आरती स्ट्रिप्सका सञ्चालकद्वारा कर्मचारीमाथि सांघातिक आक्रमण

मोरङ – मोरङको बूढीगंगा गाउँपालिकास्थित आरती स्ट्रिप्सका सञ्चालकले कर्मचारीमाथि सांघातिक आक्रमण गरेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जस्तापाता उद्योग आरतीमा भएको झडपमा जनसम्पर्क प्रमुख दिवस नेपाल घाइते भएका छन्।

कांग्रेस विराटनगर महानगरपालिकाका सहसचिवसमेत रहेका नेपालमाथि स्ट्रिप्सकै सञ्चालकमध्येका एक सञ्जय सिंघलले फलामे रडले टाउकामा प्रहार गरेको खुलेको छ।

घाइते नेपालका अनुसार सञ्चालक सिंघलले यसअघि पनि कर्मचारी, मजदुरमाथि दुव्र्यव्यहार, कुटपिट गर्दै आएका थिए।

बेलुका कार्यालयबाट फर्कने क्रममा सिंघलले एक्कासि प्रहार गरेको उनको भनाइ छ। भनाभनका क्रममा सिंघलले तथानाम गालीगलौच गरेको पीडित नेपालले बताए।

यस क्रममा सिंघलले पेस्तोलसमेत तेस्र्याएर धम्क्याएको उनको भनाइ छ।

उनले भने, ‘धम्क्याउँदै कुटपिट गर्दै गर्दा सिंघलले पेस्तोल तेस्र्याए। त्यसपछि उनले नजिकै रहेका अर्का विशाललाई दिएर मार्न उक्साएका थिए। पेस्तोल तेस्र्याएपछि विशाललाई ठेलेर भुइँमा खसाए।’

पेस्तोल तेस्र्याउने विशाल गुप्ता स्ट्रिप्सका उपाध्यक्ष हुन्। नेपालमाथि सिंघल, गुप्तासँगै स्ट्रिप्सका निर्देशक एसपी वर्मा र अन्य दुई जना भारतीय मजदुर रहेको खुलेको छ। आक्रमणबाट घाइते भएका नेपालको टाउको, छाती, ढाडमा चोट लागेको दाइ प्रल्हाद नेपालले जानकारी दिए।

सिंघलले यसअघि पनि मजुदरमाथि कुटपिट गर्ने गरेका थिए। मजदुर कुटपिट गरेपछि पूर्वी नाका काँकडभिट्टा र जोगबनी हुँदै केही समयका लागि भारततर्फ जाने गरेको स्ट्रिप्समा कार्यरत कर्मचारीले बताए।

सिंघलको कुटपिट तथा दुव्र्यवहारका कारण यसअघि पनि सञ्जीव शर्मा, इन्द्रजित गर्ग र नागेन्द्र सिंह पीडित भइसकेका छन्।

चोटग्रस्त नेपालको विराटनगरस्थित कोसी अस्पतालमा उपचार गरिएको छ। त्यसैगरी, सांघातिक आक्रमण गरेका सिंघललाई प्रहरीले नियन्त्रणमा लिएको छ। आरती स्ट्रिप्स भारतीय लगानीमा खुलेको उद्योग हो।

मंसिर ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्