‘सरकारले राजीनामा मागे कानुनको सहारा लिन्छौँ

मोरङ – सरकारले राजीनामा माग गरे आफूहरू कानुनको सहारामा जाने प्रदेश १ खेलकुद बोर्डका सदस्यसचिव कृष्ण बस्नेतले बताएका छन्।

विराटनगरस्थित बोर्डको सचिवालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन सरकारले राजीनामा माग गरिनहाल्ने विश्वास लिए।

असोज २४ गते बोर्ड गठन भएयता गरिएको कामकारबाहीबारे जानकारी दिँदै सदस्यसचिव बस्नेतले बोर्ड वैधानिक रूपमा चयन भएको हुँदा वर्तमान सरकारले सदस्यको राजीनामा माग्नु उपयुक्त नहुनेमा जोड दिए।

उनले भने, ‘अहिले एमाले घेराबन्दीमा छ। प्रतिशोध राखेर सरकारले निर्णय नगर्ला। यदि, सरकारले राजीनामा माग गरे आफूहरू कानुनी पाटोमा अघि बढ्नेछौँ।’

पाँचदलीय गठबन्धनले प्रदेशको जिम्मेवारी लिएलगत्तै मन्त्रिपरिषद्को निर्णयबाट अघिल्लो सरकारले गरेको निर्णय खारेजी गर्ने जनाइसकेको छ।

सो क्रममा आफूहरू ४ वर्षे कार्यकालका लागि वैधानिक रूपमा चयन भएको दाबी गरेका सदस्य सचिव बस्नेतले सरकारले बोर्ड नचलाउने हुँदा बोर्डसमेत प्रतिशोधमा नउत्रने प्रस्ट्याए।

बोर्डका विगतमा ३ वटा बैठक सम्पन्न भइसकेको बताएका उनले यसबीच केही राम्रा निर्णय गरेको जानकारी दिए। बैठकमा बोर्ड र जिल्ला खेलकुद विकास समिति सञ्चालन तथा व्यवस्थापनका लागि १ करोड ५ लाख रुपैयाँ विभिन्न २६ वटा शीर्षकमा विनियोजन गरिएको उनले बताए।

त्यसैगरी, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडीलाई आवश्यक कानुन निर्माण गरी मासिक प्रोत्साहन भत्ता लागू गर्ने उनको भनाइ छ।

त्यसैगरी, राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई १ महिनाको बन्द प्रशिक्षणमा राखिने उनले बताए। बोर्डले प्रदेशस्तरीय खेलकुद एकेडमी ५ वर्षभित्र सञ्चालनमा ल्याउने जनाएको छ।

 

 

मंसिर ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्