चितवन – चितवन सौराहास्थित एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बसेको पार्क सफारी रिसोर्टमा शुक्रबार बिहानैदेखि नेता तथा कार्यकर्ताहरुको भीड लागेको छ।

उनले रिसोर्टको बार्दलीबाटै कतिपय नेता तथा कार्यकर्ताहरुसँग अन्तरक्रिया गरेका छन् भने कतिपय विशेष नेताहरुलाई माथि नै बोलाएर भेटेका छन्।

नारायणी नदी किनारमा १२ बजे सुरु हुने भनिएको एमाले महाधिवेशनको खुलासत्रका लागि नेता तथा कार्यकर्ताहरुको बाक्लो भीड त्यसतर्फ प्रस्थान गरिरहेको छ।

अध्यक्ष ओली पक्षबाटै वरिष्ठ उपाध्यक्ष तथा महासचिव पदमा धेरैको दाबेदारी देखिएकाले त्यसलाई व्यवस्थापन गर्न उनले कसरत गरिरहेका छन्।

महासचिव पदका दाबेदार नेताहरु विष्णु पौडेल तथा पृथ्वी सुब्बा गुरुङले शुक्रबार बिहान नै केपी ओलीसँग भेटेर मन्त्रणा गरेका थिए।