेर सञ्चार प्रतिष्ठानले पत्रकारलाई पेसाबाट बाहिर गराउने प्रकृतिको धम्कीसमेत आइरहेको छ, महासंघले यस विषयमा कुरा राख्न सक्नुपर्छ,’ उनले भने।

महासंघभित्र पनि केही व्यक्ति सक्रिय राजनीतिमा रहँदै गर्दा महासंघमा अटाएको स्मरण गराउँदै शिवाकोटीले महाधिवेशन पहिलोपटक नभएको र विगतमा समेत विभिन्न दलका भ्रातृसंस्थाको रहेका पत्रकार त्यसको प्रतिनिधिसमेत बन्दै आएको बताए।

स्थानीयदेखि प्रदेश तहको निर्वाचनमा पत्रकार प्रचार समितिमा रहेर काम गरेको जनाउँदै उनले ती निर्वाचनमा पत्रकार दलीय उम्मेदवार भएर हिँडेको बताए।

उनले भने, ‘विगतका निर्वाचनमा पत्रकार दलीय राजनीतिमा होमिएका थिए। ती निर्वाचनमा हारेर पुनः यसै पेसामा फर्किएका छन्। उनीहरूको हकमा महासंघले क्षमादान गर्ने कुरा अहिलेको विज्ञप्तिले महासंघको दोहोरो भूमिका छल्किएको छ।’

 

मंसिर ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्