कांग्रेस क्षेत्रीय अधिवेशनः मोरङका दुई क्षेत्रमा सर्वसम्मत

मोरङ – कांग्रेसको १४आँै महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा मोरङका दुई क्षेत्रमा सर्वसम्मत भएको छ।

जिल्लाका पार्टी सचिव मोदराज घिमिरेका अनुसार क्षेत्र नम्बर १ मा शंकर राई र क्षेत्र नम्बर ५ मा जीवछ गच्छदार सर्वसम्मत भएका हुन्। पौडल कोइराला पक्षधरका शंकर राई लेटाङ नगरपालिकाका मेयरसमेत हुन्।

सभापतिका लागि उनको मात्र उम्मेदवारी परेको थियो। त्यसैगरी, क्षेत्र नम्बर ५ मा पूर्व क्षेत्रीय सचिव गच्छदार सभापति भएका हुन्। गच्छदार अमृत अर्याल पक्षधर हुन्।

त्यसैगरी, क्षेत्र नम्बर २ मा सर्वसम्मतको प्रयास भइरहेको सचिव घिमिरेले जानकारी दिए। मीनेन्द्र रिजालको क्षेत्र भएको हुँदा सभापतिका लागि ५ जना आकांक्षी देखिएका थिए। यद्यपि, पौडेल कोइराला पक्षका नागेश्वरप्रसाद सिंहलाई सर्वसम्मत हुने सम्भावना बढिरहेका छन्।

क्षेत्र नम्बर ३ मा सभापतिका लागि गणेश खड्का र राजेन्द्र ढकालबीच मंगलबार मतदान हुनेछ। खड्का पौडेल कोइराला पक्षका हुन्।

त्यसैगरी, क्षेत्र नम्बर ४ मा विनोद बस्नेत र वसन्त हुमागाईं छन्। दुवै महेश आचार्य पक्षधर हुन्। क्षेत्र नम्बर ६ मा देवराज तामाङ र चेतराज रेग्मीबीच स्पर्धा हुने भएको छ। तामाङ पौडेल कोइराला पक्षका हुन्।

क्षेत्र नम्बर ६ सोमबार मतदान केन्द्रको विषयमा विवाद हँुदा उम्मेदवारी मनोनय दर्ता हुन सकेको छैन। जिल्ला निर्वाचन अधिकृत केदार कार्कीका अनुसार बेलुका अबेर मतदान केन्द्रको विषयमा टुंगो लागेको छ।

जसअनुसार क्षेत्र नम्बर ६ को मनोनयन र मतदान मंगलबार बूढीगंगा गाउँपालिकाको बाँसबारीस्थित जनप्रिय माविमा हुनेछ।

मंसिर ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्