आरती स्ट्रिप्समा कर्मचारी कुटपिट घटनाका दुवै पक्षबीच सहमति

मोरङ– भारतीय लगानीमा खुलेको आरती स्ट्रिप्समा कर्मचारी कुटपिट घटनामा दुवै पक्षबीच सहमति भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठका अनुसार घटनामा पीडित दिवस नेपाल र पीडक सञ्जय सिंघलबीच सहमति भएको हो। प्रवक्ता श्रेष्ठले घटनाबारे पीडित पक्षबाट उजुरी पनि नआएको जानकारी दिए।

उजुरीपछि कानुनी कारबाही अगाडि बढाउन सकिने बताएका उनले उजुरी नै नआई दुई पक्षबीच सहमति बनेको बताए।

त्यसैगरी, नेपाल  ट्रेड युनियन कांग्रेस मोरङले भने घटना दुःखद भएको जनाएको छ। ट्रेड युनियन मोरङका अध्यक्ष सुशील कोइरालाले घटनाबारे तथ्य जानकारीपछि धारणा व्यक्त गर्ने बताए।

श्रमिकमाथि कुटपिट निन्दनीय भएको बताउँदै अध्यक्ष कोइरालाले सत्यतथ्यबारे आफूहरूले जानकारी लिने बताए।

स्ट्रिप्सका जनसम्पर्क अधिकृत नेपालमाथि बुधबार राति सञ्चालक सिंघलले रड प्रहार गरी घाइते बनाएका थिए। त्यससँगै प्रहरीले सिंघललाई नियन्त्रणमा लिएको थियो। यद्यपि, सिंघललाई स्थानीय नेताले राति नै प्रहरी नियन्त्रणबाट निकालेको प्रहरी स्रोतले जनाएको छ।

मंसिर ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्