कांग्रेस अधिवेशनः कलैयामा धमाधम मतदान (तस्बिरहरु)

वीरगञ्ज – बारामा बिहीबारदेखि नेपाली कांग्रेसको पालिका स्तरको अधिवेशन सुरु भएको छ।

कलैया उपमहानगरपालिकामा नगर सभापति, उपसभापति, सचिवलगायत पदका लागि मतदान भइरहेको हो। अपराह्न साढे २ बजेदेखि कलैयाको पन्नादेवी माविको प्रांगणमा मतदान भइरहेको छ।

कांग्रेस कलैया उपमहानगर सभापतिका लागि देउवा समूहबाट पुरुषोेत्तम सिंह पाण्डे र पौडेल समूहका सञ्जय गुप्ताबीच प्रतिस्पर्धा भइरहेको छ।
पाण्डे यसअघि कांग्रेस कलैया नगर सभापति हुन्।

उनी आफ्नो पद जोगाउन लागिपरेका छन्। उपसभापतिमा देउवा समूहबाट अम्बिकाप्रसाद यादव र पौडेल समूहबाट मोतीलाल साहबीच प्रतिस्पर्धा भइरहेको छ।

कुल २७ वटा वडा रहेको कलैया उपमहानगरपालिकामा ४ सय ४२ जना क्षेत्रीय प्रतिनिधिले मतदान गरिरहेका छन्। मतदानमा कलैया उपमहानगर प्रमुख राजेश राय यादव, पूर्व राज्यमन्त्री कलावती पासवानलगायतले क्षेत्रीय प्रतिनिधि हुँदै मतदान गरेका छन्। बारामा १६ वटा स्थानीय तह छन्।

 

 

 

मंसिर ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्