छोराले चाबी लगाएर हिँडेको कोठाभित्र तीन दिनपछि आमाको शव

सांकेतिक तस्बिर।

काठमाडौं- प्रहरीले चाबी लगाएको कोठाभित्र भेटिएको महिलाको शवबारे अनुसन्धान गर्न उनका छोरालाई पक्राउ गरेको छ।

केही दिन अघि कीर्तिपुरको राराहिलमा एक कोठाभित्र महिलाको शव भेटिएको थियो। घरमा दुर्गन्ध फैलिएपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए। कोठामा चाबी लगाएका कारण प्रहरीले मृतक महिलाका छोराको खोजी सुरु गरेको थियो। उक्त कोठामा ६० वर्षीया मिरा कार्की, छोरा ३० वर्षीय सुर्यसँग बस्दै आएकी थिइन्।

काठमाडौं प्रहरीको टोलीले सुर्यलाई सिनामंगलको एक होटलबाट पक्राउ गरेको थियो। सुर्य इन्जिनियर हुन्। अनुसन्धानमा खटिएका प्रहरीका अनुसार आमाको मृत्यु भएपछि आफु विरक्त लागेर कोठामा चावी लगाई हिँडेको सुर्यले बयान दिएका छन्।

‘आमा प्रेसर र सुगरको बिरामी हुनु हुन्थ्यो। तर मैले प्रयोग गर्ने गरेको स्लिपिङ ट्याब्लेट खानु भएछ। आमाको मृत्यु भएको थाहा पाएपछि मनै विरक्तियो। त्यसपछि कोठामा चाबी लगाएर हिँडे’, सुर्यको भनाई उदृत गर्दै एक अनुसन्धान अधिकारीले भने। प्रहरीका अनुसार उनी त्यहाबाट निस्किएर होटलमा बसेका थिए। होटलमा उनले तीन दिनसम्म मदिरा र चुरोट मात्र सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनले आफन्तले फोन गरेर मिराबारे सोध्दा ‘बाहिर जानु भएको’ भनेर जवाफ दिने गरेको र घरिघरि मोबाइल स्विच अफसमेत गर्ने गरेको प्रहरी अधिकारी बताउँछन्।

‘शव षड्न लागेको अवस्थामा फेला परेकाले मृत्युको कारण पोष्ट मार्टम र भिसेरा परिक्षणबाट मात्र थाहा हुन्छ’, ती अधिकारीले भने। तर सुर्यको प्रारम्भिक बयान पत्याउन सकिने अवस्थाको नरहेको अधिकारीहरु बताउँछन्। मिराका श्रीमानको यसअघि नै मृत्यु भइसकेको र दुई सन्तानमध्ये छोरी विराटनगरमा बस्ने गरेको प्रहरीले जनाएको छ।

मंसिर ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्