नेपालबाट चोरी भएको चारसय वर्ष पुरानो मूर्ति लण्डनस्थित निजी ग्यालरीमा

काठमाडौँ – नेपालबाट चोरी भएको चार सय वर्ष पुरानो दाताको मूर्ति बेलायतको एक ग्यालरीमा भेटिएको छ।

काठमाडौँको मञ्जुश्री टाेलमा रहेकाे  यंगालबाट सन् १९८० को दशकमा चोरी भएको घुँडा टेकेको मुद्रामा रहेको दाताको ढुंगाको मूर्ति बरकत ग्यालरीको लण्डन शाखामा भेटिएको हो।

नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचानमा सक्रिय रहँदै आएको ‘लस्ट आर्टस् अफ नेपाल’ ले बुधबार जारी गरेको सूचनामा विश्वका विभिन्न देशमा शाखाहरु रहेको निजी ग्यालरी बरकतको लण्डन बेलायतस्थित शोरुममा दाताको ढुंगाको मूर्ति पहिचान भएको हो।

मञ्जुश्री टाेलमा रहेकाे  यंगालमा रहेको दाताको ढुंगाको सो मूर्तिको तस्बिर सन् १९७६ मा अनुसन्धानकर्ता उलरिक भोन स्क्रोडरले खिचेका थिए। सो तस्बिर नेपाली ढुंगाका मूर्तिसम्बन्धी उनको हालै प्रकाशित पहिलो संस्करणको दोस्रो भाग पुस्तकमा समेटिएको छ। सो तस्बिर र हाल लण्डनस्थित संग्रहमा रहेको मूर्ति उही रहेको खुलेको हो।

उलरिक भोनले दुई भागमा प्रकाशित गरेको ‘नेप्लिज स्टोन स्कल्प्चरस्’ नामक पुस्तकको पहिलो भागमा हिन्दू देवदेवी तथा मठमन्दिरमा रहेका मूर्ति र दोस्रो भागमा बुद्धिस्ट गुम्बा तथा बिहारमा रहेका मूर्तिहरु समेटिएका छन्।

झण्डै ४० वर्ष पहिले चोरी भएको सो मूर्तिको उचाइ ५७ सेन्टिमिटरको छ। प्राचीन समयमा आफ्नो कीर्ति राख्नका लागि दाताहरुको मूर्ति बनाउने चलन थियो। सोही चलनअन्तर्गत नेपालका विभिन्न प्राचीन मठ–मन्दिर, गुम्बा–बिहारका परिसरमा दाताका मूर्तिहरु पनि बनाइएको पाइन्छ।

मंसिर ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्