‘महाधिवेशनका लागि हामीले चितवनमा ३५ सय कोठा बुक गरेका छौँ’

काठमाडौँ– एमाले नेता एवं पूर्वमन्त्री रामवीर मानन्धरले आफूले पार्टीको १०औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको विशेष साक्षात्कारमा उनले आफूले जनजाति क्लष्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

उनले भने, ‘जनजाति क्लष्टरबाट २२ जनाले उम्मेदवारी दिने हो, त्यसमा ७ जना महिला हुनुहुन्छ र १५ जना पुरुष। मैले त्यसका लागि केन्द्रीय कमिटी सदस्यका लागि उम्मेदवारी घोषणा गरेको हुँ।’ उनले यसपटक पार्टीमा सर्वसम्मत नेतृत्व चयन हुने पनि बताए।

उनले भने, ‘नेतृत्व यसपटक सर्वसम्मत चयन गर्ने कुरा छ। तर, प्रतिस्पर्धामा जानु पनि ठूलो कुरा होइन।

शुक्रबार बिहान उद्घाटन हुने महाधिवेशनको सम्पूर्ण तयारी भइसकेको उनले बताए। उनले भने, ‘चितवनमा ३५ सय कोठा बुक भएका छन्। प्रतिनिधि सबै पुगिसक्नुभएको छ। चारैवटा नाकाबाट हामी नारायणघाटमा जम्मा हुन्छौं। ११ गते नोमिनेसन हुन्छ। विधान महाधिवेशन सफल रूपमा सम्पन्न गर्‍यौं। अब पार्टीलाई सही तवरले अघि बढाउन नेतृत्व चयन गर्दै छौं। लाग्छ, नेतृत्व सर्वसम्मत हुन्छ।’

उनले यसपालिको महाधिवेशन एकताको महाधिवेशन हुने पनि बताए। उनले भने, ‘समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई साकार पार्न पार्टी एकढिक्का भएर अघि बढ्नेछ, हामीले एकता प्रदर्शन गर्नुपर्छ। यसपालिको महाधिवेशनमा म केन्द्रीय सदस्यको दाबेदार हो। २२५ जना सदस्यको केन्द्रीय कमिटी हुन्छ। त्यसमध्ये म पनि दाबेदार हो।’

उनले ०३६ साालको आन्दोलनमा लागेको व्यक्ति भएको पनि स्मरण गराए। उनले भने, ‘म बहुदल र निर्दलको चुनावका बेला पनि सक्रिय थिएँ, ०४९ सालमा काठमाडौंको १६ नम्बर वडामा अध्यक्ष भएँ।

मैले धेरै वर्ष जनप्रतिनिधि भएर जनताको सेवा गरेँ। ०५४ सालदेखि पार्टीको जिल्ला कमिटीमा छु। ०७७ मा केन्द्रीय कमिटीमा मनोनीत भएँ। काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित सांसद हुँ। ०७६।७७ सालमा सहरी विकास राज्यमन्त्री भएर काम गरेको छु।’ निष्ठावान कार्यकर्तालाई आफूलाई मत दिएर जिताउन पनि उनले आह्वान गरेका छन्।

उनले नेपालमा धेरै दल आवश्यक नरहेको पनि जिकिर गरे। उनले भने, ‘नेपालमा दुई दल भए पुग्छ। यो देशमा एमालेले मात्रै समृद्धि र सुखी नेपालीको नारा साकार गर्न सक्छ, हाम्रो अध्यक्ष केपी ओली व्यक्ति होइन, विचार हो। ओलीलाई जनताले प्रत्यक्ष रूपमा चिन्नुभएको छ।’

उनले आफ्नो पार्टीको अध्यक्ष ओली समृद्ध नेपाल बनाउने अभियानमा लागेको पनि सुनाए। उनले भने, ‘७२ वर्षको कालखण्डमा, धेरै सरकार बने, धेरैजना प्रधानमन्त्री भए, तर हाम्रो अध्यक्ष ओली प्रधानमन्त्री बन्नुभयो, उहाँको पालामा के–के काम भए ? तपाईंहरू हेर्नुहोला। उहाँले साढे ३ वर्षको अवधिमा यो मुलुकको कायापलट गर्ने योजना अघि सार्नुभएको छ। ओलीको कार्यकालमा विकास निर्माणसँगै धेरै काम भएका छन्।’

उनले पटक–पटक महाधिवेशनमा सहमतिबाट नेतृत्व चयन हुने विश्वास दिलाए। उनले भने, ‘नेतृत्व चयन गर्न सहमतिको लागि भरपुर प्रयास हुन्छ। प्रयास गर्दा पनि सहमति भएन भने प्रजातान्त्रिक विधिमा जानुपर्छ। चुनाव लड्न पाउने सबैको अधिकार हो। नेतालाई म आह्वन गर्छु, तपाईँहरूले जति उमेर बिताउनुभयो, ओलीले जस्तो त्याग र धैर्यता गर्नुहोस्। १५ वर्ष माधव नेपाल र ५ वर्ष झलनाथले यो पार्टीमा राज गरे। तर, केपी ओलीले २० वर्ष प्रतीक्षा गर्नुभयो। धैर्य गर्नुहोस्।’

त्यस्तै, प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्र केसीले पार्टीको १४औं महाअधिवेशनले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने नेतृत्व चयन गर्ने बताएका छन्।

उनले भने, ‘मुलुकलाई दिशा दिन सक्ने र समृद्धिको दिशामा अघि बढाउने नेतृत्व आउनेमा व्यग्र प्रतीक्षामा छौं। यो अधिवेशनले सवल नेतृत्व दिन सकोस्।’ उनले आफूले यसपटक केन्द्रीय सदस्यमा उम्मेदवारी दिने पनि सुनाए।

उनले अहिले एमाले, माओवादी केन्द्रको पनि अधिवेशन हुन गइरहेको भन्दै लोकतन्त्र बलियो बनाउन दलको अधिवेशन आवश्यक भएको सुनाए।

उनले भने, ‘अहिले सबै पार्टीको अधिवेशन हुँदै छ । सबै दलको चाहना भनेको मुलुकलाई समृद्ध बनाउनु नै हो। बहुदलीय प्रजातन्त्रमा धेरै पार्टी रहन्छन्। दलहरूले

जनतालाई आफ्नो नीतिअनुसार आकर्षित गर्ने कुरा स्वाभाविकै हो। एमाले, माओवादी र राप्रपाले अहिले महाधिवेशन गर्दै छन्।’ उनले नीति र नेतृत्वसँगै जानुपर्नेमा पनि जोड दिए। उनले सबै दलको गन्तव्य एउटै भएको तर बाटो फरक हुन सक्ने सुनाए।

आफूहरू महाधिवेशनका लागि सम्पूर्ण रूपले अघि बढिरहेको उनले बताए । उनले भने, ‘केन्द्रीय अधिवेशन मंसिर २४ गते गर्दै छौं। लोकतन्त्रको सुन्दर पक्ष नै यही हो। लोकतन्त्रलाई संस्थागत गर्दै अघि बढेका छौं। राजनीतिक प्रणाली जसरी अघि बढ्छ, त्यहीअनुसार पार्टी अघि बढ्नुपर्छ। संघीयता अनुसार हामी १४औं महाधिवेशन गर्दैनौं। अहिले वडादेखि केन्द्रसम्मको अवस्था हेर्दा, ४ हजारभन्दा महाधिवेशनप्रतिनिधि आउनुभएको छ। अधिकांश युवा आउनुभएको छ। क्लष्टर छुट्याएका छौं। सबैको प्रतिनिधित्व होस् भनेर विधानमा स्पष्ट लेखिएको छ। हामी त्यहीअनुसार अघि बढ्छौं।’

उनले हिमाल, पहाड र तराई कोही छैन पराई भनेजस्तै सबैलाई पार्टीमा उचित स्थान हुने पनि बताए। उनले भने, ‘महाधिवेशन नियमित प्रक्रिया हो। कांग्रेसको महाधिवेशन केही ढिला भयो तर अब मंसिरभित्र सम्पन्न गर्छौं। ठीक ढंगले मुलुकलाई अघि बढाउनुपर्छ।’

त्यसैगरी, माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदीले पार्टीमा अहिले अध्यक्ष पुष्पकमल दाहालको विकल्प नभएको बताएका छन्। उनले पार्टी र देश दुवैको नेतृत्व गर्न प्रचण्डको नेतृत्व आवश्यक रहेको सुनाए।

उनले भने, ‘बिपी कोइराला २५ देखि ३० वर्षसम्म पार्टी सभापति हुनुभयो। एउटा व्यक्तिले लामो समयसम्म नेतृत्व गर्नुहुन्न भन्नु हँदैन। म दुई दशकदेखि केन्द्रीय सदस्य छु। प्रचण्ड अध्यक्ष भएको पनि २१ वर्ष भयो। पार्टी र देशको नेतृत्व गर्न प्रचण्ड नै उपयुक्त हुनुहुन्छ। प्रचण्डलाई टक्कर दिने नेता माओवादीमा अहिले कोही पनि हुनुहुन्न, भोलिका दिनमा आउनुभयो भने छलफल हुन्छ। तर प्रचण्डले सापेक्षिक रूपमा सही नेतृत्व गर्नुभएको छ। प्रचण्डको विकल्प पार्टीमा छैन।’

उनले आफ्नो पार्टी राष्ट्रिय सम्मेलनको तयारीमा अघि बढिसकेको सुनाए। उनले भने, ‘हामी राष्ट्रिय सम्मेलन भव्य रूपमा सम्पन्न गर्न गैरहेका छौं। यही मंसिर ४ गते एकै दिन वडा सम्मेलन सफलतापूर्वक सम्पन्न भयो। अब मंसिर ११ गते पालिकाको सम्मेलन हुँदै छ। संगठन, सम्पर्क मञ्चको पनि एकैदिन सम्मेलन हुन्छ।’

उनले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गरिने गरी अघि बढेको सुनाए। उनले भने, ‘हामीले। माओ दिवस दिनको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै छौं। समयको हिसाबले अझै एक महिना छ। पार्टीले तल्लो तहदेखि प्रचार गरिरहेको छ।’ आफ्नो पार्टीको अधिवेशनबारे त्यति चर्चा नहुनुको कारण सर्वसम्मत रूपमा वडादेखि नै नेतृत्व चयन गरिनु नै भएको सुनाए।

उनले कांग्रेसको महाधिवेशनको बढी चर्चा हुनुको कारण शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहले गर्दा केन्द्रदेखि तलसम्म चुनाव भएकाले प्रतिष्पार्ध देखिएको सुनाए। उनले आफ्नो पार्टीले संविधानको मर्म र भावनाअनुसार कदम चालेको र निर्णय लिएको पनि सुनाए।

उनले भने, ‘हामी त नगरपालिकामा पनि महिला मेयर नै हुनुपर्छ भन्दै छौं। समाजको बनोटअनुसार पार्टी बनाउनुपर्छ। वडादेखि केन्द्रसम्म त्यहीअनुसार नेतृत्व बनाउनुपर्छ। ३५ प्रतिशत महिला हुनुपर्छ। २० प्रतिशत युवा हुनुपर्छ। विधान बनिसकेको छ।’

उने यही मंसिर २५ गते प्रदेश सम्मेलन हुने र त्यो पनि विधानअनुसार नेतृत्व आउने सुनाए। उनले एमालेको महाधिवेशनको कुरा गर्दा विचारको कुरा त्यहाँ नभएको आरोप लगाए। उनले भने, ‘हामीले एमालेको दस्तावेज हेरेका छैनौं। अहिलेसम्म राजनीतिक दस्तावेज बाहिर आएको छैन। आगामी कार्यक्रम के हो ? एक वर्षको के हो ? १० वर्षको के हो ? कार्यनीति र रणनीति के हो ? यो हामीले एमालेको दस्तावेज हेरेका छैनौं। यता कांग्रेसमा विचारको मतभेद छैन। एमालेमा वैचारिक मतभेद देखिन्छ। घनश्याम भुसालले फरक मत ल्याएको देखेका छौं। पत्रपत्रिकामा देखेका छौं। तर, बाहिर आएको छैन।’

उनले एमालेको १०औं महाधिवेशनपछि पनि केपी शर्मा ओली नै अध्यक्ष हुने सुनाए।

उनले भने, ‘अहिले ओलीले नै चुनाव जित्नुहुन्छ। माधव नेपालहरू त्यहाँ भएको भए रामाइलो हुन्थ्यो। विचार लागू गर्ने नेतृत्व हुनुपथ्र्याे। अहिले त्यहाँ वैचारिक बहस हुने सम्भावना देखिँदैन।’

उनले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको र भोलिका दिनमा एकता हुनसक्ने सुनाए।

उनले भने,‘हिजो विप्लव मोहन वैद्यसँग जानुभयो। वैचारिक बहसबाट उहाँहरू जानुभएको हो। उहाँहरू २ वर्षसम्म भूमिगत हुनुभयो। पुँजीवादी क्रान्ति पूरा भयो। पुँजीवादी क्रान्तिका केही कार्यभार बाँकी छ। शान्तिपूर्ण तवरले बाँकी कार्यभार पूरा गर्न सक्छौं। उहाँलाई जुन दिन शान्तिपूर्ण तरिकाले पुँजीवादी क्रान्तिका कार्यभार पूरा गर्न सक्छौं भन्ने लाग्छ, उहाँहरू आउनुभयो भने एकता हुन्छ।’

मंसिर ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्