नेता बर्षमान पुनको स्वास्थ्यरक्षाका लागि काठमाडौँमा महामृत्युञ्जय पाठ, उनलाई थाइल्यान्डबाट थप उपचार गर्न चीन लगियो

काठमाडौँ- गम्भीर खालको ‘लिभर सिरोसिस’का कारण अस्वस्थ भएका माओवादी नेता बर्षमान पुनको दुई महिनासम्म बैँककको समितिभेज अस्पतालमा उपचार गर्दा पनि स्वास्थ्यमा सुधार आउन नसकेपछि उनलाई थप उपचारका लागि चीनस्थित एक अस्पताल लगिएको छ। यता काठमाडौँमा नेता पुनको स्वास्थ्य रक्षाका लागि विज्ञहरुको विशेष टोलीद्वारा महामृत्युञ्जको  जप पनि गरिएको छ।

पुनको पारिवारिक स्रोतका अनुसार पुनको स्वास्थ्य रक्षाका लागि ईश्वरसँग प्रार्थना गर्न महामृत्युञ्जयको पाठ गरिएको हो। महामृत्युञ्जयको पाठले अकाल मृत्युबाट जोगाउने सांस्कृतिक मान्यता छ। यो भगवान् शिवको आराधना हो।

नेता पुनलाई अहिले चीनको सेन्जेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेनमा राखिएको छ। उनका साथमा पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला छन्। उनीहरु शुक्रबार सेन्जेन पुगेका हुन्।

नेता पुन गत असोज १३ गते उपचारका लागि बैँकको समितिभेज अस्पताल पुगेका थिए।

यसअघि पनि लिभरसम्बन्धी जटीलताकै कारण पुनको बैँकककै समितिभेज अस्पतालमा उपचार गरिएको थियो। उपचारपछि सामान्य जीवनमा फर्केका पुन फेरि अस्वस्थ भएपछि नेपालका सुमेरु र ग्रान्डीलगायतका अस्पतालमा उपचार गराउँदा पनि स्वास्थ्यलाभ नहुँदा थप उपचारका लागि बैँकको समितिभेज अस्पताल पुगेका हुन्।

मंसिर ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्