यता वैद्यखानाको बिजोग, उता देउवाको मन पतञ्जलिमा

काठमाडौँ– सामान्यतया: सरकारी कार्यालय बिहान १० बजे खुल्छन्। र कामकाज सुरु हुन्छ। तर मंगलबार बिहान ११ बजेसम्म पनि सिंहदरबार वैद्यखानाको प्रशासन शाखा खुलिसकेको थिएन। गेटमा ठूलो ताल्चा झुण्डिएको थियो। कार्यलयको समयमा पनि सुनसान थियो, वैद्यखाना।

‘अफिसमा अहिले समस्या भइरहेको छ। तर यो समस्या चाँडै समाधान हुन्छ’, वैद्यखानाका निमित्त कार्यकारी निर्देशक डा. सबरी साहले सुरुमै स्पष्ट पार्न खोजे।

वाक्य नटुङ्गिदै उनले फेरि थपे, ‘उहाँहरु (वैद्यखानाका कर्मचारी) मा अन्सेक्यूर भइन्छ कि भन्ने डर छ। उत्पादन कम भएपछि आम्दानी स्वतः कम भयो। आम्दानी कम भएपछि बन्द भएका विभिन्न कारखानाजस्तै वैद्यखाना पनि बन्द हुन्छ कि भन्ने डर अहिले कर्मचारीहरुमा भइरहेको छ।’

वैद्यखानाका कर्मचारी करिब ५ महिनादेखि आन्दोलित छन्। लामो समयदेखि आन्दोलित उनीहरुलाई सरकारले बेवास्ता गरेपछि मंगलबारदेखि प्रशासकीय कामकाज ठप्प हुने गरी प्रशासन बन्द गरेका छन्।

वैद्यखानाका निमित्त कार्यकारी निर्देशक डा. सबरी साह।

यो भन्दा अगाडि उनीहरु हातमा कालो पट्टि बाँधेर विरोध जनाउँदै आएका थिए। आफूहरुले गरेको विरोधलाई बेवास्ता गरिएपछि आफूहरु प्रशासनामा ताला लगाउन बाध्य भएको आन्दोलनमा सहभागी डा. विनोद साहले बताए।

कुनै समय डेढ सयभन्दा बढी औषधि उत्पादन हुने वैद्यखानामा अहिले २५ देखि ३० प्रकारका औषधि मात्रै उत्पादन हुने गरेका छन्। वैद्यखाना स्थापना हुँदा दक्षिण एसियाकै ठूलो आयुर्वेदिक औषधि उत्पादन केन्द्र थियो। तर पछिल्लो समय वैद्यखानाको स्थिति झन्–झन् नाजुक बन्दै गएको छ।

प्रविधिले जति नै फड्को मारे पनि वैद्यखानाका उपकरणहरु पुरानै छन्। नयाँ उपकरण खरिदका लागि वैद्यखानासँग प्रयाप्त बजेट नभएको डा. सबरीले बताए।

उनले भने, ‘औषधि उत्पादनका लागि प्रयोग हुँदै आएका उपकरण धेरै पुराना छन्। जसले गर्दा औषधि उत्पालनमा ह्रास आएको छ। नयाँ उपचारण भित्र्याउनका लागि हामी आर्थिक हिसाबले कमजोर छौँ। सरकारले चासो देखाएको छैन।’

वैद्यखानाले उत्पादन गर्दै आएका विभिन्न आयुर्वेदिक औषधिमध्ये सबैभन्दा लोकप्रिय मानिन्छ, ‘च्यवनप्राश’। पछिल्लो सयम यसको उत्पादनमा समेत कमि आइसकेको छ। पहिलो चरणको कोभिड संक्रमणका बेला यसको उत्पादन ह्वात्तै घटेको थियो। अहिले भने ‘च्यवनप्राश’लाई पहिलो प्राथमिकतामा राखेर उत्पादन गरिरहेको डा. सबरीले बताए।

उनले भने, ‘यो वर्ष हामीले ३० देखि ४० लट च्यवनप्राश उत्पादन गर्ने योजना बनाएका छौँ। अहिलेसम्ममा ४ लट बनिसकेको छ। एक लट आज बन्दै छ। आर्को लट भोलि बन्छ। साढे तीनदेखि चार लटको लागि अमला आइसकेको छ। १० लटका लागि कच्चा पद्धार्थ आइसकेको छ। एक लटमा हामी साढे पाँच सय किलो उत्पालन गर्छौँ’, उनले भने,‘गएको वर्ष च्यवनप्राश एकदमै कम उत्पादन भएको थियो। र त्यो भन्दा अगाडिको वर्ष पनि कम उत्पादन भएको थियो। तर यो वर्ष प्रशस्त मात्रामा च्यवनप्राश पाइने छ।’

डा. शाहका अनुसार वैद्यखानाले अहिले अन्य औषधिभन्दा पनि च्यवनप्राशलाई प्राथमिकता राखेर काम गरिरहेको छ। अन्य कम्पनीहरुले सुकेको अमलाबाट च्यवनप्राश बनाउँदै आए पनि वैद्यखानाले आलो अमलाबाट च्यवनप्राश बनाउँदै आइरहेको उनले दावी गरे।

उनले भने, ‘प्रतिस्पर्धाको हिसाबले हामीले पुस १५ अगाडि नै उत्पादन गरिसक्नु पर्नेछ। पुस १५ पछि अमलाको सिजन सकिन थालेपछि भाउ बढ्दै जान्छ। र, महङ्गो पर्न जान्छ। महङ्गो पर्न गयो भने त्यो राम्रो मानिँदैन। त्यसैले अहिले अन्य औषधिभन्दा पनि च्यवनप्राशलाई बढी जोड दिएका छौँ। यसको काम सकिएपछि सुकेका जडिबुटिबाट बन्ने औषधि उत्पादनको काम सुरु गर्नेछौँ।’

एउटै उत्पादनको भरमा मात्रै टिकिरहेको छ वैद्यखाना भन्दा पनि खासै फरक भने नपर्ला। आजभोलि लामो समयदेखि च्यवनप्राशको सेवन गरिरहेका व्यक्तिहरु मात्रै धेरैजसो त्यहाँ पुग्ने गरेको पाइन्छ।

आयुर्वेदिक कम्पनीहरुको सूचीबाट वैद्यखानाको स्थान वर्षेनी ओरालो झर्दै गर्दा यसलाई प्रवद्धन गर्नुको साटो सरकारले आफ्नो दायित्वबाट मुख मोड्दै आयुर्वेदिक कम्पनी पतञ्जलीलाई बिना लगानी जग्गा दिने घोषणा गरेको छ।

पतञ्जलीलाई जग्गा दिने घाषणा गरेसँगै केही दिनयता सरकारको चर्को आलोचना भइरहेको छ।

बजार व्यवस्थापन र सरकारको बेवास्ताका कारण अनामनगरस्थित वैद्यखानाका उत्पादन विस्तारै ओझेल पर्दै गएका छन्। करिब चार सय वर्षको इतिहास बोकेको सिंहदरबार वैद्यखानाको परिहचान विस्तारै मेटिँदै गएको छ।

राजा प्रताप मल्लको पालामा वैद्यखाना स्थापना भएको थियो। सुरुमा वैद्यखाना हनुमानढोका दरबारमा थियो। प्रधानमन्त्री जंगबहादुर राणाको पालामा थापाथली सारियो। त्यसपछि वैद्यखानालाई चन्द्र शमशेरले सिंहदरबारमा सारे।

र त्यसयता वैद्यखाना ‘सिंहदरबार वैद्यखाना’का नामले परिचित भयो।

२०५२ सालदेखि वैद्यखाना विकास समितिबाट सञ्चालित हुँदै आइरहेको छ। वैद्यखाना नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय हो।

मंसिर ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्