बुल्गेरियामा बसमा आगलागी हुँदा कम्तीमा ४५ जनाको मृत्यु

बसमा आगलागी भएको क्षेत्र नजिकै सञ्चारकर्मी तथा प्रहरी पुगेका छन् । तस्बिर : रोयटर्स

बुल्गेरियामा यात्रु बसमा आगलागी हुँदा कम्तीमा ४५ जनाको ज्यान गएको छ । बुल्गेरियाको पश्चिमी क्षेत्रको राजमार्गमा बसमा आगलागी हुँदा ठूलो मानवीय क्षति भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नेपाली समय अनुसार मंगलबार बिहान पौने ६ बजेतिर घटना भएको हो । बोस्नेक गाउँ नजिक बसमा आगलागी भएको बुल्गेरियाको आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था बिटिएले जनाएको छ ।

आगलागीमा परी मृत्यु हुनेमा बालबालिका पनि रहेको आन्तरिक मामिला मन्त्रालयका अधिकारीले निजी टेलिभिजन च्यानल बिटिभीलाई बताएका छन् ।

आगलागी भएको बस टर्कीबाट उत्तरी मेसेडोनियाका लागि छुटेको जनाइएको छ । बसको नम्बर प्लेट उत्तरी मेसेडोनियाको रहेको खबरमा उल्लेख छ ।

उत्तरी मेसोडोनियाका प्रधानमन्त्री जोरान जाएभले बुल्गेरियन समकक्षीसँग घटनाबारे छलफल गरेको बिटिभीले जनाएको छ।

मंसिर ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्