एमाले महाधिवेशनले छान्दै छ २२५ सदस्यीय केन्द्रीय कमिटी, कुन पदमा कति सिट?

चितवन- शुक्रबार सुरु हुने एमालेको दसौँ महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने छ। महाधिवेशनले संशोधित विधानअनुसार बृहत् आकारको ‘समावेशी’ केन्द्रीय कमिटी चयन गर्ने भएको हो।

संशोधित विधानमा भएको व्यवस्थाअनुसार विभिन्न क्षेत्रबाट केन्द्रीय सदस्यहरु प्रतिनिधित्व हुनेछन्। आदिवासी-जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, पिछडिएको क्षेत्र र श्रमिक क्षेत्रबाट २१ महिलासहित ६६ केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

त्यस्तै सात प्रदेश, उपत्यका समन्वय र सम्पर्क समन्वयमा १६ महिलासहित ४६ केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवसहित १५ पदाधिकारीमा भने महिला कोटा छुट्याइएको छैन।

त्यस्तै, खुला सदस्यमा ३८ महिलासहित ९८ केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

नयाँ केन्द्रीय कमिटीमा कम्तीमा ७५ जना महिला सदस्य हुनेछन्।

त्यस्तै, महाधिवेशनले १५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र १५ सदस्यीय केन्द्रीय लेखा आयोग पनि निर्वाचित गर्नेछ।

शुक्रबारको उद्घाटन सत्रपछिको बन्द सत्रमा पदाधिकारी तथा केन्द्रीय सदस्यहरु चयन हुनेछन्।

एमाले महाधिवेशनमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओलीसहित अधिकांश शीर्ष नेता तथा कार्यकर्ताहरु चितवन पुगिसकेका छन्।

मंसिर ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्