‘लैंगिक हिंसा अन्त्यका लागि सबैले आ–आफ्नो तहबाट पहल गर्नुपर्छ’

मोरङ– लैंगिक हिंसा अन्त्यका लागि सरकारसँगै सबैले अभियान सञ्चालन गर्नुपर्नेमा प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले जोड दिएका छन्।

लैंगिक हिंसाविरुद्धको १६ दिने साझा अभियानका क्रममा बिहीबार विराटनगरमा आयोजित कार्यक्रममा मन्त्री यादवले लैंगिक हिंसाविरुद्धको अभियान गाउँ–गाउँमा पुर्‍याउनु पर्ने बताएका थिए।

सर्वसाधारण माझ गाँउ तहसम्म यस प्रकारको अभियान पुर्‍याउन सके लैंगिक हिंसा अन्त्य गर्न सकिने मन्त्री यादवको भनाइ छ। उनले भने, सरकारले मात्र अभियान सञ्चालन गर्दा लैंगिक हिंसा अन्त्य गर्न सहज नहुने र यसका लागि सबैले आ–आफ्नो तहमा पहल कदमी गर्नुपर्छ। सबैले अभियानका रुपमा अघि बढाउन सकेमात्र लैंगिक हिंसा अन्त्य हुनेछ।’

बिहीबार विहान विराटनगरमा ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्न नाराका साथ प्रभातफेरि निकालिएको थियो। प्रभातफेरिमा सामाजिक विकास मन्त्री यादव, राज्यमन्त्री विष्णु तुम्बाहाम्फे, विभिन्न सामाजिक संघ संस्थाको सहभागिता रहेको थियो।

सामाजिक विकास मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले अबको १६ दिन नै जनचेतनामूलक विविध कार्यक्रम सञ्चालन हुने जानकारी दिइन्।

मंसिर ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्