‘घरबाटै सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’

दाङ – लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात भएको दिनको अवसरमा बिहीबार दाङमा सचेतना मुलक र्‍याली निकालिएको छ ।

दाङको लमही नगरपालिकाको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन महिलाहरुको सहभागीतामा सचेतनामुलक र्‍याली निकालिएको हो ।

‘समान कामको समान ज्याला, बिहेवारी २० वर्ष पारी’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर महिलाहरुले बजार परिक्रमा गरेका थिए ।

‘यो दिवस महिलाहरुको मात्रै होइन, लैंगिक हिंसामा जो पनि पर्न सक्छ । हाम्रो बुझाई महिलामाथि मात्रै हिंसा हुन्छ भन्ने मान्यता छ’ सामाजिक अभियन्ता योगमाया शाहीले भनिन्, ‘यो दिवसले सबै लैंगिक पहिचानका मानिसलाई समेट्नु पर्छ ।’

महिला भएकै कारण, पुरुष भएकै कारण अथवा कुनै पनि लैंगिक पहिचान भएकै कारण कसैलाई पनि भेदभाव हुनुहुँदैन । नेपालको संविधानले कसैमाथि कुनै प्रकारको विभेद हुने छैन, सबैलाई समान व्यवहार गरिने उल्लेख छ । तर, संविधानमा लेखिएको कानुनको कार्यान्वयन हुन सकिरहेको छैन ।

समान कामको समान ज्याला नारा लगाएर महिलाहरु सडकमा आउन थालेको धेरै भएपनि अहिले पनि एउटै प्रकृतीको काम गर्ने महिला र पुरुषकोबीचमा ज्यालामै विभेद छ । यि र यस्ता थुप्रै समस्याको समाधानको लागि राज्यले ध्यान दिनुपर्ने आवश्यक छ । लमही नगरपालिकाका उपप्रमुख देवका बेल्वासले हिंसामा परेका महिलाहरुलाई न्याय दिलाउनको लागि सेफ हाउसको योजना रहेको बताइन् ।

‘हिंसामा परेकाहरुलाई न्याय प्राप्तीको लागि हामीले सघाउन सेफ हाउस सञ्चालन गर्न सहयोग गरेका छौँ’, उनले भनिन्, ‘त्यसका लागि भवन बनाउन समेत बजेट परेको छ ।’ लैंगिक हिंसामा पर्ने जो कोहीलाई पनि न्यायको लागि स्थानीय सरकारले पहल गर्ने नगर प्रमुख कुलबहादुर केसीले बताए ।

‘कानुनको बारेमा बुझन जरुरी छ । हामीले यो दिवसको अवसरमा कानुनी साक्षरताको अभियान पनि चलाउने भएका छौँ’, उनले भने, ‘विभेद रहित समाज बनाउने योजना अनुसार स्थानीय सरकारले काम गरिरहेको छ ।’ स्थानीय तहमा रहेको न्यायिक समितिमा समेत लैंगिक हिंसा संग जोडिएका विवादहरु आउने गरेका छन् । यि विवादलाई मेलमिलापको माध्यमबाट समाधान गर्ने गरिएको छ । तर, मेलमिलापबाट समाधान हुन नसक्ने विवादलाई अदालतसम्म पुर्‍याउने गरिएको छ ।

मंगरबार मंसिर ९ गते देखि २४ गतेसम्म लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चल्ने छ । यस वर्षको नारा ‘घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौँ’ राखिएको छ ।

मंसिर ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्