मोरङ जिल्ला कारागारमा अभिषेक गिरीलाई ल्याउने भएपछि चौकीदारसहित ८ जनाको सरुवा

मोरङ – मोरङ जिल्ला कारागारमा अभिषेक गिरीलाई ल्याउने भएपछि चौकीदारसहित ८ जना कैदीको सरुवा गरिएको छ।

अपहरण तथा शरीर बन्धक मुद्दामा अपराधी ठहर भएर सजाय भुक्तान गरिरहेका गिरीलाई मोरङ कारागार भित्र्याउन कारागार व्यवस्थापन विभागले बुधबार ८ जनालाई सिन्धुली कारागार सरुवा गरेको हो।

विभागका अनुसार चौकीदार कार्तिक कामत, सिटी नाइके युवराज परियार, वडा नाइके रितेश कामतसहित विकास महतो, मौसम चौधरी, विजय कामत, देवराज मण्डल र लोकेन्द्र परियारको सरुवा गरिएको छ।

कार्तिक ज्यान मार्ने उद्योग, मौसम लागुऔषध, विजय, लोकेन्द्र र देवराज जबर्जस्ती करणी तथा विकास हातहतियार खरखजना र युवराज र रितेश कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका कैदी हुन्। कांग्रेसमा आबद्ध भएर राजनीतिक संरक्षण एवं आवरणमा आपराधिक गतिविधि सञ्चालन गर्दै आएका गिरीलाई मोरङ कारागार ल्याउने प्रयास भइरहेको छ।

तर, कैन्दीबन्दी तथा उनीहरूका आफन्तको अवरोध, विरोध र आन्दोलनका कारण उनले सहज रूपमा मोरङ कारागार प्रवेश पाउन सकिरहेका छैनन्। मोरङ कारागारमा चौकीदार रहेका गिरीलाई ०७४ साल चैत २३ गते डिल्लीबजार कारागार स्थानान्तरण गरिएको थियो।

मोरङ कारागारमा गुन्डागर्दी, असुली र फिरौतीको काम चलाउँदै कैदीबन्दीमाथि चरम शोषण गरिरहेको कुरा बाहिरिएपछि उनलाई मोरङबाट डिल्लीबजार सरुवा गरिएको हो।

कारागार व्यवस्थापन विभागले गत शुक्रबार पुनः सप्तरीबाट गिरीलाई मोरङ सुरुवा गरेको थियो। सरुवा भए पनि विरोध अधिक भएपछि गिरीलाई मोरङ ल्याइएको छैन।

कांग्रेस नेतासँगको निकटताका कारण दबाब सिर्जना गरेर सरकारलाई प्रभावमा पार्दै आफ्नो विरोधमा रहेका कैदीबन्दीको अन्यत्र सरुवा गराउन उनी सफल भइरहेको मोरङ कारागार स्रोतको भनाइ छ। मोरङ कारागारमा २ सय ५० जना अट्ने क्षमता भए पनि ९ सय ५० जनाभन्दा बढी कैदीबन्दी राखिएको छ।

मंसिर ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्