मधुमेह रोगले आँखामा पार्ने असरबारे जानकारी दिएर तिलगंगाले मनायो सचेतना सप्ताह

काठमाडौँ – तिलगंगा आँखा प्रतिष्ठानले मधुमेहले आँखामा पार्ने असरबारे सचेतना जगाउने उद्देश्यले सचेतना सप्ताह मनाएको छ।

विश्व मधुमेह दिवसको अवसर पारेर ‘मधुमेह सेवाको पहुँचः अहिले नभएर कहिले?’ भन्ने मूल नाराका साथ प्रतिष्ठानले २८ कात्तिकदेखि ४ मंसिरसम्म सचेतना सप्ताह मनाएको हो।

सचेतना सप्ताहमा प्रतिष्ठानले प्रतिष्ठानका शाखा, सामुदायिक आँखा अस्पताल र आँखा केन्द्रहरुमा निःशुल्क मधुमेहका बिरामीलाई उपचार सेवा दिएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका अनुसार यो अवधिमा ९९ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो भने १५ जनाले विशेष उपचार (लेजर थेरापी, अभाष्टिन इन्जेक्सन) सेवा लिएका छन्।

संसारमा कुल अन्धोपनामध्ये ४.८ प्रतिशत डायबेटिक रेटिनोपेथीका कारणले हुने गरेको डा. रवा थापाले बताइन्।

‘संसारमा कुल अन्धोपना मध्ये ४ दशमलव ८ प्रतिशत अन्धोपना यहि डायवेटिक रेटिनोपेथीको कारणले हुने गरेको छ। अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार संसारभर ४६ करोड ३० लाख मानिस मधुमेहबाट ग्रसित छन्। मधुमेहका कारण अन्धोपना, खुट्टा काट्नुपर्ने अवस्था, हृदय रोग, मृगौलाले काम नगर्ने अवस्थाल गायतका स्वास्थ्य समस्या देखिने गर्छन्’, उनले भनिन्, ‘त्यसमध्ये पनि हरेक तीन जनामध्ये एक जना मधुमेहका बिरामीले आफ्नो जीवनकालमा कुनै न कुनै किसिमको आँखाको समस्या व्यहोर्नु पर्ने गरेको तथ्यांक छ।’

डा. थापाका अनुसार नियमित व्यायाम, सन्तुलिन आहार, नियमित स्वास्थ्य परीक्षण, तनाव व्यवस्थापनजस्ता कुरामा ध्यान दिएर यसको क्षति ५० प्रतिशतसम्म रोक्न सकिन्छ।

मधुमेह लागेका ब्यक्तिमा हृदयघातको जोखीम सामान्य मानिसमा भन्दा तीन गुणाले बढी हुने उनले बताइन्।

उनले भनिन्, ‘मृगौलाले काम नगर्ने जोखीम मधुमेहका विरामीमा १० गुना बढी हुन्छ। संसारभर प्रत्यक ३० सेकेन्डमा कुनै एक मधुमेह भएका व्यक्तिले आफ्नो खुट्टा गुमाई रहेका छन्। प्रत्येक दुई मध्ये एक वयस्कमा मधुमेह रोगको निदान भएको छैन।’

मधुमहका बिरामीमा आँखाको पर्दामा असर गरेपनि यसको लक्षण तत्कालै नदेखिन सक्ने भएका कारण रोगले आँखामा धेरै असर गरिसकेपछि मात्र थाहा हुनेको डा. थापाको बुझाई रहेको छ।

उनले भनिन्, ‘बेलैमा पहिचान हुँदा उपचार पश्चात पनि राम्रो दृष्टि फर्काउन गाह्रो हुन्छ। मधुमेहले आँखाको पर्दाको रक्तकोशिकाहरुमा असर गरि पर्दाको रक्तसंचारमा प्रभाव पार्छ। जसले गर्दा पर्दाको दृष्टि केन्द्रमा सुजन तथा रक्तश्राव भएर दृष्टि कमजोर हुन्छ। आँखामा मधुमेहले पार्ने असर बारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको हामीले पाएका छौँ।’

यस्तै डाइबेटिक रेटिनोपेथी सम्बन्धि जनचेतना अभिवृद्धि गर्न सन् २०१४ देखि विश्व मधुमेह दिवसको अवसर पारेर प्रतिष्ठानले डाइबेटिक रेटिनोपेथी दिवस मनाउँदै आएको छ।

यो वर्षको प्रतिष्ठानले मधुमेहले आँखामा पार्ने असरबारे टेलिभिजन, रेडियो र सामाजिक सञ्जालबाट विभिन्न सचेतनामूलक सामग्री प्रशारण गरेको थियो।

मंसिर ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्