सडक निर्माणमा ढिलासस्ती भएको भन्दै विराटनगर–४ र ५ मा नेतालाई प्रवेश निषेध

विराटनगर – सडक निर्माणमा ढिलासुस्ती भएपछि आन्दोलित भएका विराटनगर महानगरपालिका बासिन्दाले नेतालाई निषेध गरेका छन् ।

महानगरपालिकाको कोशी लोकमार्गदेखि पश्चिमतर्फको सडक निर्माणमा ढिलाई भएपछि स्थानीयले सो क्षेत्रमा नेता निषेधित गरेका हुन् ।

शनिबार महानगरपालिकाको वडा नम्बर ४ र ५ जामुनगाछीका स्थानीयले विरोध कार्यक्रम आयोजना गर्दै सडक निर्माणमा राजनीतिक दलका नेताहरुको दुरगामी दृष्टिकोण नहुँदा आन्दोलित हुनुपरेको बताएकाछन्। सडक निर्माणमा भएको ढिलासुस्ती अन्त्य नभए संघर्ष चर्काएर नेताहरुलाई कानुन अनुसार कारबाहीका लागि दबाब दिने उनीहरुको भनाई छ।

स्थानीय उत्तम दाहालले आफूहरु माग पूरा नभएसम्म नरोकिने बताएका छन् । राजनीतिक दलले चासो नदिँदा स्थानीय बासिन्दा लामो समयदेखि पीडित हुनपरेको बताउँदै दाहालले महानगरका बासिन्दालाई विकट र दुर्गममा बसोबास गरिरहेको महसुस भएको बताए।
उनले भने, ‘हामीले कुनै एकदललाई निषेध लगाएका होइनौँ। अहिलेको अवस्था हेर्दा सबै दलका नेताको स्वार्थको शिकार हामी भयौँ। त्यसैले हाम्रो माग पूरा गर्नेतर्फ नलागेमा नेतालाई हाम्रो ठाउँमा छिर्नै दिनेछैनौँ।’

विराटनगर–४ र ५ को गणेश चोकबाट पश्चिम केशलिया खोलासम्मको करिब ३ किलोमिटर सडक मर्मतको पर्खाइमा रहेको छ। आन्दोलनका क्रममा स्थानीयले लोकमार्ग पश्चिमको क्षेत्र महानगरपालिका –५ का वडाध्यक्ष मीनकुमार आचार्य, ४ का वडाध्यक्ष देवेन्द्र पोखरेल लगायतको बेवास्ताको शिकार बनेको गुनासो गरेका छन्। मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा पर्ने सो क्षेत्रबाट एमाले नेता लालबाबु पण्डित प्रतिनिधिसभा सदस्य छन्। प्रदेशसभामा सो क्षेत्र नेपाली कांग्रेसका नेता तथा प्रदेश १ का आन्तरिक मामिला मन्त्री केदार कार्कीको हो । सोही क्षेत्रमा एमालेका महानगर कमिटि अध्यक्ष सागर थापा समेत रहेका छन्।

सडक निर्माण नभएपछि उनीहरुले यसअघि २३ बुँदे माग राखेर आन्दोलनमा होमिएका हुन।सडक निर्माण हुननसकेको बताउँर्द उनीहरुले विभिन्न १९ वटा सरकारी निकाय समक्ष २३ बुँदे माग पेश गरिसकेकाछन्।

मंसिर ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्