प्रदेश १ : दुई महिनामा दुई करोड रुपैयाँ बराबरको अवैध सामान बरामद

विराटनगर – प्रदेश १ मा विगत २ महिनाको अन्तरमा करिब २ करोड रुपैयाँ बराबरको अवैध समान बरामद भएको छ।

प्रदेश १ स्थित सशस्त्र प्रहरी बलका अनुसार विभिन्न जिल्लाबाट नेपालबाट भारत र भारतबाट नेपालतर्फ ओसारपोसार भएका अवैध समान १ करोड ९८ लाख ३८ हजार रुपैयाको चिनी, कपडा, सूर्ति तथा अन्य किराना सामग्री बरामद भएका हुन्।

सशस्त्र प्रहरी बल प्रदेशका प्रमुख डिआइजी कमल गिरीका अनुसार विगत २ महिनाभित्र इलामबाट २६ लाख ६२ हजार ४ सय १०, झापाबाट ७७ लाख ४४ हजार ७ सय ५१, मोरङबाट ३४ लाख ८६ हजार ९ सय ८९ र सुनसरीबाट १३ लाख २१ हजार ५६ रूपैयाँ बराबरको सामग्री बरामद गरिएको छ।

बरामद भएका सामग्री आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाउन गरिएको उनले बताए। यस क्रममा इटहरीस्थित १ नम्बर बराह बाहिनीको टोलीले समेत ४६ लाख २ हजार रूपैयाँ बराबरको तस्करीका सामग्री नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीका अनुसार १ सय ९१ किलोग्राम गाँजा, १३ पिस ट्रामाडोल, १६ ग्राम तीन मिलिग्राम खैरो हिरोइन, ४ सय ९२ ट्याब्लेट नाइट्रोजेपाम, ४२ बोतल इस्कुफ, ९५ एम्पुल लुपिजेसिक, १८ एम्पुल डाइजापाम, १८ एम्पुल फेनारगन, १० पत्ता नाइट्रोसन, ४१ एम्पुल एभिल र एक सय ५९ ट्याब्लेट स्पास्मोप्रोक्सिभन बरामद भएको छ।

यसबीच प्रहरीले हात्तीको ४ इन्चको दाह्रासमेत बरामद गरेको छ। जनवारको अवैध तस्करी हुने क्रम बढेको जनाउँदै सशस्त्रले दुईवटा अजिङ्गरको उद्धार गरेर वन कार्यालयमा बुझाएको छ। त्यसैगरि, सशस्त्रले झापाबाट तस्करी गरिएका र्२ लाख ९४ हजार पाँच सय ७४ रूपैयाँ बराबरको ६१ दशमलव ९२ क्यूफिट काठ र तस्करीमा प्रयोग भएको ६ लाख २५ हजार मूल्य बराबरको ट्रयाक्टर समेत नियन्त्रणमा लिएको छ ।

असोज पहिलो साताबाट प्रदेशको सुरक्षाको जिम्मेवारीवहन गरेका सशस्त्रका डिआइजी गिरीले राम्रो काम गर्नेलाई प्रोत्सहान गरिने र गलत गर्नेलाई कारवाही गरिने जनाएका छन्।

मंसिर ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्