जसपा सांसद प्रदीप यादव निष्काशित

फाइल तस्बिर

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालले सांसद प्रदीप यादवलाई केन्द्रीय समिति सदस्यबाट निष्काशन गरेको छ।

केन्द्रीय कार्यकारिणी समितिको तीन दिन बैठकले सांसद यादवलाई केन्द्रीय सदस्यबाट निष्काशन गरेको हो।

शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिमण्डल विस्तार हुँदा यादवलाई मन्त्री नबनाएको भन्दै पर्सा वीरगञ्जलगायतका स्थानमा अध्यक्ष उपेन्द्र यादवको पुतला दहन भएको थियो। पुतला दहन सांसद यादवको निर्देशनमा भएको भन्दै उनलाई केन्द्रीय समिति सदस्यबाट निष्काशन गरिएको जसपाका एक सदस्यले जानकारी दिए।

ती सदस्यका अनुसार मोहम्मद इस्तियाक राई, राजकिशोर यादव, रमेश यादवलगायत थुप्रै सदस्यहरुले कारबाही नगर्न आग्रह गर्दा पनि अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय सदस्य यादवलाई कारबाही गर्ने निर्णय गरेका थिए।

सांसद यादवलाई साधारण सदस्यबाट नै निष्काशन गर्ने प्रस्ताव गरे पनि अन्य नेताको विरोधपछि केन्द्रीय सदस्यबाट मात्रै तत्कालका लागि निष्काशन गरिएको एक नेताले बताए।

यसअघि पनि स्वतन्त्र तिब्बत पक्षधरले युरोपेली मुलुक लात्भियामा आयोजना गरेको कार्यक्रममा सहभागी भएपछि ६ महिनाका लागि उनी पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बनका परेका थिए।

केन्द्रीय कार्यकारिणी समिति बैठकले वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरागवीलाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरेको छ। त्यस्तै, १६ जना केन्द्रीय कार्यकारिणी थप गर्ने निर्णय पनि उक्त बैठकले लिएको सहभागी एक नेताले जानकारी दिए।

मंसिर ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्