दक्षिण अफ्रिकामा भेटिएको ओमेक्रोन भेरियन्ट ‘चिन्ताजनक’ : डब्लुएचओ

दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट यसअघिका भन्दा धेरै गुणा संक्रामक रहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चासो र चिन्ता व्यक्त गरेको छ।

दक्षिण अफ्रिकामा देखिएको पछिल्लो भेरियन्टलाई ओमेक्रोन नामाकरण गरिएको जानकारी दिँदै डब्लुएचओले यो भेरियन्ट चिन्ताजनक रहेको उल्लेख गरेको हो।

ओमेक्रोन भेरियन्ट भाइरसका विभिन्न भेरियन्टबीचको म्युटेशन (उत्परिवर्तन) बाट बनेको र प्रारम्भिक प्रमाणहरुले यसबाट संक्रमणको जोखिम उच्च हुने देखाएको डब्लुएचओले जनाएको छ।

नोभेम्बर २४ मा पहिलोपटक दक्षिण अफ्रिकामा पुष्टि भएको यो भेरियन्टको संक्रमण बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा पनि देखिएको छ।

कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएसँगै अमेरिकासहितका विभिन्न देशले दक्षिण अफ्रिकाबाट हुने वा त्यहाँ गरिने यात्रामा प्रतिबन्ध लगाएका छन्।

अमेरिकाले दक्षिण अफ्रिकासहित बोत्स्वाना, जिम्बावे, नामिबिया, लिसोथो, एस्वातिनी, मोजाम्बिक र मालावीबाट हुने उडानमा प्रतिबन्ध लगाएको छ। सोमबारदेखि यो नियम लागू हुनेछ।

यस्तै बेलायतले पनि दक्षिण अफ्रिका, नामिबिया, जिम्बावे, बोत्स्वाना, लिसोथो र एस्वातिनीबाट हुने यात्रामा प्रतिबन्ध लगाएको छ। यसैगरी युरोपियन युनियनले पनि दक्षिण अफ्रिकासहितका देशबाट हुने उडानमा प्रतिबन्ध लागू गरेको छ।

मंसिर ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्