प्रदीप ज्ञवाली उपमहासचिव निश्चित, नेम्बाङ फकाउँदै ओली

प्रदीप ज्ञवाली। फाइल तस्बिर

चितवन (सौराह) – सर्वसम्मत नेतृत्व चयनको रस्साकस्सीमा लागेका एमाले नेताहरुले तीन उपमहासचिवमध्ये एकमा प्रदीप ज्ञवालीलाई निश्चित गरेका छन्। वरिष्ठ उपाध्यक्ष र महासचिवमा सहमति गर्न नसकेका नेताहरुले अरु पदमा पनि नेताहरुको नाम निश्चित गर्ने प्रयास जारी राखेका छन्।

बन्दसत्र हलबाहिर एमाले नेता तथा कार्यकर्ताहरुले सर्वसम्मत नेतृत्व चयन गर्न दबाबस्वरुप नाराबाजी गरिरहेका छन्। तैपनि केन्द्रीय समितिको पदाधिकारी र सदस्यमा आउन चाहने आकांक्षी नेताहरुको संख्या धेरै भएपछि एमाले नेतृत्वलाई व्यवस्थापन गर्न सकस भइरहेको छ।

यही सकसबीच तीन उपमहासचिवमध्ये एकमा नेता प्रदीप ज्ञवालीको नाम टुंग्याइएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन उपमहासचिवमध्ये एकमा प्रदीप ज्ञवालीको नाम प्रस्ताव गरेका हुन्। जुन प्रस्तावमा अधिकांश नेताहरुले सहमति जनाएका थिए।

तर अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा महासचिवमा भने अझै सहमति जुट्न सकेको छैन। अध्यक्षमा केपी शर्मा ओलीविरुद्ध भीम रावलले उम्मेदवारी दिने यसअघि नै घोषणा गरिसकेका हुन्। उनले आफू एक मतमात्रै आए पनि पछि नहट्ने अडान लिँदै आएका छन्। उनले केपी ओलीले प्यानल बनाएर उम्मेदवारी दिए आफूले पनि प्यानल बनाउनेसमेत बताइसकेका छन् त्यसैले अध्यक्ष ओली र उनको कोर टीमलाई नेतृत्व चुन्न अहिले सकसपूर्ण भएको छ। ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखेरललाई च्यापे उपाध्यक्ष रावलले पनि सोहीअनुसार नेताहरुलाई च्यापेर अघि बढ्ने स्थिति रहेको छ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङले दाबी छोडेका छन्। यी दुईमध्ये सुवास नेम्बाङलाई पछि हट्न अध्यक्ष ओलीले फकाइरहेका छन्। उनलाई भावी राष्ट्रपति बनाउने आश्वासन दिइएको छ। तर नेम्बाङले यसमा विश्वास गरिहालेका छैनन्।

यसैगरी महासचिवबाट शंकर पोखरेल र विष्णु पौडेलले पछि हट्न मानिरहेका छैनन्।

मुख्य पदाधिकारीहरुमा सर्वसम्मत नभए निर्वाचन हुने निश्चित छ। निर्वाचनमा जाँदा नेता तथा कार्यकर्ताहरु विभाजित भई गुटउपगुट बन्ने भन्दै बन्दसत्रबाहिर नेता तथा कार्यकर्ताहरुले सर्वसम्मत नेतृत्व चुन्न दबाब दिइरहेका छन्। सर्वसम्मत नभए वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको एउटा प्यानल बन्नेछ भने अर्कोतर्फ सुवास नेम्बाङ र विष्णु पौडेलले वरिष्ठ अध्यक्ष र महासचिवमा सामूहिक उम्मेदवारी दिने तयारी गरिएको बुझिएको छ।

मंसिर ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्