अमेरिकामा खुल्यो जेनिस सलुसनको कार्यालय

काठमाडौँ– डिजिटल प्रविधि सेवा प्रदान गर्ने कम्पनी, जेनिस सलुसनले संयुक्त राज्य अमेरिकामा आफ्नो पहिलो कार्यालय खोलेको छ।

ब्रिटेनमा मुख्यालय रहेको उक्त कम्पनीको नेपाल, भारत, पाकिस्तान, बांगलादेश, अस्ट्रेलिया र फिनल्यान्डमा कार्यालय छन्।

जेनिस सलुसन अमेजन वेब सर्भिसेज, गुगल तथा माइक्रोसफ्टको आधिकारिक सेवाप्रदायक पनि हो। जेनिसले यसभन्दा पहिले नै अमेरिकास्थित केही ठूला बैंकलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ। अमेरिकास्थित नयाँ कार्यालयबाट जेनिसले सिलिकन भ्याली र फर्चुन ५ सय कम्पनीलगायतमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।

यो विस्तार विश्वभरि आफ्नो व्यवसाय तथा सेवाप्रवाह सञ्जाल पु¥याउने जेनिसको रणनीतिको एक अंग हो।

‘संयुक्त राज्य अमेरिका सूचना, सञ्चार तथा प्रविधि उद्योगमा संसारकै सबैभन्दा ठूलो बजार हो र त्यहाँ हाम्रो औपचारिक उपस्थिति हाम्रा लागि एउटा उपलब्धि र गौरवको कुरा हो। हामीले नेपालमा एउटा बलियो कार्य सञ्चालन आधार तयार गरेर अमेरिकास्थित कम्पनीलाई डिजिटल रुपान्तरण क्षेत्रमा हाम्रा विशिष्ट सेवा उपलब्ध गराउनेछौं। हामी एउटा कम्पनीको रूपमा अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाउनुका साथै विश्व सूचना, सञ्चार तथा प्रविधि उद्योगमा नेपाललाई बजार मापदण्ड कायम गर्न सफल एक स्रोत मुलुकका रूपमा स्थापित गर्न पनि चाहन्छौं’, जेनिस सलुसन लिमिटेडका ग्लोबल मुख्य प्रविधि अधिकृत अञ्जनी फुँयालले भने।

जेनिसले एडब्लुएस, गुगल, माइक्रोसफ्ट, अलिबाबा क्लाउडलगायत विश्वचर्चित क्लाउड सेवाप्रदायक कम्पनीसँगको साझेदारीमा आफ्ना कार्यालयबाट विश्वभरि नै सेवा प्रदान गर्दै जाने लक्ष्य लिएको छ। अमेरिकी बजारमा चाहिँ उच्च गुणस्तरका डेभ अप्स, क्लाउड माइग्रेशन्स, क्लाउड नेटिभ डेभलपमेन्ट्स, एस इ ओ, व्यवस्थित सूचना प्रविधि तथा सुरक्षा सेवा प्रतिस्पर्धी दरमा उपलब्ध गराइनेछ।

यसअघि विश्व बैंकको आइएफसीअन्तर्गत बिजनेस अक्सिजन प्रालिले नेपालकै पहिलो क्लाउड कन्सलटेन्सी कम्पनी, जेनिस सोलुसन प्रालिमा झन्डै साढे पाँच करोड रुपैयाँ बराबरको लगानी गरेको थियो।

बिजनेस अक्सिजन प्रालि विश्व बैंकअन्तर्गत आइएफसीको लगानी रहेको नेपालकै पहिलो निजी इक्विटी फन्ड हो। जेनिस सोलुसनले उक्त लगानी नेपालमा ‘हाइब्रिड क्लाउड’ सुरु गर्न र कम्पनीद्वारा प्रदान गरिने सेवामा उल्लेख्य वृद्धि गर्न चालु पुँजीको रूपमा उपयोग गरिरहेको छ।

मंसिर १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्