सरला गौतमको निबन्ध संग्रह ‘पिँजडाको मान्छे’ सार्वजनिक

काठमाडौँ – पब्लिकेसन्स नेपालयले सरला गौतमको निबन्धहरूको संकलन ‘पिँजडाको मान्छे’ सार्वजनिक गरेको छ ।

यो पुस्तक यसवर्ष नेपालयले प्रकाशित गरेको दोस्रो प्राइमरी ई–बुक हो । नेपालयले यसअघि सुजीव शाक्यको ‘अर्थात् परिवर्तन’ लाई प्राइमरी ई–बुकको रुपमा प्रकाशित गरेको थियो ।

‘पिँजडाको मान्छे’ मा संकलित निबन्धहरूले आधुनिक मनुष्यको एकाकिपना, प्रविधि, पितृसत्ता र पर्यावरणका मुद्दाहरूमा गहन दृष्टि राखेका छन् ।

पुस्तकबारे लेखक गौतम भन्छिन्, ‘महामारीले संसारलाई दुईवटा फरक धारमा विभाजन गरिदियो–कोविडभन्दा पहिलो र कोविडभन्दा पछिल्लो धार । महामारी पछिको संसार आफ्नै समस्याको भारी बोकेर आएको छ, साथै यसले नसुल्झेका पुराना मुद्दाहरूलाई अझै चर्काएको पनि छ । यो अन्तरालमा पितृसत्ता, पर्यावरण, कृषि, समानताका मुद्धाहरुलाई नियाल्ने नयाँ आयाम खुलेका छन् । विराटतम स्वतन्त्रताको खोजिमा शहर पसेको मान्छे कस्ता अदृश्य पिँजडाहरुको जञ्जालमा फस्दैगएको छ, त्यही प्रकृयाहरुको चिन्तनको उपज हो यो पुस्तक ।’

समाचारपत्रमा पूर्व–प्रकाशित उनको निजत्व झल्कने केही लामा लेखहरूले पनि पुस्तकमा स्थान पाएका छन् ।

‘हामी गद्यका उल्लेखनीय कृतिहरूलाई सहज बनाउनका निम्ति थप पहुँचयोग्य डिजिटल फम्र्याटमा काम गरिरहेका छौँ’, पब्लिकेसन्स नेपालयकी प्रमुख कार्यकारी अधिकृत सैजन मास्केले भनिन्, ‘पिँजडाको मान्छे यो शृङ्खलाको पहिलो कृति हो । आगामी दिनहरूमा हामी ई–बुक खण्डका निम्ति गद्य कृतिहरूको दायरालाई अझै फराकिलो पार्नेछौँ । ई–बुकले सुस्त गतिमै भए पनि नेपाली पाठकहरू बीच आफ्नो स्थान बनाउदै छ ।’

‘पिँजडाको मान्छे’ नेपाली बजारका निम्ति थुप्रै डट कमले १०० रुपैयाँमा उपलब्ध गराउने छ।

मंसिर ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्