उत्तर कोरियामा किमको रोजाइमा परेको लेदर कोट लगाउन सर्वसाधारणलाई प्रतिबन्ध

प्योङयाङ (एजेन्सी) – उत्तर कोरियाले सर्वसाधारणलाई लेदरको कोट लगाउन प्रतिबन्ध लगाएको छ। उत्तर कोरियाका शासक किम जोङ उनको मुख्य रोजाइ रहेकोले सर्वसाधारणलाई कोट लगाउन प्रतिबन्ध लगाइएको हो।

उन सबैभन्दा पहिला सन् २०१९ मा लेदर कोटमा देखिएका थिए। त्यसपछि सो कोट यति प्रख्यात भयो कि उनको अनुशरण गर्दै त्यहाँका कुलीन वर्गले सो कोट लगाउन थाले। चिसो मौसम सुरू भएसँगै लामो लेदर कोट फेसन जस्तै भएको छ।

तर पछिल्ला समयमा प्रहरीले कोट बिक्रीमा प्रतिबन्ध लगाएको छ। पसलेलाई कोट बिक्री नगर्न र अटेरी गरे जफत गर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ।

‘उच्च मर्यादित व्यक्ति जस्तो देखिन लुगा लगाउनु भनेको व्यक्तिलाई चुनौती दिनु पनि हो’, एक प्रहरी अधिकारीको भनाइ उदृत गर्दै एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेको छ।

विशेष लुगा कसले लगाउने भन्ने विषय पार्टीको अधिकार भएकोले सर्वसाधारणलाई छालाको कोट नलगाउन उर्दी जारी गरिएको ती अधिकारीले बताए।

यसै साता चीनसँगको सीमा खुला गरिएपछि सेप्टेम्बरमा कोरियाली बजारमा किमले लगाउने जस्तै कोट देखिएका थिए। केही व्यापारीहरुले चीनबाट कच्चापदार्थ आयात गरेर स्वदेशमै कोट सिलाएका थिए।

सन् २०१९ मा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तामा किम लेदर कोटमा सजिएका थिए।

किमका बुबा र हजुरबुबा माओ शैलीको ज्याकेट र कालो चस्माका सोखिन थिए। -न्युज कारखाना

मंसिर १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्