एसियाली विकास बैंकद्वारा ऊर्जा क्षेत्रको विकासका लागि ७ अर्ब ८ करोड बराबरको ऋण सहयोग

काठमाडौँ – एसियाली विकास बैंक (एडीबी) ले ऊर्जा क्षेत्रको विकासका लागि ७ अर्ब ८ करोड रुपैयाँ (६० मिलियन अमेरिकी डलर) बराबरको ऋण सहयोग गर्ने भएको छ ।

अर्थ मन्त्रालयमा शुक्रबार भएको एक कार्यक्रममा एसियाली विकास बैंक (एडिबी) र अर्थ मन्त्रालयबीच नेपालको ऊर्जा क्षेत्रको विकासका लागि ऋण सहायतासम्बन्धी सम्झौता भएको हो।

सम्झौतामा अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी र एडिबीकोतर्फबाट नेपाल निर्देशक अर्नाउड काचोइसले हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपालको जलविद्युत् क्षेत्रमा एसियाली विकास बैंकले ठूलो लगानी गर्दै आएको बताए।

उनले नेपालमा विद्युत् ग्रिडलाई आधुनिक बनाउँदै थप सेवा–सुविधा र विस्तार गर्नुपर्ने भएकाले एडिबीसँग विद्युत् ग्रिड आधुनिक परियोजनाका लागि थप आर्थिक सहयोग गर्ने सम्झौता भएको बताए।

उनले भने, ‘हाम्रो विद्युत् उत्पाननमा समस्या भनेको आर्थिक रकमको हो, अहिले नेपालमा उत्पादित विद्युत्को खपत र त्यसको निर्यात गर्नुपर्ने चुनौती छ,त्यसैले यस्तो सहयोग नेपालको विद्युत् ग्रिड विकासका लागि खर्च गरिनेछ, नेपालमा उत्पादित विद्युत् खपत तथा आपूर्ति गर्न नसक्दा पछिल्लो समय व्यापार घाटा चुलिँदै गएको छ, विद्युत् खपत र आपूर्तिको व्यवस्थापन गरे व्यापार घाटा न्यूनीकरण गर्न सहयोग पुग्नेछ।’

यस्तै, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले मुलुकभर विद्युतीय लाइन विस्तार गर्दै आएको अवस्थामा एडिबीले विद्युत् ग्रिड आधुनिक परियोजनाका लागि गरेको सहयोग महत्वपूर्ण भएको बताए। उनले प्राधिकरणले स्मार्ट बिलिङ प्राणलीको तीव्र विकास गरिरहेको जानकारी दिए।

एडिबीका नेपाल निर्देशक अर्नाउड काचोइसले एडिबीको जलविद्युत्मा ठूलो लगानी रहेको बताए। उनले त्यो लगानीमध्ये नेपालमा जलविद्युत् क्षेत्रमा अझ धेरै लगानी गरेको बताए। नेपालको विद्युतीय उत्पादन क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्दै जाने उनको भनाइ छ।

एडिबीले उपलब्ध गराउने ऋण सहायताको रकम विद्युत् प्राधिकरणमार्फत विद्युत् ग्रिड परियोजना कार्यान्वयनका लागि खर्च गरिने भएको छ। एडिबीले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि जलविद्युत्, प्रसारण लाइन तथा वितरण लाइनको निर्माण तथा स्तरोन्नतिका लागि ऋण सहायता उपलब्ध गराउँदै आएको छ। त्यस्तै, एडिबीसँग दूधकोसी जलविद्युत् तथा बुटवल पश्चिमको ट्रान्समिसन लाइनका लागि समेत अर्थ मन्त्रालयले सहयोग माग गरेको छ।

मंसिर १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्