यौटा त्राषद प्रश्न:

के हामी एउटा स्वतन्त्र र सार्वभौम राष्ट्र लायक छौँ ?

. आरम्भ जापानबाट गरौँ

जुलाई ८, १८५३मा एक अमेरिकी जल सैनिक अधिकारी कमोडोर मेथ्यु पेरी चार अमेरिकी लडाकु पानी जहाजसहित इडो  (टोकियो) खाडी नजिकको उरागा बन्दरगाहमा लङ्गुर हालेर  बस्यो ।

पेरी अमेरिकी राष्ट्रपति  मिल्लार्ड फिल्ल्मोरको पत्र लिएर आएका थिए ।

क्यालिफोर्निया अमेरिकी नियन्त्रणमा आएपछि ऊ  प्रशान्त महासागर क्षेत्रको समेत मुलुक बनेको थियो ।

प्रशान्त क्षेत्रका मुलुकहरूसँग  व्यापार प्रवर्द्धन गर्ने र सम्बन्ध विस्तारको क्रममा पेरी जापान आइपुगेका थिए ।

जापानका शासकहरू  आफूलाई  संसारको श्रेष्ठ  र सर्वशक्तिमान जाती र मुलुक मान्दथे ।

जापानीहरू आफूलाई स्वर्गीय साम्राज्य मान्दथे,राजाहरू आफूलाई  ईश्वरको प्रतिनिधि मान्दथे ।

तर कहिल्यै नदेखेको , नसुनेको पुत् पुत् धुँवा फाल्ने विशाल जाहाजहरू  देखेर शासक समूह अताल्लिए र अमेरिकी हरूसँग उनीहरुकै शर्तमा सम्झौता गर्न राजी भए ।

जापानीहरूको मन रोयो ।

चित्त कटक्क काटियो ,फाट्यो, मुटु पोल्यो !

बुझे – संसार कहाँको कहाँ पुगिसकेछ, हामी त सपनामा पो रहेछौँ, भ्रममा रहेछौँ , झूठमा रमाइरहेका रहेछौँ ।

ठहर गरे – यसको कारण हाम्रो अज्ञानता हो ! अशिक्षा हो !

अनि जापानले संसारभर आफ्ना अधिकारीहरू र विज्ञहरू पठायो । तिनीहरू गए -युरोप गए । अमेरिका गए । त्यहाँबाट ज्ञान-विज्ञानका हजारौँ पुस्तक लिएर आए । प्रेस लिएर आए । ती पुस्तकहरूलाई जापानी भाषामा अनुवाद गराए । केही वर्षभित्रै विश्वको सबैभन्दा बढी पुस्तक छाप्ने मुलुक बन्यो जापान !

स्कूल, खोले, कलेज र विश्व विद्यालय खोले । त्यही क्रममा टोकियो विश्वविद्यालयको स्थापना भयो ! उद्योग धन्दा, व्यापार -व्यवशायको तीव्र विकास गरे ।

महिला र पुरूषहरूलाई व्यापक नागरिक स्वतन्त्रता र अधिकार दिइयो । महिलाहरूलाई जापानको सबैभन्दा अग्लो माउन्ट फुजी आरोहर गर्ने अनुमति दिइयो ।

टोकियोदेखि योकोहामा सम्मको रेल सेवा आरम्भ भयो । दोस्रो विश्व युद्धमा जापान नराम्रोसँग पराजित भयो ।

एसिया र प्रशान्त क्षेत्रकालागि मित्रराष्ट्रहरूको तर्फबाट सर्वोच्च सैनिक कमान्डर रहेका अमेरिकी जनरल डग्लस म्याकआर्थरका दुई कनिष्ठ अधिकारीहरूले लेखिदिएको संविधान नै आजको जापानको संविधान हो ।

मुलुकमा अमेरिकी सेनाको उपस्थिति छ । संविधान अर्कैले बनाइदिएको छ । तर जापानीहरूले त्यसमा रडाको गरेर बसेनन् ।

ठिक छ, हाम्रो सुरक्षा तिमी गर हामी तिमीसँग समृद्धिमा प्रतिष्पर्धा गर्छौँ, विकासमा गर्छौँ, जनतालाई प्रदान गरिने सेवा र सुविधामा गर्छौँ भने ।केही रकम विश्व बैंकबाट ऋण लिए ।

त्यही ऋणले करिव २० वर्षको अवधिमा अमेरिकालाई टक्कर दिने संसारको दोस्रो ठूलो अर्थतन्त्र बन्यो जापान !

. सन्दर्भमा चीन र भारत

जापान भन्दा धेरै ठूलो आकार, साधन र जनसंख्या भएको देङ्ग नेतृत्वको  चीनले मेथ्यु पेरी अभियान पछिको जापानले जस्तै गरेर शिक्षा , उद्योग, व्यवशायमा असामान्य प्रगति गर्यो ।

दोस्रो विश्व युद्ध  पछिको जापानले   जस्तै विश्व बैंक , मुद्रा कोश, एसियाली विकाश बैंक ऋण लियो । ऋणको सदुपयोग  गर्यो !

माओ शासनकालमा मात्रै पनि नियमित अनिकालले करोडौँ मानिस  मारिरहने, गरीव चीन आज संसारको दोस्रो ठूलो अर्थतन्त्र बनेको छ । आज आफै वैकल्पिक विश्व बैंक बनाउने भएर लागेको छ ।

युरोप, जापान, अमेरिका, दक्षिण कोरियाबाट सिक्यो, सहयोग लियो, आज उनीहरूलाई टक्कर दिने क्षमता आर्जन गरेर बसेको छ ।

प्राचीन भारतको कुरा नगरौँ हालकै भारतको कुरा गरौँ –

भारत स्वतन्त्र हुनुभन्दा  २०-३० वर्ष अघि नै त्यहाँ बनारस हिन्दु विश्वविद्यालय, दिल्ली विश्वविद्यालय, अलिगढ़ मुस्लिम विश्वविद्यालय, जामिया मिल्लिया इस्मालिया विश्वविद्यालय , पटना विश्वविद्यालय जस्ता दर्जनौ विश्वविद्यालयहरू स्थापना भैसकेका थिए ।

अझ कलकत्ता ,मद्रास र  मुम्बई विश्व विद्यालयहरू जस्ता कतिपय  त भारत स्वतन्त्र हुनुभन्दा झन्डै १०० वर्ष अघि स्थापना भएका थिए  । भनिरहनु परेन, वर्तमान भारतको संविधान सभाको निर्वाचन र गठन अङ्ग्रेज शासनले नै गरेको थियो । झगडा गरेर बसेनन् भारतीयहरू संविधान सभाको लागि ! अनि त बन्यो वर्तमान भारत !

. हामीले न  अरूको अभ्यास र अनुभवबाट सिक्यौँ न आफ्नै अनुभवबाट

अमेरिका स्वतन्त्र हुनुभन्दा सवा सय वर्ष भन्दा अघि हार्वर्ड जस्ता विश्व विद्यालयहरू  स्थापना भैसकेका थिए । प्रजातन्त्र र स्वतन्त्रता जस्ता शव्द र तिनले बोक्ने मूल्यहरूबारे बेलायती जनताले जान्नु भन्दा अघि त्यहाँ अक्सफोर्ड , क्याम्ब्रिज लगायतका विश्व विद्यालयहरू स्थापना भइसकेका थिए ।

अमेरिकी र ब्रिटिस जनतालाई प्रजातन्त्र र स्वतन्त्रताका मूल्यहरू त्यहाँका शिक्षण सँस्थाहरुले सिकाए । पार्टी नेताले सिकाएका होइनन !विकास र समृद्धिको नारा दलको घोषणा पत्रद्वारा, चुनावी सभामा जनताले सुनेका होइनन्  ।

हामी सधैँ स्वाधीन रहेका र कसैको उपनिवेश नरहेको दाबी गर्छौँ ।

एक्काइसौँ शताव्दीमा आएर जनताका स्थापित राजनीतिक दलका प्रतिनिधि समेत बसेर राष्ट्रिय सहमतिको नाउमा बनेको संविधान अनुसार निर्वाचित प्रजातान्त्रिक सरकार र प्रणाली विरूद्ध मध्ययुगीन बर्बरता प्रदर्शन गरेर हजारौँको हत्या गरेर आएको व्यवस्था आएको र मुलुकमा गणतन्त्र आएको पनि डेढ दशक भन्दा बढी भयो ! के नाप्नु भयो ?

सयौं पटक विदेशको यात्रा गरेर आउनुभयो होला, त्रिभुवन विमान स्थलमा झर्ने बित्तिकै, इमिग्रेसन हलमा पस्ने बित्तिकै, शौचालयको नजिक पुग्ने बित्तिकै, ट्याक्सी लिने बित्तिकै, शहरमा प्रवेश गर्ने बित्तिकैको फरक देख्नु हुन्न ?

यत्ति नै अवधिमा जापान, दक्षिण कोरिया, ताइवान,सिङ्गापुरले  असाधारण  प्रगति गरे । अफ्रिकाका   बोत्स्वानाका राष्ट्रपति सेरेत्से खमाले त्यति नै अवधिमा समृद्ध राष्ट्र बनाएर दुनियालाई “हेर” भनेर  देखाइदिए ।

जातीय युद्धमा लाखौँ मारिए, खेती, उद्योग व्यापार सवै ध्वस्त भयो तर त्यही  रवाण्डाका राष्ट्रपति पाउल काग्मेले यतिनै अवधिमा आफ्नो मुलुकलाई स्थीर, शान्त र उन्नतिशील मात्रै नभएर युरोप र अमेरिका बिर्साउने विकाश संरचनाहरू खडा गरेर देखाइदिए ।

अबुधावीका रास्ट्रपति शेख जायद  सुल्तान, दुबईका शासक शेख रसीद, कतारका अमीर  शेख हमाद बिन खलिफाहरूले  सम्भावना हीन मरुभूमि प्रदेशलाई संसारकै समृद्ध र विश्व भरीका पर्यटक हरूको प्रमुख गन्तव्य राष्ट्र बनाएर देखाइदिए ।

माथिका मुलुकका शासकहरूले कुनै ठूलो कुरा गरेका होइनन् । उनीहरू मुलुकप्रति निष्ठावान भइदिए, जनताको  आवश्यकता र मुलुकको प्राथमिकता बुझेका थिए -उनीहरूले ।

जनताकाको विवेक र स्वाभिमानको नेतृत्व गरे । जनताको उर्जालाई आफ्नो उर्जा बनाए अनि त्यही उर्जालाई राष्ट्र र जनतामा प्रवाहित गरे । पथ प्रदर्शक बने । जनताका आदर्श बने । जे गर्नु पर्थ्यो एउटा शासकले त्यही गर्ने इमान्दार प्रयाश गरे बस ।

सधैँ स्वाधीन, सधैँ स्वतन्त्र ? के को लागि ?

भीमसेन थापा, रणबहादुर शाह, राजेन्द्र, सुरेन्द्र, बीर समशेर, गिरिजा प्रसाद, प्रचण्ड, बाबुराम, माधव नेपाल,उपेन्द्र यादवहरूका लागि ?

जनता कहाँ छन् यो सधैँको स्वतन्त्र र स्वाधीन राष्ट्रमा ?

के जनताले न्याय पाएका छन् ?

निश्चित र सार्वभौम सुरक्षा पाएका छन् ?

राज्यको औचित्य सावित गर्ने र गराउने सेवा र सुविधा पाएका छन् ?

विना कुनै  भेदभाव र पक्षपात योग्यता र क्षमताको बलमा राज्य अवशरहरू जनतालाई  उपलव्ध छन् ?

वीपी, सुवर्ण, पुष्पलाल, शुक्रराज शास्त्रीहरू,गणेशमान, कृष्णप्रसाद भट्टराई  मदन भण्डारीहरूका लागि त नेपाल सधैँ त्यस्तै रह्यो । संसारका धेरै दुर्गम जङ्गली क्षेत्रमा अझै पनि  कहिल्यै कसैको अधिनमा नरहेका धेरै जङ्गली  मानव जातीहरू  छन् ।

तिनीहरू पनि यस्तै दाबी गर्लान् -सधैँ स्वतन्त्र रहेको , कसैको अधीनमा नरहेको !

कुनै कानुनको , कुनै विधानको , कुनै अनुशासनको र कुनै मर्यादाको अधीनमा नारहेका असभ्य र जङ्गली   जाती थुप्रै छन् -संसारमा !

संसारको सबैभन्दा प्राचीन देश हामी रे !

यस्तो पुरानो देश कसरी चल्यो, कुन नीति, नियम, शासन विधान अन्तर्गत चल्यो !

छ त्यस्तो  हाम्रो कुनै शासन संचालनको विधि र पद्धतिको प्राचीन, मध्यकालीन   र आधुनिक युगको कुनै खाका ?

. त्यसैले प्रश्न होके हामी एउटा स्वतन्त्र र सार्वभौम राष्ट्र लायक छौँ ?

अमेरिकाको स्वतन्त्र हुनुभन्दा अलि महिना अघि  हामी पनि एक राष्ट्र बन्यौँ ! स्वतन्त्र भए पछिका राज्य संचालनका विधि र पद्धतिबारे नेतृत्व समुदाय माझ भएका हरेक छलफल र निर्णयहरू उनीहरूसँग छ । त्यसपछि आजसम्मका पनि सबै छन्  ।

कुन मुलुकसँग कहिले कुन विषयमा के पत्राचार भयो,के कुराकानी भयो  ती पनि  सबै सुरक्षित छन् । भारत, बेलायत, फ्रान्स, जर्मनी सबैसँग त्यस्ता दस्तावेज छन् ।

हामीसँग एउटा पृथ्वीनारायण शाहको आफ्ना भाइ -भारदारहरूकालागि दिएको  व्यक्तिगत सन्देश छ । हाम्रो मुलुकको वर्तमान सीमा निर्धारण गर्ने सुगौली सन्धिको मूलप्रति हामीसँग छैन । नेपालको सार्वभौम सत्तालाई सर्वप्रथम आधिकारिक मान्यता दिने अन्तर्राष्ट्रिय सन्धिको रूपमा रहेको १९५० को सन्धि हामीसँग छैन ।

१९६५ मा भारतसँग गरेको हात हतियार  सन्धि पनि हामीसँग छैन ।

प्रचण्ड र बाबुरामले भारत सरकार समक्ष गणतन्त्रको मूल्यमा र आफूहरूको विद्रोहलाई समर्थन र सहयोगको मूल्यमा  भारतको सुरक्षाहीतलाई सघाउने प्रतिवद्धता पत्र पनि नेपाल राष्ट्रसँग छैन ।

अस्ती भर्खर ठूलो दाबी र प्रचारका साथ भएको भनिएको चीन सँगको बी आर आई सम्झौता वा सन्धि पनि नेपाल सरकारसँग छैन ?

६२-६३को आन्दोलन ताका भारतीय विदेश सचिवले  नेपाली सेनाको मुख्यालयमा पुगेर तत्कालीन सैनिक नेतृत्वलाई कसरी के भनेर आत्मसमर्पण गराए , त्यसको जानकारी युक्त विवरण पनि नेपाल सरकारसँग छैन ।

उक्त आन्दोलनकै क्रममा  युरोपका राजदूतहरु र गिरिजाप्रसाद काेइरालाका बीचको सहमति बारे पनि नेपाल सरकार जानकार छैन । हुँदा हुँदा ठूलो त्याग र बलिदानको परिणाम मा आएको भनिएको वर्तमान संविधानका बारे संविधान सभामा त्यसका सदस्यहरू बीच भएको छलफल र निष्कर्षको विवरण पनि हामीसँग छैन ।

एउटा राष्ट्र को परिचय दिने आधिकारिक दस्तावेजहरूनै हामीसँग छैनन् ! यौटा प्राइभेट कम्पनी पनि यसरी चल्दैन !

यो  नेपालको शासक समुदायको चरम लापरवाही, उत्तरदायित्वविहीनता,असक्षमता  कायरता र  पाखण्डको परिचय हो । यसले हाम्रो स्वतन्त्र र सार्वभौम हैसियतलाई न्याय गर्दैन !  त्यसैले प्रश्न हो — के हामीले  हाम्रो स्वतन्त्र र सार्वभौम हैसियतलाई न्याय गर्ने र वैधता दिने राज्य निर्माण गरेका छौँ ?

अझ त्राषद प्रश्न – के हामी एउटा स्वतन्त्र र सार्वभौम राष्ट्र लायक छौँ ? छैनौँ , होइनौँ, बनेनौँ तर नबनी सुख्ख छैन ! त्यसको मार्ग चित्र कोर्न धेरै ढीला भइसकेको भने हो ।

मंसिर ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्