नयाँ भेरियन्ट ओमिक्रोनलाई ‘ट्याकल’ गर्न के गरिरहेका छन् खोप उत्पादकहरु?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गम्भीर चिन्ताको कारक बताएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नियन्त्रणमा लिने प्रयासमा खोप उत्पादक कम्पनीहरु लागेका छन्।

खोप उत्पादक कम्पनीहरुले ओमिक्रोन भेरियन्टविरुद्ध खोपको प्रभावकारिता थाहा पाउनका लागि बुस्टर डोजको उच्च मात्रा दिएर परीक्षणको तयारी तीव्र पारेको अमेरिकी सञ्चार संस्था एनपिआरले जनाएको छ।

प्रारम्भिक तथ्यहरुले धेरै भेरियन्टहरुको म्युटेशन (उत्परिवर्तन) बाट विकास भएको ओमिक्रोन निकै संक्रामक रहेको र पहिले संक्रमण भएकाहरुमा पनि पुनः संक्रमणको जोखिम बढी रहेको देखिएको छ ।

खोप उपत्पादकहरु ओमिक्रोनविरुद्ध खोपलाई प्रभावकारी बनाउन के गर्नु पर्छ भन्नेबारे परीक्षणमा सामेल भएका हुन् । उनीहरुले ओमिक्रोनलाई रोक्न सक्ने खालको विशेष खालको बुस्टर खोप विकासमा लागि परेको एनपिआरले जनाएको छ ।

मोर्देनाले वक्तव्य जारी गरेर आफूहरुले यो वर्षको सुरु देखि नै कोरोना भाइरसका सम्भावित नयाँ भेरियन्टहरुविरुद्ध काम गर्ने खोप उत्पादनका लागि प्रयास गरिरहेको जनाएको छ । तत्कालका लागि हाल बुस्टर सटमा प्रयोग हुँदै आएको ५० माइक्रोग्राम औषधिको सट्टा दोब्बर पार्ने रणनीति छ । यस्तै ओमिक्रोनमा जस्तै म्युटेन्ट भेरियन्ट भेरियन्टका लागि नै लक्षित गरेर दुईवटा बुस्टर खोपमाथि अध्ययन भइरहेको मोदेर्नाको भनाइ छ ।

यस्तै फाइजर एण्ड बायोएनटेकले समाचार संस्था रोयटर्सलाई बताए अनुसार अबको दुई हप्ता भित्र ओमिक्रोन सम्बन्धी पर्याप्त जानकारी प्राप्त गर्ने र त्यसलाई ‘ट्याकल’ गर्ने खोप विकासका लागि प्रयास थालिएको छ । जानकारी आएपछि मात्रै अहिलेको खोपलाई परिमार्जन गर्नुपर्ने या नपर्ने थाहा हुने फाइजरले रोयटर्सलाई बताएको छ । ओमिक्रोनका लागि छुट्टै खोप बनाउनु परेमा १०० दिन भित्र तयार हुने फाइजरले जनाएको छ ।

यसैगरी जोन्सन एण्ड जोन्सनले नयाँ भेरियन्टविरुद्ध आफ्नो खोपको प्रभावकारिता परीक्षण थालिएको बताएको छ ।

ओमिक्रोन पहिलोपटक नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा पहिचान भएको थियो । अधिक म्यूटेशनका कारण यो भेरियन्टले पुनः संक्रमणको जोखिम बढेको भन्दै डब्लुएचओले चिन्ता व्यक्त गरेको छ ।

मास्क लगाउने, भौतिक दूरी कायम गर्नेसहितका सावधानीहरु कडा रुपमा पालना गर्न डब्लुएचओले आग्रह गरेको छ ।

मंसिर १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्