दुई लाख डलरसहित पोखराबाट एक जना पक्राउ

सांकेतिक तस्बिर

पोखरा – कास्की प्रहरीले ठूलो मात्रामा अमेरिकी डलरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। काठमाडौँबाट पोखराका लागि आउँदै गरेको माइक्रो बसबाट प्रहरीले एक लाख ९४ हजार दुई सय अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मुस्ताङको लो घेकर दामोदर कुण्ड घर भइ पोखराको शिवालय चोकका छिरिङ डुन्डुक गुरुङ छन् । प्रहरीले बरामद गरेको रकम दुई करोड ३२ लाख ६ हजार नेपाली रुपैयाँ हुन्छ। कास्की प्रहरीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले उनीबारे थप अनुसन्धान भइरहेको बताएका छन्।

‘विगतको गतिविधि हेर्दा काठमाडौँबाट ठूलो मात्रामा डलर लिएर गाडीमार्फत पोखरा आउने र प्लेन चढेर काठमाडौँ जाने गरेको खुलेको छ। अरु अनुसन्धान भैरहेको छ’, उनले भने।

डलर बोकेर आएको भन्ने गोप्य सूचनाको आधारमा गुरुङलाई वडा प्रहरी कार्यालय गगनगौंडाले पक्राउ गरेको हो। उक्त रकम केका लागि ल्याइएको र कहाँ लगानी हुँदै थियो भन्ने प्रहरीले खुलाएको छैन। -न्युज कारखाना

मंसिर ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्