एमालेमा ओलीको वरिष्ठ उपाध्यक्ष र महासचिवका उम्मेद्वार को?

वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामबहादुर थापा, ईश्वर पोखरेल र सुवास नेम्वाङ।

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार महाधिवेशनबारे जानकारी दिँदै मिडियासँग भने, ‘मैंले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव सर्वसम्मत भएको वा धेरै मत ल्याएर निर्वाचित भएको हुन्छ।’ सँगै ओलीले आफूले सर्वसहमतिका लागि कोसिस समेत नगर्ने सार्वजनिक अभिव्यक्ति दिए।

उनले भने, ‘म करकाप गरेर सहमति कायम गर्ने पक्षमा छैन। अब पक्षको व्यवस्थापनमा अल्झिने होइन। भोट ल्याएर जित्ने नै व्यवस्थापन हो।’

ओलीले सबै पदमा प्रतिस्पर्धा गराउने बताए पनि यो सार्वजनिक खपतका लागि मात्रै हो भन्ने बुझ्न कठिन छैन। आसन्न दशौँ महाधिवेशनमा अध्यक्ष ओली अनुकुल प्रतिनिधि आएका छन् र उनको इच्छाअनुसार नै पार्टीमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म निर्वाचित हुनेछन्।

नेतृत्व चयनमा मात्रै केन्द्रित हुने महाधिवेशन पार्टीको वरिष्ठ उपाध्यक्ष र महासचिवमा ओलीले कोप्रति सद्भाव राख्छन् भन्ने सर्वाधिक चासो छ।

वरिष्ठ उपाध्यक्षमा अहिलेका महासचिव ईश्वर पोखरेल, माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादल र ओलीकै विश्वास पात्र सुवास नेम्वाङले दाबेदारी प्रस्तुत गरेका छन्।

bishnu_paudel_shankhar_pokhrel_surendra_pandey
महासचिव पदका उम्मेद्वारहरु शंकर पोखरेल, विष्णु पौडेल र सुरेन्द्र पाण्डे।

पोखरेल र थापा यसअघि नै वरिष्ठ उपाध्यक्षमा आकांक्षा देखाएका थिए भने नेम्वाङले मंगलबार मात्रै केही मिडियामार्फत मुख खोलेका छन्।

तीन मध्ये ओलीले ईश्वर पोखरेललाई नै वरिष्ठ उपाध्यक्ष बनाउने सम्भावना रहेको उनी निकट स्रोत बताउँछ। ‘अहिलेसम्म यहीँ नै हो भन्ने त भइसकेको छैन। तर वरिष्ठ उपाध्यक्ष पद ईश्वर कमरेडकै लागि सिर्जना गरिएको हो भन्ने हाम्रो बुझाइ छ,’ एक नेताले भने।

भीम रावललाई पनि वरिष्ठ उपाध्यक्षको उम्मेद्वारको रुपमा हेरिए पनि उनले अध्यक्षमै प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन्।

त्यस्तै महासचिवमा पनि ओलीका विश्वासपात्रहरु विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङका साथै कुनै बेला कट्टर आलोचक रहेका सुरेन्द्र पाण्डेले पनि आकांक्षा देखाएका छन्। महासचिवमा ओलीले पौडेल र पोखरेलमध्ये एकलाई अघि सार्ने सम्भावना प्रबल रहेको एमाले नेताहरु बताउँछन्।

दशौँ महाधिवेशनमा एमालेले १५ पदाधिकारीसहित २२५ सदस्यीय केन्द्रीय कमिटीको चयन गर्दैछ जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्षसहित अरु चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सातजना सचिव चयन हुनेछन्।

मंसिर ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्