‘काठमाडौँमा ‘पोर्क लभर’ धेरै रहेछन्’

काठमाडौँ– के तपाईंलाई ‘पोर्क’का परिकार खान मनपर्छ? यदि मन पर्छ भने काठमाडौँस्थित बालुवाटारमा ३० लाखको लगानीमा ‘ओला पोर्क स्टेशन’ सञ्चालनमा आएको छ।

आफूहरुले ‘पोर्क’ पारखीलाई लक्षित गरेर नै ‘ओला पोर्क स्टेशन’ सञ्चालनमा ल्याएको सञ्चालक नानीराम फुयाँल बताउँछन्।

उनले बालुवाटारमा ‘पोर्क स्टेशन’ सञ्चालनमा ल्याउनुपूर्व जमलमा रहेको ‘ओला रेष्टुरेन्ट’बाट ग्राहकहरुलाई पोर्क पस्के। आफूहरुले ‘ओला पोर्क स्टेशन’ सञ्चालन ल्याउनुअघि करिब दुई महिना जमलमा रहेको ‘ओला’ रष्टुरेन्टमा सर्वे गरेको उनी बताउँछन्।

‘काठमाडौँ भ्यालीमा पोर्क लभर कति हुनुहुन्छ त्यो बुझ्न हामीले हाम्रो जमलमा रहेको ओला रेष्टुरेन्टबाट सर्वे सुरु गर्‍यौँ’, उनले भने, ‘मेनुमा पोर्क पनि थप गर्‍यौँ। पोर्कको परिकारलाई ग्राहकसम्म पुर्‍याउन सफल भयौँ। ग्राहकको राम्रो प्रतिक्रिया आएपछि हामीले छुट्टै आउटलेट खोल्ने योजना बनायौँ। र, आउटलेट पनि सञ्चालनमा ल्यायौँ।’

उपत्यकामा ‘पोर्क’ पारखी पाउँदा निकै उत्साहित भएको उनले सुनाए। ‘म आफै पनि पोर्क पारखी हुँ। मजस्तै अरु पनि हुन सक्छन् भन्ने मलाई लाग्यो र सर्वेबाट यति धेरै पोर्क लभर रहेछन् भन्ने थाहा पाउँदा निकै उत्साहित भएँ’, उनले भने।

सर्वेका आधारमै उनले ‘पोर्क बिरयानी, पोर्क रिब्स (बंगुरको करुङको भागबाट बन्ने परिकार) पोलेको र ग्रिल गरेको, पोर्क तन्दुरी, पोर्क मोःमोः लगायतका परिकार मेन्यूमा राखेको बताए।

उनले भने, ‘हाम्रो मुख्य विशेषता भनेको पोर्क तन्तुरी र रिप्स हो। मैले काठमाडौँमा अन्त पोर्क तन्दुरी भेटेको छैन। यसलाई हामीले कोरियन स्टाइलमा ढालेका छौँ। मसला पनि कोरियन नै प्रयोग गरेका छौँ।’

कोरियन स्वादमा तयार हुने ‘पोर्क’ धरानबाट ल्याइने सञ्चालक फुयाँल बताउँछन्। काठमाडौँको भन्दा धरानको ‘पोर्क’को स्वाद फरक हुने उनको दावी छ।

‘हामीले धरानको बंगुरको मासु प्रयोग गर्छौँ। धरानको बंगुर एकदमै प्रचलित छ। त्यहाँको स्वाद नै छुट्टै आउँछ’, उनले भने, ‘धरान र काठमाडौँको बंगुरको स्वाद फरक हुन्छ। मौसमको कारणले र त्यहाँको पाल्ने तरिकाले फरक हुन सक्छ। बंगुर पाल्ने तरिका पनि काठमाडौँ भन्दा धरानको फरक छ। जसले गर्दा हामीले पनि धरानको पोर्क नै मेन्यूमा राखेका छौँ। प्रायः नेपालका विभिन्न ठाँउमा धरानकै बंगुरको मासु प्रयोग गरिन्छ।’

धराने बंगुरको मासुलाई कोरियन स्वादमा पस्किन उनले आन्तरिक ग्राहकलाई नै रोजेका छन्। ‘पोर्क’बाहेक अन्य परिकार पनि ‘ओला पोर्क स्टेशन’मा पाइन्छन्।

‘सबै ग्राहकले पोर्क खान्छन् भन्ने छैन। त्यसैले सबै ग्राहकलाई लक्षित गरेर हामीले चिकेन, मटन तथा भेज आइटम पनि राखेका छौँ,’ उनले भने।

सञ्चालक नानीराम फुयाल।

कोरोना महामारीका कारणले अहिले पनि पर्यटकको आगमन उत्साहजनक छैन। विदेशी पर्यटकका साथै आन्तरिक पर्यटकलाई पनि लक्षित गरिएको उनले बताए।

नेपालमा रहेका यस्ता रेष्टुरेन्ट आन्तरिक पर्यटकले पनि चल्ने उनी बताउँछन्। ‘अहिले नेपालीहरु पनि निकै घुम्ने भएका छन्। आफ्नो देश घुम्ने, देशका बारेमा जान्न खोज्ने उत्साह बढेको छ’, उनले भने, ‘जसका कारणले टिक्न सजिलो हुन्छ।’

उनले थपे, ‘कोरोना महामारीले गर्दा विश्वमा नै आर्थिक मन्दी छ। नेपालभन्दा विदेशमा मानिसहरु जागिरे हुन्छन्। उनीहरु धेरै काम गर्छन्। ६ महिना १ वर्ष काम गरेर अनि घुम्न निस्कन्छन्। तर नेपालमा त्यस्तो छैन। धेरैको आफ्नो काम छ। विशेषगरी युवावर्ग अहिले निकै सक्रिय छ।’

सरकारले पनि आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिइरहेका बेला आफूहरु पनि सकरात्मक रुपमा अगाडि बढ्नुपर्ने उनको भनाइ छ।

उनलाई होटल क्षेत्रका बारेमा निकै अनुभव छ। पढाइ होटल सम्बन्धी गरेका उनले पढाइसँगै काम पनि होटलमै गरे। ‘मैले बीएचएम गरेको हुँ। पढ्दै काम गर्दा धेरै कुरा सिकेँ। कामकै सिलसिलामा विदेश पनि गएँ’, उनले भने, ‘त्यहाँ मैले होटलमै काम गरेँ। विभिन्न ठाँउबाट अनुभव बटुलेर हस्पिटालिटीतर्फ लागेँ।’

‘हस्पिटालिटी’ क्षेत्रमा उनको लगानी छ। उनी र उनका साथीहरुले मिलेर लगानी गर्छन्। उनीहरुको बानेश्वरमा कार्यालय (ई–पिपल/इपिपल डट कम) कार्यालय छ।

‘हामीले हरेक क्षेत्रमा इन्भेष्टमेन्ट गर्छौँ। हालसम्म हामीले हस्पिटालिटी क्षेत्रमा लगानी गरेका छौँ’, उनले भने।

उनले आइडिया भएको तर लगानी नभएको व्यक्तिले सम्पर्क गर्न सक्ने बताए। ‘हामीसँग जोपनि जोडिन सक्नुहुन्छ। आइडिया उहाँहरुको भए हामी लगानी गछौँ’, उनले भने।

मंसिर ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्