प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन माग गर्दै सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर हटाउन माग गर्दै शान्ति र लोकतन्त्रका लागि पेसागत संजाल (पापड)ले बिहीबार मार्चपास गरेको छ।

पापडले बिहीबार दिउँसो सर्वोच्च अदालतको गेटदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म मार्चपास गरेको हो।

जबरालाई तत्काल महाभियोगको प्रक्रिया थाल्दै न्यायालयमा भएको वर्तमान गतिरोध तोड्न र न्यायपालिका रूपान्तरणका निम्ति संविधान संशोधनसहितको तयारी गर्ने गरी दबाब दिन मार्चपास गरेको पापडले जनाएको छ।

सर्वोच्च अदालतको गेटबाट सुरु भएको मार्च माइतीघर, भद्रकाली हुँदै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म पुगेको थियो। मार्चपासमा सहभागीहरूले जबरालाई महाअभियोग लगाउन र उनको सम्पत्ति छानविन गर्न माग गरेका छन्।

पापडमा नेपाल बार एसोसियसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसियसन, नेपाल जनस्वास्थ्य संघ तथा नेपाल आदिवासी जनजाति महासंघ आवद्ध छन्। –न्युज कारखाना

मंसिर ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्